कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तरकारी बीउ उत्पादनमा कमी

घनश्याम खड्का

(म्याग्दी) — तरकारी बीउको पकेट क्षेत्र मानिएको जिल्लाबाटै उत्पादन घट्न थालेको छ । रायो साग, केराउ, सिमी, काँक्रो, मुलालगायत दर्जनभन्दा बढी तरकारी र मकै तथा गहुँजस्ता अन्नबालीको बीउ उत्पादनमा कमी आएको हो  । 

कृषि ज्ञान केन्द्रका बालीविज्ञ भोजबहादुर थापाले कर्मचारी र कार्यक्रम व्यवस्थापनको अलमलले बीउको बजार व्यवस्थापनमा समस्या भएको बताए । ‘मूल बीउ नै कृषकले नपाउनु र कृषक–व्यापारी समवन्य नहुँदा न बीउ तयार भयो न कृषकले पैसा पाए,’ उनले भने, ‘जनप्रतिनिधिले पनि तरकारीका साना पोकाको महत्त्व नबुझ्दा तरकारी तथा अन्नबालीको बीउ उत्पादन प्रभावित भयो ।’


विज्ञ भोजबहादुर थापाकाअनुसार आर्थिक वर्ष ०७५/७६ मा म्याग्दीबाट मार्फा चौडापाते सागको बीउ २६ क्विन्टल, मनकामना रायो सागको ४ क्विन्टल, केराउको ३ क्विन्टल, बकुल्लाको २ क्विन्टल, सिमीको ३.५ क्विन्टल, काँक्रोको २ क्विन्टल बीउ निकासी भएको छ । मकैको ३५ क्विन्टल र गहुँको बीउ ८६ क्विन्टल निकासी भएको छ । यो आँकडा अघिल्लो ३ वर्षअघिको भन्दा दुई गुणा थोरै हो । ज्ञान केन्द्रका अनुसार अहिले उत्पादन भएको तरकारीको बीउ चार वर्षअघिको उत्पादनको एक तिहाइ मात्र हो । आव ०७३/०७४, ०७४/०७५ मा तरकारी तथा अन्नबालीको बीउको कुनै तथ्यांक कसैले राखेनन् । यहीं बीचमा बीउ व्यापारीले मूल्यमा र समूह नाइकेले बजारलाई झुक्याएकाले खास कृषक बीउ उत्पादनबाट हच्चिएका हुन् ।


लामो चक्र पूरा गरी तयार पारिएको बीउको मूल्य कृषकको हातमा पुग्न नदिन विभिन्न स्वार्थ समूह सक्रिय रहन्छन् । कतिपय ठाउँमा बीउ उत्पादन समूहकै नाइकेले बेइमानी गर्छन् । कृषकबाट संकलन गरेको बीउ व्यापारीलाई बेचेपछि पैसा कृषकको हातमा सहज पुर्‍याउँदैनन् । बीचमै अल्मल्याउँछन् । कृषक र बीउ व्यापारीबीच खरिद–बिक्रीसम्बन्धी लिखित सम्झौता नहुने हुँदा मूल्य दिन वा बीउ उठाउने बेला धोका दिन्छन् । साविकका कृषि कार्यालयले कृषक समूह र व्यापारीबीच समन्वयको काम गर्दै आएकोमा पुन:संरचनाले यो प्रक्रिया अवरुद्ध भएको छ । प्राय: स्थानीय तहमा कृषि प्राविधिक छैनन् । नयाँ भएकाले प्रक्रिया बुझेका छैनन् ।


‘हामी दुर्गम गाउँमा तरकारीको बीउ उत्पादन गर्छौं । बीउ व्यापारी सहरको हुन्छ । विभिन्न अल्झनबीच बीउ पुर्‍यायो, व्यापारीले तौल पुगेन, माग छैन, मूल्य छैन, बिक्री भएको छैन भन्दाभन्दै वर्ष दिनसम्म भुक्तानी रोक्छन् । कहिले त बीउ बेच्ने बेलामा व्यापारीले उठाउनै मान्दैनन्,’ अन्नपूर्ण गाउँपालिका ६ खिवाङको लालीगुराँस तरकारी बीउ उत्पादन कृषि समूहका प्रेमबहादुर गर्वुजाले भने, ‘व्यापारीले सहज उठाउने र समयमै भुक्तानी गरे बीउ उत्पादनमा राम्रो मूल्य छ ।

प्रकाशित : श्रावण १९, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?