कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

राजधानीका भान्सामा जिरी आलु

राजेन्द्र मानन्धर

दोलखा — मुख्य बजारहरूमा ‘जिरी आलु’ को ब्रान्ड देखिन थालेको छ । जिरी नगरपालिकाको सहकार्यमा कृषक समूहहरूले आलुको बजारीकरण गरिरहेका छन् ।

राजधानीका भान्सामा जिरी आलु

उच्च पहाडमा अवस्थित जिरीको खावाडाँडा अर्गानिक आलुको पकेट क्षेत्र मानिन्छ । त्यहाँबाट हरेक वर्ष बोरामा कोचेर ट्रकका ट्रक आलु जिल्ला बाहिर जान्थ्यो । यस वर्ष भने आलुको गुणस्तर छुट्याएर ब्रान्डसहित पारदर्शी पोकामा बन्द भएर राजधानीका ठूला स्टोरहरूमा पुगेको छ ।

उच्च क्षेत्रमा फल्ने आलु मीठो हुनाले राजधानीमा जिरी आलुको बजार राम्रो छ । ‘मुढेको आलु’ शैलुङ, खरीढुंगा र जिरीबाट जिल्ला बाहिरिने गर्छ । यस वर्षबाट ब्रान्डसहित बिक्रीका लागि प्रमाणीकरण गरेर बजारमा लाने नीति बनाएको जिरी नगरपालिकाका मेयर टंक जिरेलले बताए ।

जिरीको २५ सय मिटर उचाइमाथिको उत्पादित आलुलाई ब्रान्ड गरिएको उनले बताए । कृषकले उत्पादन गरेको आलुलाई जनचेतना अर्गानिक कृषि समूहले संकलन गर्छ । राम्राराम्रा आलु छानेर ब्रान्ड अंकित बोरामा प्याक हुन्छ । उक्त ब्रान्डलाई गुणस्तरदेखि बजारीकरण गर्ने कार्यमा एन्साबले सघाइरहेको छ । एन्साबका कार्यक्रम अधिकृत चण्डिका अमगाईंका अनुसार कृषकबाट उत्पादित आलु उत्पादन, प्रशोधन, ब्रान्डिङ, लेभलिङ र बजारीकरणमा एन्साबले सघाइरहेको छ ।

नगरपालिकाको तथ्यांकमा यस वर्ष ३२ सय ५८ टन आलु नगरबाट बाहिरियो । जसमध्ये ६ टन आलु ब्रान्डिङ भएर बिक्री भएको जनचेतना अर्गानिक कृषि समूह अध्यक्ष लुकछिरी शेर्पाले बताए । उनले भने, ‘दुई हप्ताको बीचमा त्यति टन ब्रान्डको बोरामा हालेको आलु बिक्यो ।’

समूहमा करिब तीन सय घरधुरीको आलु संकलन हुन्छ । प्रत्येक धुरीले एकदेखि तीन टनसम्म आलु समूहमा ल्याउँछन् । समूहले प्रतिकेजी आलुको ३२ रुपैयाँ तिर्छ । कृषकहरूको भनाइमा समूहमा लगेपछि आलु बिकिहाल्ने हुँदा झन्झट कम छ । ढुवानी र क्रेता खोज्ने काम पनि कम भएको छ ।

ब्रान्ड गरिएको आलुको बोरा पाँच केजीको हुन्छ । मूल्य स्टिकरसमेत भएको बोराको आलु खरिद गर्दा खुद्रा मूल्य ३८ राखिएको छ । सीमित स्थानमा पाइने आलुको बजारलाई बढाउने तयारी भइरहेको समूहका अध्यक्ष शेर्पा बताउँछन् । अर्गानिक जिरी घोषणाको महत्त्वाकांक्षी गन्तव्य बोकेको जिरी नगरपालिकाले किबीलाई पनि ब्रान्डिङ गर्ने प्रक्रियामा छ । जैविक खेती प्रणालीमा फर्कर्ने कोसिसमा रहेको जिरीले चुनौतीका बीच उत्पादित खाने कुराहरूलाई अर्गानिक पनि भन्न थालेको छ ।

यसअघि तत्कालीन दोलखा जिल्ला विकास समितिले पनि आलुलाई ब्रान्ड गरेको थियो । तत्कालीन जिल्ला कृषि विकास कार्यालयसँग साझेदारी गर्दै दोलखाको आलु लेखिएको बोरा छापेर शैलुङ र खरीढुंगाका कृषकहरूलाई वितरण गरेको थियो । उक्त ब्रान्ड लेखिएको बोराहरूमा भरिएको आलु उक्त स्थानहरूमा पाइँदै छ ।

प्रकाशित : श्रावण २१, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?