२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

साना उद्योगमा बढ्दै लगानी

सन्जु पौडेल

रूपन्देही — प्रदेश ५ मा साना, घरेलु तथा लघु उद्योगको संख्या बढेको छ । सीपयुक्त युवाले यस्ता उद्योगमा लगानी गरिरहेका छन् । गत आर्थिक वर्षमा प्रदेशभरि १८ हजार साना उद्योग थपिएका हुन् ।

मन्त्रालयको उद्योग महाशाखा प्रमुख टेकनाथ देवकोटाले १८ हजार थपिएपछि प्रदेशमा अहिले ६६ हजार १ सय ६८ साना, घरेलु तथा लघु उद्योगको संख्या पुगेको बताए । ‘साना उद्योग सञ्चालन गर्ने क्रम बढेको छ,’ उनले भने, ‘प्रदेशका १२ मध्ये तराईका जिल्लाम यस्ता उद्योग बढी सञ्चालन गरिएका छन् ।’


बर्दिया, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङलगायत जिल्लामा उद्योग सञ्चालन गर्ने क्रम बढेको उनले जानकारी दिए । यी उद्योगमा २ लाख १२ हजार १ सय ८६ जनाले रोजगारी पाएका छन् । अघिल्लो वर्ष १ लाख ७६ हजारले रोजगारी पाएका थिए ।

नागरिक व्यवसायमुखी बन्दै गएकाले थोरै लगानीका उद्योग खुल्ने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाका प्रमुख राजन केसीले बताए । ‘पहिले–पहिले दर्ता नगरीकन उद्योग सञ्चालन गर्ने धेरै थिए,’ उनले भने, ‘नीति नियममा कडाइ हुन थालेपछि उद्योगको संख्या वृद्धि भएको हो ।’ तुलनात्मक रूपमा १५ देखि २० प्रतिशतसम्म उद्योग सञ्चालनमा वृद्धि भएको उनले बताए । एउटा सानो उद्योग सञ्चालन गर्न ७ लाख रुपैयाँसम्म लगानी हुने उनको भनाइ छ । ‘कपिलवस्तुमा यस प्रकारका १ हजार ५९ उद्योगमा ७४ करोड रुपैयाँ लगानी भएको छ,’ उनले भने ।


रूपन्देहीमा आव ०७४/७५ को तुलनामा ०७५/७६ मा ४ सय ६५ वटा साना उद्योग थपिएका छन् । उद्योग, व्यवसायका लागि यहाँ उपयुक्त माहोल भएकाले सानो आकारबाट लगानी सुरु भइरहेको रूपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले बताए । ‘युवाले स्वयं स्वरोजगार बन्न चाहेर पनि उद्योग खुलिरहेका छन्,’ उनले भने, ‘देशकै मध्यभागमा पर्ने भएकाले पहाडबाट आएर लगानी गर्नेका लागि हब बनेको छ ।’


सहज सीमा नाका, उत्पादनमा उर्वरभूमि भएकाले यहाँ कृषि र पशुसँग सम्बन्धित उद्योग फस्टाउँदै गएको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय विद्युत् आपूर्ति सहज हुँदै गएपछि उद्योग सञ्चालनमा आउन थालेका छन् ।


स्थानीय तह कार्यान्वयनमा आएपछि विभिन्न सीपमूलक तालिम सञ्चालन भइरहेका छन् । थोरै भए पनि लगानी गरेर आत्मनिर्भर हुने बढेको तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले बताए । पहिले लगानी गर्ने तर सीप अभावले छिमेकी मूलका कामदार बढी आउँथे,’ उनले भने, ‘देशकै लगानी, देशमै रोजगार र देशमै सीप सिक्न पाइएपछि आकर्षित भएका छन् ।’

प्रकाशित : श्रावण २१, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?