गोलभेंडा किन्न घरमा व्यापारी

पाँचथर — गत वर्ष मूल्य नपाएपछि पाँचथर नागीका किसान पोष्टनाथ नेपालले यो वर्ष गोलभेंडा खेती गर्न चासो दिएनन । बारीमा गन्ध फैलिने गरी कुहिएको र मेची राजमार्गमा फाल्नुपरेको सम्झँदै उनले एक रोपनीमा मात्रै खेती गरे ।

गोलभेंडा किन्न घरमा व्यापारी

त्यो पनि सामान्य ढंगले । याङवरक गाउँपालिका ६ का उनले स्काइभेटर मेसिन लगाएर गह्रालाई ठूलो बनाए र गोलभेंडा रोप्ने खेतमा मकै बाली लगाए । यो खेतमा सिमी, काँक्रालगायतका अरू नै बाली लगाउने मन गरे ।


हिलिहाङ गाउँपालिका अमरपुरका मेदनी भण्डारीले पनि विगतमा जस्तो गोलभेंडा खेतीमा हत्ते गरेनन् । गत वर्षजस्तै होला भन्ने लागेर सामान्य आफूले खाने र आफन्त साथीभाइसम्म आए सब्जीमा ‘मिसाऊँ, अचार खाऔं हैं’ भन्ने गरीको थोरै मात्रै लगाए ।


स्थानीयका अनुसार पाँचथरको गोलभेंडा खेतीको राजधानी मानिएको अमरपुर, थर्पु, भारपालगायतको क्षेत्रका २५ प्रतिशत किसानले मात्रै खेती लगाए । तर, यो वर्ष मूल्य भने पछुताउने गरीको आयो । ‘गत वर्ष कसैले किनिदिन्छ कि भनेर चोकचोक भौंतारिनुपर्‍यो, तै सरकारले सुन्छ कि भनेर सडकमा लगेर फाल्नुपर्‍यो,’ नेपालले भने, ‘यो वर्ष किन नलगाउनुभएको भन्दै घरघरमा व्यापारी आउँछन्, साह्रै पछुतो भयो ।’


आफू पनि उत्पादन गर्ने र गाउँटोलको संकलन गरेर बिर्तामोडसम्म पनि पुर्‍याउने अमरपुरका भानु ढकाल किसानले अहिले प्रतिकिलो ५५ रुपैयाँसम्म पाएको बताउँछन् । झापा विर्तामोडमा पुर्‍याएर थोकमा बिक्री गर्दा ७० रुपैयाँसम्म पाएको उनले बताए । ‘यहाँका किसानले ३५ देखि ५५ रुपैयाँसम्म पाएका छन्,’ ढकालले थपे, ‘हामीले ६० देखि ७० रुपैयाँसम्ममा थोकलाई बिक्री गरेका छौं ।’ झरी परेर डुबान हुँदा र पहाडको बाटो रोकिँदा बिर्तामोडमा खुद्रा मूल्य १ सय २० रुपैयाँसम्ममा बिक्री भएको सुनेको मेदनी भण्डारीले बताए ।


यो वर्षको मूल्य पनि पहिलाको जस्तो धेरैचाहिँ होइन । आफूले बोटैमा ५५ रुपैयाँ किलोसम्म बिक्री गरेको नागीकी इन्दिरा नेपाल भट्टराई बताउँछिन् । तीन वर्षअघि यसरी राम्रो मूल्य आएको थियो । यो वर्ष यस्तो मूल्य आउँछ भन्ने पत्तो हुँदैन । ‘आकाशे फलजस्तो गरेर खेती गर्नुपर्छ,’ उनले भनिन्, ‘कहिले हौस्याउँछ, कहिले रुवाबासी बनाउँछ ।’


गत वर्ष तीन रुपैयाँ किलोमा पनि नबिकेपछि किसानले फालेका थिए । अधिकतम मूल्य लिनेले प्रतिक्यारेट (२३ किलोको एक क्यारेट) ५० रुपैयाँसम्ममा बिक्री गरेका थिए । बिषादी परीक्षणलगायतका नाममा भारतले रोक लगाएपछि बजार खस्किएको थियो ।


राम्रो खेती गर्ने किसानले एउटा बोटबाट १३ किलोसम्म गोलभेंडा उत्पादन गर्न सक्छन् । एक रोपनी जमिनमा २५ क्विन्टलसम्म उत्पादन हुन्छ ।


पटक–पटक गरेर पाक्ने भएकाले बजारमा यसरी नै जान्छ । तर, पाकेपछि लामो समयसम्म राख्न नसकिने भएकाले तत्काल बिक्री नभए किसानले समस्या बेहोरिहाल्नुपर्ने कृष्णबहादुर पराङदेन बताउँछन् । भारतले परीक्षणका क्रममा लामो समय लगाइदिए मात्रै पनि किसानलाई समस्या हुन्छ ।


बिक्रीमा समस्या हुने भएपछि पछिल्ला वर्ष किसानले बिषादीको प्रयोग अत्यन्तै कम गरेको बताउँछन् । पाँचथरमा सिजनमा दैनिक ४० ट्रिफरसम्म उत्पादन हुने गरेको व्यापारी भानु ढकाल बताउँछन् । कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार दुई वर्षअघि यी दुई गाउँपालिकाले मात्रै गोलभेंडाबाट तीन करोड २८ लाख रुपैयाँ भित्र्याएका थिए ।

प्रकाशित : श्रावण १४, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?