कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दाङबाट दैनिक दुई उडान

कान्तिपुर संवाददाता

दाङ — टरिगाउँ विमानस्थलमा बुधबारदेखि दैनिक दुई उडान हुने भएका छन् । यात्रुको चाप र मागलाई मध्यनजर गरी दैनिक काठमाडौं–दाङ–काठमाडौं दुई उडान गर्न थालेको नेपाल वायु सेवा निगमले जानकारी दिएको छ ।

दाङबाट दैनिक दुई उडान

गत कात्तिक ३० मा तुलसीपुर उपमहानगरपालिकासँग सम्झौता गरी निगमले दैनिक उडान गर्दै आएको थियो । माग बढ्दै गएमा उडान थप गर्न सक्ने व्यवस्थाबमोजिम काम गरेको निगमका उपनिर्देशक पुष्पकुमार श्रेष्ठले बताए । विभिन्न ट्राभल एजेन्सी र निगममा टिकट लिनेहरूको भीड भएकाले उडान थप गर्नुपरेको उनले जनाए ।


६४ वर्षअघि दाङमा जहाज आए पनि नियमित उडान हुन नसक्दा समस्या भएको थियो । यसअघि जहाजमा यात्रा गर्न नेपालगन्ज वा भैरहवा विमानस्थल पुग्नुपर्ने बाध्यता थियो । नियमित उडान नहुँदा आपतकालीन अवस्थामा साह्रै समस्या हुने गरेको थियो । ठूलो दुर्घटनाबाट गम्भीर घाइते भएका बिरामीलाई एक्कासि काठमाडौं लैजानुपरे हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता थियो ।


यसअघि विभिन्न निजी कम्पनीले उडान गरे पनि नियमित गर्न सकेका थिएनन् । पछिल्लो समय निगमले नियमित उडान गरिरहेको छ । ०७४ पुस १९ देखि समिट एयरलाइन्सले यहाँ उडान सुरु गरेको थियो । त्यतिबेला जहाजलाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो । पाँच महिनापछि हवाई इन्धनको मूल्य वृद्धिसँगै भाडा महँगो भएको र यात्रु पाउन कठिन भएको भन्दै समिटले उडान बन्द गर्‍यो । तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा ०७२ मा नौ महिनासम्म गोमा एयरको जहाज चलेको थियो । अन्तमा इन्धन डिपोको कारण देखाउँदै उडान बन्द भयो ।


स्थानीय तह निर्वाचनपछि तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले विमानस्थल सञ्चालनलाई नै मुख्य मुद्दा बनाएर काम गरे । उनले सुरुमा समिट एयरसँग सम्झौता गरेर उडान सुरु गरे तर यसले निरन्तरता पाउन सकेन । अन्तमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीलाई विमानस्थलमै राखेर अन्तर्क्रिया भयो ।


त्यसपछि मन्त्रीकै जोडबलमा नेपाल वायु सेवा निगमले उडान गरेको थियो । धावनमार्ग सानो भएका कारण ठूला जहाज आउन मान्दैनन् । विमानस्थलमा इन्धन डिपो नभएको भन्दै साना जहाजले पनि सहजै उडान भर्न मान्दैनन् । अहिले इन्धन डिपोका लागि पनि तयारी भइरहेको नगर प्रमुख पाण्डेले बताए ।

प्रकाशित : श्रावण २३, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?