१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

स्याउ टिप्न सिमला जानेको लर्को

रूपा गहतराज

नेपालगन्ज — मुस्कान लुटिएजस्ता अनुहार । सिमाना पार गर्न तँछाडमछाड । न खुसी न दुःखी देखिने भीड सिमाना काटेर भारत पसिरहेछ । लक्ष्य सिमला पुग्ने हो । त्यहाँ स्याउका ठूल्ठूला बगैंचा छन् ।

स्याउ टिप्न सिमला जानेको लर्को

टिप्ने सिजन सुरु हुँदा धेरैले त्यहाँ ज्यालादारी रोजगारी पाउँछन् । स्याउ टिपेर दसैं खर्च जुटाउन यहाँबाट दिनहुँ सयौंको लस्कर भारततर्फ हान्निएको हो । एउटै समूहमा १२ देखि २० जना किशोरदेखि ६० वर्षीयसम्म छन् । केहीले पत्नी र बालबच्चा पनि सँगै लगेका छन् ।


दैलेखका दिलबहादुर विकले वर्षौंदेखि सिजनमा सिमला पुगेर स्याउ टिप्ने काम गर्दै आएका छन् । यसपटक उनले सात वर्षीया छोरीलाई पनि सँगै लगेका छन् । पत्नीको क्यान्सर रोगले मृत्यु भयो । ‘घरमा छोरी हेर्ने मान्छे छैनन् । गाउँमा कसरी एक्लै छोड्ने, कसको जिम्मा लगाउने,’ उनले भने, ‘मनले मानेन, त्यसैले सँगै लिएर हिँडें ।’ कक्षा १ मा पढ्न थालेकी अबोध सुशीलालाई यात्राको मेसो पत्तो छैन । बुबासँग जान पाउँदा यात्रा कस्तो हुने हो भन्ने लागेको छ । उनीजस्तै धेरै बालबालिका अभिभावकसँगै स्याउ टिप्न जाने भीडमा छन् ।


प्रत्येक वर्ष नेपालगन्ज नाका हुँदै मध्य तथा सुदूर पहाडका बासिन्दा विदेशिने गरेका छन् । दैलेखको आठबिस नगरपालिकाका भरत बडुवालले यसरी जानुपर्दा कुनै रमाइलो नलाग्ने बताए । ‘वर्षमा चारपटक यसरी नगई घर खर्च चल्दैन,’ उनले भने, ‘भारत नगए परिवार पाल्नै मुस्किल छ ।’ रोपाइँ सकिएपछि स्याउ टिप्ने रोजगारीका लागि समय मिल्ने उनले बताए । १० जनाको परिवार पाल्ने जिम्मेवारी बोकेका उनलाई भाइबहिनीलाई पढाउने खर्चको चिन्ता पनि उत्तिकै छ ।


‘गरिबको जिन्दगी यस्तै हो,’ उनले भने, ‘काम नगरे खान पुग्दैन । जहाँ काम पाइन्छ, त्यहाँ त पुग्नैपर्छ ।’ मंगलबार दिउँसो सीमावर्ती भारतीय सहर रूपैडिहाबाट हरिद्वारतर्फ जाने गाडी चढ्न लागेको भेटिएका उनले बुधबार हरिद्वार र बिहीबार सिमला पुग्ने बताए । ‘त्यहाँबाट ७ सय रुपैयाँ खर्चमा स्याउ टिप्ने ठाउँमा पुगिन्छ,’ उनले भने ।


उनको टोलीमा २० जना छन् । सबैले कठिन श्रमसहित तीन महिना काम गर्दा ५०/५० हजार रुपैयाँजति बचाएर फर्कने योजना छ । वर्षायाममा खेतीपातीको काम सकेपछि दसैंसम्म यहाँका पहाडी जिल्लाका बेरोजगार युवा स्याउ टिप्न भारतको सिमला जाने चलन पुरानै हो । रुकुमको त्रिवेणी गाउँपालिकाका रामकुमार वलीले स्थानीयस्तरमा सबैले रोजगारी पाउने स्थिति नआएसम्म रोजगारीका लागि परदेश जानैपर्ने बाध्यता रहेको बताए ।


गाउँमा उनी प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएका थिए । एक महिनापछि नै पुनः बेरोजगार भए । ३० दिन काम गर्दा हातमा १५ हजार ५ सय रुपैयाँ परेको थियो । ‘एकजनाले ३० दिनमात्र काम गर्न पाइने नियम रहेछ,’ उनले भने, ‘अरू काम खोजौं भने नेपालमा राम्रो ज्याला दिँदैनन् ।’


दैलेखको आठबीस नगरपालिका–९ का सीताराम सिजापति प्रत्येक वर्ष साउनमा स्याउ टिप्न सिमला जान्छन् । त्यहाँको ज्यालादारी रोजगारीको पैसाले घर खर्च धानेको उनले बताए । ‘गाउँमा काम छैन,’ उनले भने, ‘परिवार पाल्न र जीवन धान्न पैसा चाहियो । त्यसका लागि भारत नपसेर सुख छैन ।’


दाङका दीपेन्द्रकुमार वली रोजगारीका लागि तीनपटक मलेसिया र साउदी अरब पुगेर फिरेका हुन् । अहिले फेरि कामको खोजीमा भारत जाने लस्करमा उनी पनि छन् । ‘एकपटक कमाएको पैसा सधैंभरिलाई पुग्दैन । परिवार पाल्नै पर्‍यो । अब इन्डिया जान लागेको छु,’ उनले भने, ‘परिवारसँग छुट्टिँदा दुःख लाग्छ, के गर्नु, यो रहर होइन, बाध्यता हो ।’ मिल्यो भने दसैं मनाउन घर फर्कने उनले बताए । उनको समूहमा १२ जना छन् ।


नेपालगन्ज भन्सारमा भेटिएका कतिपयले काममा सघाउने भएकाले छोराछोरीसँगै लैजान लागेको बताए । ‘पढाउन सक्ने अवस्था छैन । जसोतसो पढाए पनि काम पाउने होइन,’ सिमला गइरहेका हीरालाल शाहीले भने, ‘त्यसैले छोरालाई पनि सँगसँगै लग्न लागेको हुँ ।’ बाबु–आमा नै हिँडदा घरमा कोही नहुने भएकाले सँगै लैजानुपर्ने बाध्यता रहेको उनले बताए ।


जाजरकोट, हुम्ला, जुम्ला, दैलेख, सल्यान, रोल्पा र रुकुमलगायतबाट अधिकांश युवा कामको खोजीमा भारत जाने गरेका छन् । धेरैको काम मौसमी ज्यालादारी हुने गरेको छ । पहाडी क्षेत्रका युवा वर्षमा चार पटकसम्म कमाइ गर्नका लागि भारतका विभिन्न स्थानमा जाने गरेका छन् ।


दैनिक सयभन्दा बढी रोजगारीको खोजीमा भारततर्फ जाने गरेको जमुनाहा इलाका प्रहरी कार्यालयका प्रमुख माधव रिजालले बताए । खेती सकेर स्याउ टिप्न भारतको हिमाञ्चल प्रदेशको सिमलालगायतका क्षेत्रमा पुगेका नेपाली दसैंमा चाड मनाउन घर फर्कने गर्छन् ।

प्रकाशित : श्रावण २०, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?