कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

वीरगन्ज–पथलैया मार्ग : ठेकेदारलाई डेढ करोड जरिवाना

कान्तिपुर संवाददाता

पर्सा — समयमै काम नगरी लापरबाही गर्ने वीरगन्ज–पथलैया मार्गका ठेकेदार कम्पनीलाई जरिवाना गरिएको छ । प्याकेज ५ का ज्वाइन्ट भेन्चरका ठेकेदार कम्पनी शर्मा युनाइटेड बिल्डर्स दिवा निर्माण सेवालाई १ करोड ५० लाख रुपैयाँ जरिवाना गरिएको हो ।

योजना कार्यालयका इन्जिनियर एवम् सूचना अधिकृत अशोक यादवले लक्षित समयमा निर्धारित काम पूरा नगरेकाले ठेकेदार कम्पनीलाई जरिवाना गरिएको जानकारी दिए । ‘तीन चरणको माइलस्टोनमध्ये पहिलो नै मिट नगरेकाले जरिवाना गरिएको हो,’ उनले भने, ‘पहिलो चरणमा २५, दोस्रोमा ७५ र तेस्रो चरणमा शतप्रतिशत काम पूरा गर्नुपर्ने गरी माइलस्टोन बनाइएको थियो ।’


जरिवाना गरिएका कम्पनीले प्याकेज ५ को ठेक्का ८२ करोड ४५ लाख ६९ हजार १ सय १ रुपैयाँ २९ पैसामा पाएका थिए । च्यानेज १६६ जोड ५६० देखि १७२ जोड ३६० सम्मको उक्त ठेक्काअन्तर्गत ५ किलोमिटर ८ सय मिटर कालोपत्र सडक निर्माण गर्नुपर्ने छ । ०७३ असार २९ गते सोसम्बन्धी सम्झौता भएको थियो ।


०७६ असोज २८ सम्म काम सम्पन्न गरिसक्नुपर्ने लक्ष्य तोकिएको थियो । यादवले सबै प्याकेजका ठेक्काको काम समयमा सम्पन्न नहुने निश्चितजस्तै भएकाले म्याद थपको प्रक्रिया जारी रहेको बताए ।


समग्रमा सबै प्याकेजको काम जारी रहेको र योजनाको करिब ५० प्रतिशत काम सम्पन्न भएको उनले दाबी गरे । सबैभन्दा कम प्याकेज नम्बर ७ को काम ३२ प्रतिशत मात्र सकिएको छ । जसको ठेकेदार कम्पनी दिवा, सपना ज्वाइन्ट भेन्चर हो । परवानीपुरदेखि गण्डक चोकसम्मको ४ किमि २ सय ४० मिटर सडक निर्माणको ठेक्का ४४ करोड ८१ लाख २९ हजार ५ सय ३२ रुपैयाँ १३ पैसाको हो । ०७४ मंसिर ६ को सम्झौताअनुसार यो ठेक्काको काम ०७७ साउन ५ सम्म सम्पन्न भइसक्नुपर्नेछ ।


सबैभन्दा बढी प्याकेज नम्बर २ मा काम भएको छ । परवानीपुर आईसीपी सडक खण्डको च्यानेज ३ जोड ९२० देखि ७ जोड ४२० को ३ किलोमिटर ५ सय मिटर लामो सडकको काम ७० प्रतिशत सकिएको छ ।

प्रकाशित : श्रावण २१, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?