एक महिनामा ४५% क्षेत्रमा रोपाइँ

राजु चौधरी

काठमाडौँ — एक महिनाको अवधिमा साढे ४५ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार असार २२ गतेदेखि साउन १८ गतेसम्ममा ४५.५ प्रतिशतले रोपाइँ भएको हो ।

एक महिनामा ४५% क्षेत्रमा रोपाइँ

मन्त्रालयको विवरणअनुसार मुलुकभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा धान रोपाइँ हुन्छ । जसमध्ये एक महिनाको अवधिमा ६ लाख २४ हजार १ सय २६ हेक्टरमा रोपाइँ भएको मन्त्रालयको तथ्यांकमा छ ।


‘पछिल्लो समय धान रोपाइँ राम्रो छ । पानी पर्न थालेपछि अधिकांश ठाउँमा रोपाइँ भइरहेको छ,’ कृषि विभागका वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्यले भने । उनका अनुसार असार २२ गतेसम्म मुलुकभरि करिब ४०.४६ प्रतिशत रोपाइँ भएको थियो । साउन १८ गतेसम्म आइपुग्दा ८६ प्रतिशतसम्म भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।


यो अघिल्लो वर्षको तुलनामा भने ३.६२ प्रतिशत विन्दुले कम हो । मन्त्रालयका अनुसार २०७५ साउन १८ गतेसम्म ८९.६२ प्रतिशत पुगेको थियो । आचार्यका अनुसार धान रोपाइँ जेठ दोस्रो सातादेखि सुरु भई साउनको अन्तिम सातासम्म रोपाइँ हुन्छ । मनसुन सक्रिय भएपछि प्रदेश २ बाहेक अन्य क्षेत्रमा रोपाइँमा धेरै सुधार भएको आचार्यले बताए ।


‘प्रदेश २ र १ मा केही कमी भए पनि अन्य क्षेत्रको रोपाइँ धेरै राम्रो छ,’ उनले भने, ‘साउन अन्तिमसम्ममा प्रदेश २ मा पनि ९० प्रतिशतसम्म पुग्ने अनुगमन छ ।’ ठूलो परिमाणमा धान खेती तराई क्षेत्रमा हुन्छ । सोही क्षेत्रका जमिन सुक्खा थियो । मनसुन ढिला सुरु भएलगत्तै तराई क्षेत्रमा बाढीले थप प्रभावित गर्‍यो । बाढीले बढी धान रोपाइँ र उत्पादन हुने क्षेत्र प्रदेश २ र १ मै बढी असर गरेको थियो । अहिले भने तीव्र गतिमा रोपाइँ भएको आचार्यको दाबी छ ।


मन्त्रालयको तथ्यांकअनुसार समग्र तराईमा ८५.६३ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो वर्ष तराईमा ८९.६० प्रतिशत रोपाइँ भएको थियो । उच्च पहाडमा ८८.८४ प्रतिशत रोपाइँ भएको छ । मध्य पहाडमा पनि ८६.६५ प्रतिशत मात्रै रोपाइँ भएको विवरणमा उल्लेख छ । अघिल्लो वर्ष क्रमशः उच्च पहाडमा ८९.७६ प्रतिशत र मध्य पहाडमा ८९.६५ प्रतिशत रोपाइँ भएको विवरणमा उल्लेख छ ।


मन्त्रालयले ८६ प्रतिशत रोपाइँ भएको दाबी गरे पनि विज्ञहरू भने तथ्यांक भरपर्दो नभएको आरोप लगाउँछन् । नमुनाको आधारमा, मौसम, कुलो, पानी र बीउ हेरेर रोपाइँको प्रतिशत आकलन गरिएको कृषिविज्ञ कृष्ण पौडेलले बताए । ‘पिक सिजनमा रोपाइँको प्रतिशत बढ्नु स्वाभाविक हो तर तथ्यांक भरपर्दो छैन । असारे बजेटसरह हरेक दिन रोपाइँ बढेको देखाइएको छ,’ कृषिविज्ञ कृष्ण पौडेलले भने, ‘त्यो वास्तविक हुँदैन । तथ्यपरक कुरा होइन । मन्त्रालयको मनोविज्ञान मात्रै हो ।’


कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने क्षेत्रफल नापेर सम्भव नभए पनि स्थानीयसँगको सहकार्यमा संकलन गरिएको बताए । उनका अनुसार कृषि मन्त्रालयले प्रदेश मन्त्रालयसँग माग गर्छ । प्रदेशले कृषि ज्ञान केन्द्र र स्थानीय निकायसँग तथ्यांक संकलन गर्छ । सोही आधारमा विश्लेक्षण गरिएको सुवेदीले बताए । ‘प्रदेश, स्थानीय तहबाट संयोजन गरेर सार्वजनिक गरेको तथ्यांक हो । बढी हुने ठाउँमा रोपाइँ हुन सकेको थिएन,’ सुवेदीले भने, ‘अहिले धेरै सुधार भएको छ ।’


मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रोपाइँ भएको छ । सुदूरपश्चिममा ९५.३३ प्रतिशत रोपाइँ भएको छ । दोस्रोमा क्रमशः कर्णाली प्रदेशमा ९४.१० प्रतिशत, प्रदेश नम्बर ५ मा ८८.८६ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो वर्ष असार १८ गतेसम्म कर्णालीमा ९१.५५, प्रदेश नम्बर ५ मा ९१.५५ प्रतिशत रोपाइँ भएको थियो । यस्तै गण्डकी प्रदेशमा ८६.५९ प्रतिशत, प्रदेश नम्बर ३ मा ८८.६७ प्रतिशत, प्रदेश नम्बर २ मा ८१.९९ र प्रदेश नम्बर १ मा ८०.१३ प्रतिशत रोपाइँ भएको छ ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?