३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भारतबाट मल तस्करी

ठाकुरसिंह थारू

बर्दिया — कृषि सामग्री संस्थान कम्पनी लिमिटेड बर्दियामा साउनयता मलको स्टक सकिएपछि सीमावर्ती भारतीय बजारबाट तस्करी हुन थालेको छ । किसानहरू तस्करीकै भारतीय मल प्रयोग गरिरहेका छन् । नेपाली मल पाउन छाडेपछि भारतको बलैगाउँ, मिहिपुरुवा क्षेत्रबाट ल्याइएको मल किसानले खेतमा छरिरहेका छन् । उनीहरूले बाध्यताका कारण भारतको मल प्रयोग गर्नुपरेको बताए । 

धानमा गाँज लागिरहेका बेला जिल्लामा मलको चर्को अभाव भएको हो । भारतीय मल ९ सय रुपैयाँ प्रतिबोरा बिक्री भइरहेको छ । रातिको समयमा गुलरियाको मोहम्मदपुर क्षेत्रबाट भारतीय मल नेपाल ल्याइने गरेको हो । चर्को अभाव भएको फाइदा उठाउँदै सीमावर्ती गाउँका युवा तस्करीमा लागेका छन् । उनीहरूले तस्करी नभई नेपाली किसानलाई सहयोग पुर्‍याएको दाबी गरे ।


नेपाली मल पर्याप्त भए किसानले भारतीय मल प्रयोग गर्न मान्दैनन् । भारतीय मल कम गुणस्तरको हुने भन्दै उनीहरूले प्रयोग गर्न मान्दैनन् । ‘रोपाइँमा गाँज लाग्ने बेला मल हालिएन भने उत्पादन घटछ । त्यसैले भारतीय भए पनि मल प्रयोग गरिरहेका छौं,’ स्थानीय प्रेम चौधरीले भने, ‘कम गुणस्तरको मल हो भने थाहा हुँदाहुँदै भारतीय मल प्रयोग गर्नुपर्ने बाध्यता छ ।’


बर्दियामा साउन सुरु भएयता मलको अभाव छ । कृषि सामग्री कम्पनी लिमिटेडमा मलको स्टक सकिएको छ । सहकारीमा पनि मल छैन । किसानहरू दैनिकजसो मल लिन सहकारी संस्था धाउने गरेका छन् । तर, मल नआएको भन्दै फिर्ता पठाइने गरेको छ । ‘सरकारले मल दियो भने भारतीय मल हामीले प्रयोग गर्दैनौं । किनभने, नेपाली मलजस्तो राम्रो भारतको छैन,’ चौधरीले भने, ‘भारतको मल धेरै दिनसम्म गल्दैन । तर, त्यही प्रयोग गर्नुपर्ने बाध्यता आइलागेको छ ।’


कृषि सामग्री संस्थान कम्पनी लिमिटेड बर्दियाका प्रमुख नरहरि पोखरेलले मल सकिएको र केन्द्रबाट आउने अनिश्चित रहेको बताए । उनका अनुसार केन्द्रले खरिद गरी साउनको अन्तिमसम्म मल पठाउने तयारी गरेको छ । तर, बर्दियाका किसानलाई भने तत्काल युरिया मल चाहिएको छ ।


यहाँ असारभित्रै रोपाइँ सकिने भएकाले पनि युरिया मल तत्काल आवश्यक पर्ने गरेको हो । ‘मल साउनको अन्तिमसम्म आउने कुरा छ । किसानले भने दैनिक मल मागेर हैरान गरिसकेका छन्,’ उनले भने, ‘मल आउने बित्तिकै सहकारीमा पठाउँछौं । त्यहाँबाट किसानले किन्न सक्नेछन् ।’

प्रकाशित : श्रावण २२, २०७६ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?