२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कृषिकर्ममा पूर्वसभासद

'थोरै पढ्यो हलो छाड्यो, धेरै पढ्यो थलो छाड्यो भन्ने उखानलाई गलत सावित गर्नका लागि म कृषि पेसामा लागेको हुँ’
तुलाराम पाण्डे

भात्तडी, कालिकोट — उनी बिहानै बारीमा पुग्छन् । तरकारी गोडमेल गर्छन्, झार उखेल्छन् । मलखाद र पानी पुगे–नपुगेको रेखदेख गर्छन् । त्यतिन्जेलसम्म समूहका अन्य सदस्य पनि आइपुग्छन् ।

कृषिकर्ममा पूर्वसभासद

कामसँगै अर्गानिक खेती प्रणालीको महत्त्व र रासायनिक मल तथा विषादीको प्रयोगले माटो र मानव स्वास्थ्यमा पार्ने असरबारे सम्झाइबुझाइ गर्छन् ।


पूर्वसभासद नवराज कोइरालाको दैनिकी अहिले यसैगरी बितिरहेको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय नेतासमेत रहेका कोइरालाको पहिचान जिल्लामा नमुना किसानका रूपमा स्थापित भएको छ । ‘थोरै पढ्यो हलो छाड्यो, धेरै पढ्यो थलो छाड्यो भन्ने उखानलाई गलत सावित गर्नका लागि म कृषि पेसामा लागेको छु,’ उनी भन्छन्, ‘कृषिले हामीलाई आर्थिक रूपमा समेत समृद्ध बनाउँछ, यसमा सन्तुष्टि पनि छ ।’


२०५७ सालमा सरकारले कर्णाली कृषि विकास कार्यक्रममार्फत हेलिकप्टरमा लगेर स्याउका बिरुवा वितरण गरेको थियो । उनी सोही हेलिकप्टरमा गाउँमा बिरुवा वितरण गर्न पुगेका थिए । उतिबेलै कृषिकर्म गर्नुपर्छ भन्ने भावना पैदा भएर अहिले व्यावसायिक कृषि सुरु गरेको उनले बताए । किसान बन्ने सपना पूरा गर्न उनले २०७४ फागुन २६ गते स्थानीय ३७ जनालाई संगठित गरेर २१ लाख पुँजीमा सहकारी स्थापना गरे ।


सोही सहकारीमार्फत अर्गानिक कृषि उत्पादन सुरु गरेका छन् । गाउँलेको बाँझो जमिन १० वर्षका लागि ७ लाखमा भाडामा लिएर अर्गानिक कृषि उपज उत्पादन सुरु गरेका छन् । उनी नेतृत्वको अर्गानिक कृषिवस्तु उत्पादन बहुउद्देश्यीय सहकारी संस्थाले मार्सी धानका साथै व्यावसायिक तरकारी तथा जडीबुटी र बाख्रापालन व्यवसायमा सहयोग गरेको छ ।


हाल उनले ५ हेक्टरमा मार्सी धान रोपेका छन् भने ५ हेक्टरमा भेंडे खुर्सानी, काँक्रा, गोलभेंडा, फर्सी, बन्दालगायत तरकारी रोपेका छन् । जमिनको छेउतिरको पाखोमा अलैंची छ । केही जमिनमा प्याज रोप्नका लागि ब्याड तयारी छ । उनले स्वस्थ बिरुवा उत्पादनका लागि फलफूल तथा वनस्पतिका बिरुवाको नर्सरी पनि बनाएका छन् । कोइराला संबिधान सभा सदस्य भएका थिए ।


यस वर्ष मात्र १५ हजार देवदारका र ९ हजार स्याउ, ओखर तथा आरुका बिरुवा उत्पादन गरिएको कोइरालाले बताए । उनीसहित सहकारीमा आबद्ध अन्य किसानको जमिनमा सिँचाइ गर्न कुलो निर्माणका लागि नेपाल सरकारको आशा परियोजनाले २१ लाख रुपैयाँ सहयोग गरेको छ । कुलो निर्माणमा स्थानीयले ५ लाखको श्रमदान गरेका छन् ।


सहकारीले दैलेखबाट खरी जातका बाख्रा र अस्ट्रेलियन बोयर बोका ल्याएर बाख्रापालन गर्ने योजना बनाएको छ । कोइरालाको अगुवाइमा भइरहेको कृषिकार्य हेर्न गाउँमै पुगेका जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले पूर्वसभासद कोइरालाको कामबाट स्थानीय युवा र किसानलाई प्रेरणा मिलेको बताए ।

प्रकाशित : श्रावण १२, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?