कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरमा १४ प्रतिशत पर्यटक बढे

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुर घुम्न आउने पर्यटकको संख्या करिब १४ प्रतिशतले बढेको छ । सांस्कृतिक सम्पदाको भ्रमण तथा अध्ययन गर्ने पर्यटकको संख्या बर्सेनि बढेको पर्यटन सूचना केन्द्रको तथ्यांकले देखाएको छ । 

भक्तपुरमा १४ प्रतिशत पर्यटक बढे

केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पर्यटकको संख्या २ लाख ५८ हजार ५ सय ८८ पुगेको छ । २०७४/७५ मा २ लाख २७ हजार ६ सय १४ थियो । केन्द्रका अनुसार भूकम्पमा भत्किएका मठमन्दिरका संरचना तीव्र रूपमा पुनर्निर्माण भइरहेको छ । ती मठमन्दिर र पुरानो स्वरूप हेर्न पनि पर्यटकको घुइँचो दिनहुँ बढ्दै गएको छ । ‘अध्ययनसँगै घुम्न र रमाइलो गर्न आउँछन्,’ केन्द्रका मुरज दिदियाले भने, ‘गत वर्षको तुलनामा ३ हजार ९ सय ७४ पर्यटक संख्या बढेको छ ।’

केन्द्रका अनुसार भक्तपुरमा सार्कसँगै अन्य मुलुकबाट पनि भ्रमण गरेका छन् । सार्क र चीनबाट मात्रै १ लाख १७ हजार ३ सय पर्यटकले भ्रमण गरेका छन् । २०७४/७५ मा ९९ हजार ९ सय ८० ले मात्रै भ्रमण गरेका थिए । सार्क र चीनबाहेक अन्य मुलुकबाट १ लाख १४ हजार २ सय १६ जनाले भ्रमण गरेको केन्द्रको तथ्यांकमा छ ।

जानकारका अनुसार विश्व सम्पदा सूचीमा रहेका काठमाडौं उपत्यकाका केही ऐतिहासिक/सांस्कृतिक क्षेत्रहरू भक्तपुरमा पनि छन् । ती स्थानको भ्रमण तथा स्थानीय रहनसहनको अध्ययन गर्न पर्यटक आउने गरेका छन् । केन्द्रमा आर्थिक वर्ष २०७१/७२ मा २ लाख ४४ हजार १ सय ४४ पर्यटक भित्रिएका थिए । २०७२/७३ मा भूकम्पका कारण पर्यटकको संख्यामा भने कमी भएको थियो । केन्द्रका अनुसार २०७२/७३ मा ९५ हजार ५६ जना विदेशीले मात्रै भ्रमण गरेका थिए । ‘भूकम्पले धेरै सांस्कृतिक सम्पदा भत्कँदा पर्यटकको संख्यामा पनि कमी आयो,’ स्थानीय व्यापारी पुष्पा भैल बताउँछिन्, ‘अहिले सम्पदाहरू पुननिर्माण हुँदै छन् । पर्यटक धेरै आउँछन् ।’

२७ करोड राजस्व

केन्द्रका अनुसार पर्यटकबाट २७ करोड ५ लाख १० हजार राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७४/७५ मा भने २४ करोड १४ लाख ४१ हजार राजस्व संकलन भएको थियो । पर्यटनमा संलग्न व्यापारीहरू यो व्यापार सिजनल भएको बताउँछन् । उनीहरूका अनुसार अगस्त मसान्तदेखि नोभेम्बरसम्म पर्यटक भित्रिने सिजन हो । ‘सिजनको बेला धेरै पर्यटक आउँछन्,’ पर्यटन व्यवसायी प्रमेश लाखाजूले भने, ‘यही समयमा अलि व्यापार हुन्छ, अरू समयमा खासै व्यापार हुँदैन ।’ पर्यटकीय क्षेत्रमा आउने पर्यटकले स्थानीयभन्दा विदेशी उत्पादन सामग्री लिन रुचाउँछन् ।

बज्र गेस्टहाउसका सुजन हाडा पनि उस्तै गुनासो पोख्छन् । ‘विशेषगरी जात्रामा लामो समय बस्ने गरी आउँछन्,’ उनले भने, ‘अरू बेला पैदल आउने र एजेन्सीले पठाए मात्र आउँछन् ।’

प्रकाशित : श्रावण २६, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?