रोकियो पाउडर दुधको उत्पादन

विनु तिम्सिना

विराटनगर — विराटनगरको प्लान्टबाट पाउडर दूधको उत्पादन बन्द गरिएको छ । दुग्ध विकास संस्थान (डीडीसी) ले संकलन गर्दै आएको दूधको परिमाण घटेपछि उत्पादन बन्द गरिएको हो । विराटनगर दुग्ध वितरण आयोजनासँगै देशैभर दूध संकलनमा कमी आएको छ ।

पाउडर उत्पादनका लागि बुटवल र हेटौंडाबाट दूध ल्याउने गरिएको थियो । अहिले काठमाडौं र हेटौंडाको माग पूरा गर्न विराटनगरले कच्चा दूध नै त्यसतर्फ निर्यात गर्नुपरेको दुग्ध वितरण आयोजनाका प्रमुख नीलकण्ठ गौतमले बताए ।

सरकारले धूलो दूधको आयातमा प्रतिबन्ध लगाएपछि डेरी उद्योगहरूले डीडीसीले दिने मूल्यभन्दा बढीमा खरिद गर्दा डीडीसीको दूध संकलन घटेको गौतमले बताए । प्रदेश १ का झापा, सुनसरी र मोरङमा रहेका निजीसहित देशैभरिका डेरीहरूले बढी मूल्यमा दूध खरिद गरेपछि अघिल्लो वर्षको तुलनामा संकलन घटेको उनले बताए ।

‘अलिकति बढी मूल्य पाउँदा किसान अन्यत्र आकर्षित हुनु स्वाभाविक हो, त्यो आकर्षणले पनि दूध कलेक्सन घटेको छ,’ उनले भने, ‘अर्को कारण भनेको विगत वर्षमा पाउडर दूध आयात गर्न पाइन्थ्यो । आयातित पाउडर सस्तो पर्दा निजी डेरीहरूले त्यही पाउडर घोलेर दूध बेच्थे । अहिले पाउडर दूधको आयातमा प्रतिबन्ध लगाइएको छ । त्यसैले किसानको दूध तानातान हुँदा नीजी डेरीले ५ रुपैयाँसम्म बढी मूल्य दिएर खरिद गर्छन् ।’

आयोजनाका प्रमुख गौतमका अनुसार अहिले विराटनगर आयोजनाले दैनिक ३० हजार लिटर दूध संकलन गरिरहेको छ । संकलित दूध धनुषाको ढल्केवर, हेटौंडा र काठमाडौं गइरहेको छ ।

ढल्केवरमा दैनिक ६ हजार लिटर, हैटौंडामा दैनिक ७ हजार लिटर र काठमाडौंमा दैनिक ९ हजार लिटर दूध पठाउँदै आएको विराटनगर आयोजनाका प्रमुख गौतमले जानकारी दिए । असोज महिनासम्म दूधको अभाव हुने उनले बताए ।

दुग्ध विकास संस्थानसँग यतिबेला धुलो पाउडर दूधको मौज्दात पनि निकै कम छ । अघिल्लो वर्षको यसै अवधिमा ७ सय टन धुलो दूध मौज्दात रहेकामा अहिले मुस्किलले २ सय टन मात्र छ । काठमाडौंको माग धान्न भदौ र असोजसम्म पाउडर घोल्नुपर्ने अवस्था देखिएको छ । खासगरी चैतदेखि भदौसम्म दूध उत्पादनका लागि प्रतिकूल समय मानिन्छ ।

प्रकाशित : श्रावण २०, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?