कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयात कोलकाताबाट विशाखापटनम सर्दै

शंकर आचार्य

पर्सा — भारतको कोलकाता बन्दरगाहमा रहेको अव्यवस्था र त्यहाँस्थित सिपिङ लाइन कम्पनीको बदमासीका कारण आयात विशाखापटनमतर्फ सरेको छ । 

वीरगन्जका उद्योगी–व्यवसायीले कोलकाताको यिनै समस्याको कारण पछिल्लो ६ महिनामा नेपाली आयातकर्ताहरू विशाखापटनमतर्फ सरेको जानकारी कोलकाता पोर्ट ट्रस्टका अधिकारीलाई दिएका छन् । यी समस्या अविलम्ब समाधान नगरे कोलकाता बन्दरगाहसँगको नेपालको पुरानो सम्बन्ध र कारोबार समाप्त हुन सक्ने सम्भावना पनि उनीहरूले औंल्याएका छन् ।


हिमालयन टर्मिनल्सको तथ्यांकअनुसार सन् २०१७ मा कोलकाता बन्दरगाहबाट नेपालमा ८२ हजार २ सय ८ कन्टेनर आएका थिए भने विशाखापटनम बन्दरगाहबाट ४ हजार ७ सय ४६ कन्टेनर आएका थिए । २०१८ मा कोलकाताबाट ७९ हजार ७ सय ७७ र विशाखापटनमबाट १७ हजार ५६ कन्टेनर नेपाल आएका थिए ।


वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कोलकाता पोर्ट ट्रस्टका पदाधिकारीसँगको छलफलमा सहभागी उद्योगी–व्यवसायीले कोलकाता बन्दरगाहलाई कारोबारी मैत्री बनाउन माग गरे ।


वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताले नेपालबाट वर्षौंदेखि कोलकाता बन्दरगाहसँग हुँदै आएको व्यापार विस्तारै विशाखापटनम स्थानान्तरण हुनुमा कोलकातामा लामो समयदेखि रहँदै आएका समस्या तथा अव्यवस्था नै मुख्य कारक रहेको बताए । ‘विगतको स्थिति र हालको स्थितिमा निक्कै परिवर्तन आइसकेको छ,’ उनले भने, ‘कोलकाताबाट हुने नेपालको व्यापार विशाखापटनम सरिसकेको छ, कोलकाता समयमै नसुध्रिए आउने समय उसका लागि थप चुनौतीपूर्ण हुन सक्छ ।’


उनले विगतमा बन्दरगाहको व्यवस्थापनको समस्या रहेको र त्यसपछि इसिटिएस प्रणाली लागू भएपछि केही राहत हुने अनुमानविपरीत ढुवानी लागत बढेर झनै बढी आर्थिक भार पर्न गएपछि आफूहरूलाई कोलकाता बन्दरगाहको तुलनामा विशाखापटनम उपयुक्त लाग्न गएको बताए । उनले सिपिङ लाइन कम्पनीहरूले गरेको भाडा वृद्धिको मापदण्ड के हो त्यसबारे सरोकारवालासँग बहस र विश्लेषण गर्न आवश्यक रहेको बताए ।


वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीपकुमार केडियाले नेपालले सात दशकदेखि कोलकाता बन्दरगाह उपयोग गर्दै आएकोमा २ वर्षयता कोलकाताभन्दा दोब्बरी दूरीमा रहेको विशाखापटनम बन्दरगाह रुचाउनुको कारण त्यहाँ दिइने सेवा नै भएकाले कोलकाताले पनि त्यस्तै सेवा दिन सके कोलकाता नै आफूहरूलाई उपयोगी हुने बताए ।


उनले कोलकातामा जहिले पनि नयाँ सेवासुविधा थपिँदा अनावश्यक रूपमा शुल्क पनि थपिने प्रवृत्ति रहेको गुनासो गरे । कार्गो ट्र्याकिङ प्रणाली लागू हुँदा पनि यस्तै समस्या पुनरावृत्ति भएको उनको आरोप थियो । नेपालको निर्यात कार्गोको लागत पनि अत्यधिक भएकाले नेपाली निर्याकर्ताले प्रतिस्पर्धा गर्न गाह्रो भएको बताउँदै उनले यसले गर्दा नेपालको निर्यात व्यापार गिर्दै गएको बताए ।


विगतमा आफूहरूले कोलकाताका भन्सार एजेन्टसँग र हाल सिपिङ लाइन कम्पनीसँग झगडा गर्नु परेको उनले गुनासो गरे । ती कम्पनीहरूले आफूले शुल्क पनि पोर्ट ट्रस्टले लिने शुल्क भनी जवाफ दिने गरेको उनले बताए ।


सिर्सिया सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सका सीईओ विष्णुकान्त चौधरीले आफूहरू जुनसुकै बन्दरगाहबाट सेवा दिन तयार रहेको बताए । तर उनले नेपाली आयातकर्ताले भारतमा पाउने सेवासुविधा लिन आफैं बढी चनाखो हुनुपर्ने सुझाए ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अशोककुमार टेमानीले कोलकातामा रहेका समस्या समाधान हुँदै गए नेपाली आयातकर्ता पुनः कोलकाता फर्कन समय नलाग्ने तर त्यसका लागि पोर्ट ट्रस्ट गम्भीरता साथ लाग्नुपर्ने बताए ।

प्रकाशित : श्रावण १६, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?