कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शीर्ष पर्यटन गन्तव्यमा माछापोखरी

पर्वत पोर्तेल

झापा — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष घोषणा गरेको देशभरका ‘९२ स्थापित पर्यटकीय गन्तव्य’ हरूको सूचीमा यहाँस्थित एउटा माछा पोखरीसमेत परेको छ ।

शीर्ष पर्यटन गन्तव्यमा माछापोखरी

सरकारले पर्यटकीय क्षेत्र विस्तारका लागि थप गन्तव्यका रूपमा राखेर प्रवर्द्धन योजना बनाउने क्रममा कमल गाउँपालिका १ बाँसबारीको एउटा माछा पोखरी सूचीमा समेटिएको हो । यो प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्छ ।

गाउँपालिकाको स्वामित्वको रहेको यो माछा पोखरी १० वर्षदेखि ठेक्का लगाइन्थ्यो । ठेक्का सम्झौता तोडेर पोखरीलाई पर्यटकीय गन्तव्य बनाउन लागिएको हो । ‘यो पोखरी २०–३० वर्षअघि नै खनिएको हो,’ स्थानीय तारा रिजालले भने, ‘लामो समयदेखि माछा पालिएका थिए । अहिले पर्यटकीय स्थल बनाउने कुरा सुनिएको छ ।’


यो क्षेत्रको पूर्वाधारलगायत विकासका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । मन्त्रालयले कमल गाउँपालिका ३ को वाल्मीकि आश्रम नामको धार्मिक कुटीलाई समेत सय गन्तव्यमा पार्दै ५० लाख बजेट पठाएको छ । ‘वाल्मीकि आश्रम पर्यटकीय गन्तव्य र सिमसार क्षेत्र हो,’ कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले भनिन्, ‘यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनु भनेर माथिबाट बजेट आएको हो ।’


प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र र उनी निकटका व्यक्तिहरूको दबाबका कारण एउटै गाउँपालिकाका दुईवटा क्षेत्रलाई ९२ गन्तव्यमा राखिएको स्रोतको भनाइ छ । यस क्षेत्रका वडाध्यक्ष केदार कटुवालले चालु आर्थिक वर्ष ०७६/७७ का लागि बाँसबारी सिमसार पर्यटन प्रवर्द्धन पूर्वाधार केन्द्रका नाममा ५० लाख वजेट आइसकेको जानकारी दिए ।


‘अघिल्लो आर्थिक वर्षमै पोखरीका लागि ५० लाख छुट्टिएको थियो,’ वडाध्यक्ष कटुवालले भने, ‘विवादका कारण रकम नआउँदा काम अघि बढाउन सकिएन ।’ अघिल्लो आर्थिक वर्षमा पर्यटन मन्त्रालयले बाँसबारी सिमसार पर्यटन पूर्वाधार केन्द्र झापा भनेर सय गन्तव्यमा राखेको थियो ।


झापाको कुन ठाउँ भन्ने अन्योलका कारण मेचीनगरको बाँसबारी सिमसार क्षेत्र र कमल गाउँपालिकाले उक्त बजेट आफ्नो क्षेत्रका लागि आएको दाबी गरेका थिए । यो विवाद कायमै भइरहेका बेला कमल गाउँपालिका–१ का वडाध्यक्ष कटुवाल केही दिनअघि मन्त्रालय पुगेका थिए ।


कटुवालका अनुसार माछा पोखरीलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले हालसालै १७ लाख खर्चिएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । ३ बिघा ५ कट्ठामा फैलिएको पोखरीमा होमस्टे निर्माण, भ्युटावर, पिकनिक स्पट निर्माणका साथै बोटिङ, साइन्स सिटीसमेत स्थापना गरिने जनाइएको छ ।


गत वर्ष बाँसबारी सिमसार पर्यटन पूर्वाधार केन्द्रसहित झापाका चार क्षेत्रलाई नयाँ पर्यटकीय सय गन्तव्यमा राख्दै मन्त्रालयले ५०/५० लाखका दरले बजेट विनियोजन गरेको थियो । ‘बाँसबारी सिमसार पर्यटन पूर्वाधार केन्द्रको यकिन ठेगाना नतोकिँदा विवाद भएपछि बजेट आउन सकेन,’ वडाध्यक्ष कटुवालले भने । यसपटक ९२ स्थापित गन्तव्यमा झापाका दुई योजना परेका छन् ।


कमल गाउँपालिकाकी अध्यक्ष काफ्लेले अघिल्लोपटक विनियोजित बजेट पनि कमल गाउँपालिका–१ को माछा पोखरीका लागि नै आएको दाबी गरिन् । उनले थपिन्, ‘हामीले केन्द्रमा प्रस्ताव पेस गरेका थियौं, त्यही आधारमा बजेट छुट्टिएको थियो ।’


मेचीनगरको बाँसबारी सिमसार क्षेत्रले उक्त बजेट आफ्ना लागि आएको भनेपछि विवाद भएर रोकिएको उनले बताइन् । ‘बजेट तानातानले दुवै सस्थाले अघिल्लो वर्ष बजेट पाएनौं,’ अध्यक्ष पाठकले भनिन्, ‘यस वर्ष भने कमल माछा पोखरीका लागि ठेगाना तोकेरै बजेट आई नै सक्यो, काम पनि सुरु गरिसक्यौं ।’


पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्य पहिचान गर्न पर्यटन मन्त्रालयले प्रस्ताव आहवान गरेको र सोही आधारमा प्राप्त आवेदन र अन्य विभिन्न जानकारीका आधारमा गन्तव्य तोकिएको पर्यटन मन्त्रालयका सहप्रवक्ता प्रकाश शर्मा ढकालले जनाए । मन्त्रालयको योजना शाखाका प्रमुख दुर्गा भुर्तेलले अघिल्लो वर्षका योजनालाई निरन्तरता दिँदै यो वर्ष थप ९२ स्थापित गन्तव्यको पहिचान गरी बजेट विनियोजन गरिएको बताए ।

प्रकाशित : श्रावण १२, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?