१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विद्युत् आयात–निर्यात कानुन बनाउन माग

विजय तिमल्सिना

काठमाडौँ — विद्युत् आयात–निर्यातको कानुन निर्माण गर्न ऊर्जा प्रवर्द्धकहरूले माग गरेका छन् । विद्युत् नियमन आयोगले तयार पारेको विद्युत् नियमन आयोगबाट सम्पादन गर्नुपर्ने कार्यसम्बन्धी निर्देशिकाको मस्यौदामा सुझाव दिँदै ऊर्जा उत्पादकहरूले यस्तो माग राखेका हुन् ।

विद्युत् आयात–निर्यात कानुन बनाउन माग

‘विद्युत् ऐन २०४९ को दफा २२ बमोजिम विद्युत् आयात वा निर्यात गरी विद्युत् व्यापार गर्ने विषयलाई समेत निर्देशिकाले समेट्नुपर्छ,’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले आयोगलाई पठाएको सुझावमा भनिएको छ ।


निर्देशिकाको मस्यौदा तयार पार्दै आयोगले सुझाव माग गरेको थियो । इपानले गत साता आयोगमा सुझाव पेस गर्दै अन्तरदेशीय विद्युत् व्यापारका लागि निर्देशिकामै व्यवस्था गर्न माग गरेको हो । इपान अध्यक्ष कुमार पाण्डे कानुन नहुँदा अन्तरदेशीय विद्युत् व्यापारमा समस्या हुने धारणा राख्छन् ।


‘भारतले अन्तरदेशीय विद्युत् व्यापारका लागि निर्देशिकालगायतका कानुन तयार पारे पनि नेपालले कुनै प्रावधान बनाएको छैन,’ उनले भने, ‘विद्युत् निर्यातका लागि कानुन अनिवार्य छ ।’ अन्तरदेशीय विद्युत् व्यापारका लागि भारतले बनाएको कानुनसँग संयोजन हुने गरी नेपालले पनि कानुनी प्रावधानहरू तयार पार्नुपर्ने उनको सुझाव छ । ‘हाम्रो विद्युत्को बजार भनेकै भारत र भारतमार्फत जान सकिने अन्य देशहरू हुन्,’ उनले भने, ‘विद्युत् निर्यातका लागि निजी क्षेत्रलाई पनि अनुमति दिने व्यवस्था गर्नुपर्छ ।’


विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली सिंह भने आयोगले उपयुक्त हुने तरिकाले विद्युत् निर्यातसम्बन्धी कानुन तयार पार्ने बताउँछन् । ‘आयोग भर्खरै गठन भएको हो । हामीसँग जनशक्ति पनि छैन,’ उनले भने, ‘जनशक्तिका लागि ऊर्जा मन्त्रालयमा माग गरेका छौं ।’


विद्युत् ऐनमा अनुमति प्राप्त व्यक्तिले आफूले उत्पादन गरेको विद्युत् विदेशमा निर्यात गर्न चाहेमा सो सम्बन्धमा सरकारसँग सम्झौता गरी निर्यात गर्न सक्ने व्यवस्था छ । निर्यात गर्नेले सरकारलाई तोकिएबमोजिम निर्यात कर तिर्नुपर्ने व्यवस्था पनि गरेको छ । सरकारले विद्युत् निर्यातका लागि हालसम्म कुनै कानुनी व्यवस्था गरेको छैन ।


ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नयाँ विद्युत् ऐन जारी गर्नका लागि मस्यौदा तयार पारिसकेको छ । मस्यौदा टोलीले मन्त्री वर्षमान पुनलाई शुक्रबार बुझाइएको भए पनि हालसम्म मस्यौदा सार्वजनिक गरिएको छैन । नेपालमा उत्पादित विद्युत् भारत र बंगलादेश निर्यातका लागि लामो समयदेखि पहल भइरहेको छ ।


नेपालले गत वर्ष बंगलादेशसँग ऊर्जा क्षेत्रमा सहकार्यका लागि समझदारी पनि गरिसकेको छ । बंगलादेशले सन् २०४० सम्ममा नेपालबाट ९ हजार मेगावाट विद्युत् आयात गर्ने घोषणा गरिसकेको छ । नेपाल विद्युत् प्राधिकरणले पनि आगामी वर्षदेखि उत्पादित विद्युत् नेपालमा प्रयोग नभई खेर जाने अवस्था आउने भन्दै भारतसँग इनर्जी बैंकिङको प्रस्ताव गरेको छ ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?