१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

आलुमा विषादी अवशेष भेटियो

प्रदीप मेन्याङ्बो

सुनसरी — आलुमा ०५८ मै प्रतिवन्धित कीटनाशक विषादी बीएचसी बेन्जेन हेक्साक्लोरको अवशेष पाइएको छ । धरानको भानु सब्जी बजारमा खुद्रा बिक्रीका लागि राखिएको आलुमा उक्त विषादीको अवशेष पाइएको हो ।

आलुमा विषादी अवशेष भेटियो

कीटनाशक विषादीका रूपमा एकपटक प्रयोग गरे पनि लामो समयसम्म माटामा रहिरहने भएकाले सरकारले १८ वर्षअघि नै बीएचसी बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो ।


अ फलफूल तथा तरकारीमा नभेटिए पनि आलुमा मानव जीवनका लागि अति घातक मानिएको बीएचसीको अवशेष फेला परेको फोरम फर हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट (एफएचआरडी) ले जनाएको छ । धरानका उपभोक्ताहरूले दैनिक उपभोग गर्ने सागसब्जी तथा फलफूलमा विषादि भए–नभएको र भएकामा कति मात्रा रहेको छ । त्यसको वैज्ञानिक परीक्षण गरी तथ्य पत्ता लगाउन उपमहानगरपालिकाले एफएचआरडीलाई जिम्मा दिएको थियो ।


संस्थाका अध्यक्ष समेत रहेका केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका माइक्रोबायोलोजी विभागका प्रमुख धिरेन लिम्बुले भने, ‘विषादी परीक्षण गर्ने क्रममा भानुचोकस्थित सब्जी बजारमा राखिएको आलुमा बीएचसीको अवशेष फेला परेको हो । उक्त कीटनाशक औषधिलाई सरकारले पहिले नै प्रतिबन्ध लगाएकाले दुई दशकअघि नै प्रयोगमा ल्याइएको माटामा फलेको आलुमा त्यसको अवशेष देखिएको हुन सक्छ ।’


उनले कडाखाले विषादी २० देखि ५० वर्षसम्म माटामा रहिरहने भएकाले उक्त जमिनमा अरू अन्नबाली, फलफूल तरकारी उत्पादन गर्दा त्यसको अवशेष देखिने बताए । आलुमा देखिएको बीएसीको मात्रा भने नगण्यजस्तै रहेकाले त्यसले वातावरणीय र मानव शरीरमा खासै हानि भने नपुर्‍याउने लिम्बुले बताए । ‘कुनै कृषकले फलफूल तरकारीमा बीएचसी प्रयोग हालसालै मात्र गरेको भए त्यसको मात्रा धेरै देखिन सक्थ्यो,’ उनले भने ।


अरू विषादी भेटिएन

धरान आसपास र कोसी करिडोरमा पुसदेखि चैतसम्म उत्पादित अरू फलफूल र तरकारीमा भने विषादीको मात्रा नपाइएको लिम्बुले बताए ।


उनले उपभोक्ताहरूले दैनिक उपभोग गर्ने फलफूल तथा तरकारीमा विषादी अत्यधिक भएको हुन सक्ने गुनासो आएपछि करिब सात महिना लगाएर स्थलगत रूपमा कृषकको बारीमा र तरकारी बजारमा पुगेर नमुना संकलन गरी परीक्षण गर्दा विषादीको मात्रा नभेटिएको बताए ।


‘परीक्षण गर्दा कोसी करिडोर र धरान आसपासका कृषहरूले विषादी खासै प्रयोग गरेको देखिएन । चिनीमल र दाना मल भने प्रयोग गरेको पाइयो । युरिया विषादी होइन,’ लिम्बुले भने ।


धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायत पहाडी जिल्लासँगै धरान आसपासका क्षेत्रहरू पानबारी, ठिंगाबारी, विष्णुपादुकालगायतमा उत्पादित फलफूल तरकारी सागसब्जीमा विषादी नपाइएकाले ढुक्कले खान सकिने पनि उनले बताए ।


परीक्षण टोलीले आलु, टमाटर, काँक्रा, रायो साग, धनियाँ, बोडी, तोरी सागको नमुना परीक्षण गरेको थियो । फलफूल तथा तरकारी परीक्षण जीसीएमएस (ग्यास क्रोमेटोग्राफी मास स्टोक्ट्रोमेटी) प्रविधिबाट गरिएको हो । उक्त प्रविधि विश्वकै उत्कृष्ट र अत्याधुनिक र विश्वस्तरीय प्रविधि भएकाले परीक्षणको रिपोर्टबारे शंका नहुने प्रमुख लिम्बुले बताए ।


उनले धरानमा आउने तरकारीमा सरकारले तोकेको मापदण्डका विषादीहरू मात्रै प्रयोग भएको बताए । स्थलगत अध्ययनमा फगिङसाइड र हर्वीसाइड बढी मात्रामा प्रयोग हुने भए पनि त्यो विषादी ऐन, २०४८ ले तोकेका विषादीहरू नै प्रयोग भइरहेको लिम्बुले बताए ।


हिउँदे उत्पादनको विषादी परीक्षणपछि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले वर्षायाममा उत्पादित र भारतीय बजारबाट ल्याइने तरकारी, दूध र मासुको पनि अब परीक्षण गर्ने बताइन् । उनले भनिन्, ‘बेमौसमी उत्पादनमा विषादी बढी प्रयोग हुन्छ भन्ने चर्चा हुने गरेको थियो । विषादी नदेखिएकाले धरानमा हामीले दैनिक उपभोग गर्ने सागसब्जी सुरक्षित रहेछ । अब धरानमा आउने दूधको पनि परीक्षण गर्न सम्झौता भइसकेको छ । सँगसँगै धरानका उपभोक्ताले खाने मासुको पनि परीक्षण गर्नेछौं ।’

प्रकाशित : श्रावण २६, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?