१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उपेक्षामा अनुसन्धान केन्द्र, न वैज्ञानिक न बजेट

रमेशचन्द्र अधिकारी

धनकुटा — कृषि, पशु, बागबानी र माटो परीक्षणलगायत अनुसन्धान गर्ने निकायमा जनशक्ति र बजेट कटौती भएपछि काम प्रभावित भएको छ । पाख्रिबासस्थित कृषि अनुसन्धान केन्द्र र राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रममा त्यसको असर देखिएको हो । २० जना वैज्ञानिक दरबन्दी रहेको केन्द्रमा अहिले चारजना मात्र कार्यरत छन् ।

उपेक्षामा अनुसन्धान केन्द्र, न वैज्ञानिक न बजेट

केन्द्र प्रमुखसमेत रहेका वैज्ञानिक अमरबहादुर पुनसहित रमेश साह, रितेश साह र अमृत पौडेल मात्र कार्यरत रहेको सूचना अधिकारी दिप्ती अधिकारीले जानकारी दिइन् ।


पुन र पौडेल बागबानीतर्फ र साहद्वय पशु विज्ञानका वैज्ञानिक हुन् । पछिल्लो एक दशकदेखि केन्द्र उपेक्षामा पारिएको विज्ञको गुनासो छ । केन्द्रमा कुल ९६ दरबन्दी रहे पनि हाल ४४ पद रिक्त छन् ।


‘अनुसन्धान गर्ने थलोमा जनशक्ति अभाव हुनुले उपेक्षा गरिएको महसुस हुने गर्छ,’ कार्यालय प्रमुख पुनले भने, ‘कम्तीमा आवश्यक जनशक्ति र बजेटको व्यवस्था त गरिनुपर्छ ।’ कृषि अनुसन्धानका लागि सम्मानजनक व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ । बागबानीतर्फका वैज्ञानिक पर्शुराम भिन्तना र कृष्ण पौडेल भने पीएचडीका लागि चीन गएका छन् । १२ प्राविधिक अधिकृत र १६ प्राविधिक दरबन्दीसमेत रिक्त छ ।


कृषि अनुसन्धान केन्द्र र व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम दुई फरक निकाय हुन् । दुवै कार्यक्रम जनशक्ति अभावले प्रभावित बनेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लगायत सम्बन्धित निकायमा यसबारे जानकारी गराए पनि सुनुवाइ नभएको कर्मचारीको गुनासो छ ।


नार्कअन्तर्गतको व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई प्रदेशस्तरीय अनुसन्धान केन्द्रका रूपमा प्राथमिकतामा राखिएको छ ।

आवश्यक बजेट तथा जनशक्ति भने व्यवस्थापन गरिएको छैन । २०६३ देखि सुरु गरिएको कृषि अनुसन्धान कार्यक्रमलाई अब अलैंची तथा चिया अनुसन्धानका रूपमा प्राथमिकतामा राखिएको स्रोतले जनाएको छ ।


कृषि अनुसन्धान केन्द्र र कार्यक्रम दुवैको प्रमुखका रूपमा समेत पुनले अख्तियारी सम्हाल्दै आएका छन् । दुई दशकअघिसम्म बृटिस सरकारले अनुसन्धानका लागि बजेट उपलब्ध गराउँदै आएको थियो । त्यो बेला वार्षिक १० करोड रुपैयाँ उपलब्ध हुन्थ्यो । अहिले भने सरकारले ५ करोड १५ लाख रुपैयाँ मात्र विनियोजन गरेको छ । यसबाट पनि कृषि अनुसन्धानका लागि सरकारी उपेक्षा सहजै अनुमान गर्न सकिने यहाँ कार्यरत वैज्ञानिकको भनाइ छ ।


नेपालमा कालो बंगुर उत्पादन गरेर विश्वमाझ नाम कहलाएको अनुसन्धान केन्द्रमा अहिले पनि बंगुर, कुखुरा र उन्नत जातका बाख्राबारे अनुसन्धान गरिँदै छ । केन्द्रले अकबरे खुर्सानी, बोयर र खरी जातका बाख्राबाट उन्नत जातका खसी, बाख्रा उत्पादन, एवोकाडो, घैया धान, अलैंचीलगायत कृषि तथा पशुसम्बन्धी अनुसन्धान गर्दै आएको छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?