कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

सेजमा धमाधम उद्योग

माधव ढुंगाना

भैरहवा — विशेष आर्थिक क्षेत्र (सेज) भैरहवामा उद्योग सञ्चालनका लागि धमाधम निर्माण कार्य भइरहेको छ । गत वर्षसम्म उद्योग सञ्चालनका लागि सम्झौता गरेका २२ उद्योगमध्ये १७ उद्योगले निर्माण सुरु गरेका हुन् । पाँच उद्योगले सम्झौता रद्द गरेका छन् । 

शक्ति मिनिरल्स प्रालिले उद्योग स्थापना गरेर उत्पादन भारत निकासी गर्न थालेको छ । अहिले थप ६ उद्योगले निर्माणको काम अघि बढाएका छन् । विलियन्ट लाइटिङ इन्डस्ट्रिज, ग्लोबल, एक प्लास्टिक, पञ्चकन्या ग्रुपलगायतले निर्माण गरिरहेका छन् ।


आईडीएस इलेक्ट्रिक, बुद्ध न्याप्किन एन्ड पेपर उद्योग, सुगम न्यानो हर्बल इन्डस्ट्रिज, अरिबा एग्रिकल्चर र क्रियसन वर्ल्डले पनि जमिनको प्लट सफाइ गरी भौतिक संरचना निर्माणको काम सुरु गरेको भैरहवा विशेष आर्थिक क्षेत्र व्यवस्थापन कार्यालयका निमित्त प्रमुख भक्तबहादुर भण्डारीले बताए । बाँकी उद्योग पनि छिट्टै निर्माण थाल्ने तयारीमा छन् ।


स्थापनाको झन्डै दुई दशक भइसक्दा पनि सेज अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । सरकारको ढिलासुस्ती, ऐन, नियम बाँझिदा, आवश्यक विद्युत् अभावजस्ता कारणले सेजमा उद्योग स्थापनामा ढिलाइ भइरहेको थियो । उद्योगको पूर्वाधार निर्माणका लागि आवश्यक विद्युत् व्यवस्था गरिसकेको र बाझिएका ऐन, नियम संशोधन भइसकेको सेज विकास प्राधिकरणका प्रवक्ता सुन्दर थापाले बताए । ‘सेजमा केही उद्योग स्थापना भइसके र केही हुने तरखरमा छन्,’ उनले भने, ‘अब सहज रूपमा काम अघि बढ्छ ।’


सुरुमा सेजमा स्थापित उद्योगले आफ्नो उत्पादनको ७५ प्रतिशत सामान विदेश निर्यात गर्नुपर्ने प्रावधान राखिए पनि विशेष आर्थिक क्षेत्र ऐन पहिलो संशोधन २०७५ मार्फत ६० प्रतिशत विदेश निकासी गर्नुपर्ने प्रावधान बनाइएको छ ।


यस्तै कर छुट सुविधा नलिई एक वर्षसम्म उद्योगबाट उत्पादित वस्तु शतप्रतिशत पनि आन्तरिक बजारमा बिक्री वितरण गर्न पाइने, आयकर पाँच वर्षसम्म शतप्रतिशत र त्यसपछि ५० प्रतिशत छुट, लाभांशमा लाग्ने कर पाँच वर्षसम्म शतप्रतिशत, त्यसपछि तीन वर्षसम्म ५० प्रतिशत र त्यसपछि शतप्रतिशत कर लाग्ने व्यवस्था मिलाइएको छ । यो प्रावधानले सेजमा उद्योग खोल्न चाहने उद्योगीलाई थप प्रोत्साहन मिलेको छ ।


सेजसँग उद्योग सञ्चालनका लागि सम्झौता गरेकामध्ये सिद्धार्थ औद्योगिक ग्रुपले तीन, न्यु मेटल इन्डस्ट्रिजले एक र सुगम नानो हर्बल प्रालिले एक गरी पाँच उद्योगले सम्झौता रद्द गरेका छन् । सेजमा छाला, जडीबुटी, फलफूल, प्लास्टिक, इलेक्ट्रिक, गार्मेन्टजन्य उद्योगलाई प्राथमिकतामा राखिएको छ । यहाँ बन्द हडताल निषेध तथा बैंक, इन्स्योरेन्स कम्पनी, उत्पादित वस्तुको प्रदर्शनी हल, सेमिनार हल, चाइल्ड केयर सेन्टर, विद्यालय, हुलाक, स्वास्थ्य चौकी, मनोरञ्जन स्थललगायत सुविधा उपलब्ध हुनेछन् ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?