कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

२३ अर्बको आयात, १२ करोडको निर्यात

विजय तिमल्सिना

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले गत वर्ष भारतबाट करिब २३ अर्ब बराबरको विद्युत् आयात गरेको छ । विद्युत् आयातबापत भारतलाई २२ अर्ब ८९ करोड ७३ लाख भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । 

२३ अर्बको आयात, १२ करोडको निर्यात

गत आर्थिक वर्षमा १२ करोडभन्दा बढी मूल्य बराबरको विद्युत् भारत निर्यात गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले रातको समयमा प्रयोग नहुने विद्युत् भारत निर्यात गर्दै आएको छ ।


गत वर्ष भारतबाट २ अर्ब ७९ करोड ६७ लाख युनिट विद्युत् आयात भएको थियो । भारततर्फ भने २ करोड १६ लाख युनिट विद्युत् निर्यात भएको थियो ।


प्राधिकरणले भारतबाट आयात गर्ने विद्युत्मध्ये ढल्केबर–मुजफ्फरपुरबाट आयात गर्ने विद्युत् सबैभन्दा सस्तो छ । यो प्रसारण लाइनबाट आयात हुने विद्युत् मूल्य प्रतियुनिट ३ दशमलव ६० भारु मात्रै छ । कम क्षमताका अन्य प्रसारण लाइनबाट नेपाल आयात हुने विद्युत्को मूल्य प्रतियुनिट ५ दशमलव ६० भारुभन्दा बढी पर्छ ।


नेपालले आफूलाई बढी भएको विद्युत् भारत पठाउँदा पनि महँगो मूल्य कायम हुने गरी पठाउँदै आएको छ । केही साताअघि आएको बाढी पहिरोका कारण देशभित्र विद्युत् माग कम भएपछि नेपालले लगातार तीन दिन २४ सै घण्टा १५० मेगावाटभन्दा बढी विद्युत् भारत निर्यात गरेको थियो ।


नेपाल र भारतले भविष्यमा एक अर्कालाई विद्युत् आदानप्रदान गर्ने सहमति गरिसकेका छन् । इनर्जी बैंकिङ नाम दिइएको यो अवधारणाअनुसार वर्षायाममा बढी भएको विद्युत् भारत पठाउने र सुक्खायाममा आवश्यक पर्दा विद्युत् आयात गर्ने हो ।


नेपाल र भारतमा फरकफरक मौसममा विद्युत्को बढी माग हुने भएकाले यस्तो अवधारणा फलदायी हुने दुवै देशका अधिकारीको विश्वास छ । नेपालमा अधिकांश आयोजना रन अफ रिभर प्रकृतिका वर्षायाममा मात्र पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने खालका छन् । भारतमा भने सोलार आयोजनाबाट वर्षामा विद्युत् उत्पादन नहुने तर कृषि प्रयोजनका लागि बढी विद्युत् माग हुन्छ ।

निजी उत्पादकले उत्पादन गरेको करिब १६ अर्ब बराबरको विद्युत् खरिद गरेको प्राधिकरणले जनाएको छ । निजी उत्पादकबाट प्राधिकरणले २ अर्ब ९ करोड ७७ लाख ४४ हजार युनिट विद्युत् खरिद गरेको थियो ।


अहिले १ मेगावाटभन्दा माथिका ७८ वटा आयोजनाको जडित क्षमता १ हजार ३८ मेगावाट रहेको विद्युत् विकास विभागको तथ्यांक छ । यीमध्ये २० वटा आयोजना विद्युत् प्राधिकरणका हुन् । एक मेगावाटभन्दा साना १५ वटा विद्युत् आयोजनाले पनि ११ मेगावाट विद्युत् उत्पादन गर्दै आएका छन् । नेपालमा उत्पादन हुने १ हजार ५० मेगावाटमध्ये आधा विद्युत् निजी क्षेत्रका आयोजनाबाट उत्पादन हुन्छन् ।


गत वर्ष प्राधिकरणले ३ अर्ब २७ करोड ८५ लाख नाफा गरेको उसले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । प्राधिकरणका अनुसार गत वर्ष कुल आम्दानी ७१ अर्ब ७८ करोड २० लाख भएको थियो । त्योमध्ये ६८ अर्ब ५० करोड ३५ लाख मात्रै खर्च भएको प्राधिकरणले जनाएको छ । प्राधिकरण दुई वर्षअघिसम्म घाटा थियो ।


गत वर्ष सञ्चालन र सम्भार खर्चतर्फ मात्रै ६० अर्ब २४ करोड खर्च भएको प्राधिकरणले जनाएको छ । यो खर्चमा विद्युत् खरिद, रोयल्टी, सरकारको ऋणको ब्याज खर्च समावेश छ । प्राधिकरणले गत वर्ष सरकारलाई ब्याजबापत ११ अर्ब ७० करोड ८७ लाख ९६ हजार भुक्तानी गरेको थियो । सरकारले गत आर्थिक वर्षमा विभिन्न विद्युत् आयोजनामा सेयरबापत प्राधिकरणलाई १७ अर्ब ६३ करोड रुपैयाँ दिएको थियो । ऋणबापत सरकारले २ अर्ब ३१ करोड रुपैयाँ दिएको प्राधिकरणले जनाएको छ ।


गत वर्ष विद्युत् बिक्रीबापत ६५ अर्ब ५२ करोड १७ लाख ७८ हजार उठाउने लक्ष्य राखिएकामा ६१ अर्ब ४२ करोड संकलन भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : श्रावण २०, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?