३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रसारण लाइनमा नयाँ ठेक्का

दस वर्षमा पनि काम पूरा नभएपछि ठेक्का तोडियो । विश्व बैंकको स्वीकृति आएपछि साउनभित्रै ठेक्का लगाउने तयारी
सुवास बिडारी

मकवानपुर — हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइनअन्तर्गत हेटौंडा–भरतपुर खण्डमा नयाँ ठेक्का आहवान गरिने भएको छ । भरतपुर–बर्दघाट खण्डमा कामले गति लिए पनि भारतीय कम्पनीसँग नेपाल विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौंडा–भरतपुर खण्डमा भने काम ठप्प छ । 

प्रसारण लाइनमा नयाँ ठेक्का

‘तोकिएको भन्दा करिब आठ वर्ष ढिला हुँदा पनि काम सम्पन्न हुने छाँट नदेखिएपछि प्राधिकरणले ठेक्का रद्द गरेको थियो । अहिले नयाँ ठेक्का लगाउने प्रक्रिया सुरु भइरहेको छ,’ आयोजना प्रमुख ईश्वरी जैसवालले भने । उक्त आयोजनाप्रति विश्व बैंकले नै असन्तुष्टि जनाएपछि ठेक्का रद्द गरिएको हो । विश्व बैंककै ऋण सहयोगमा निर्माण भइरहेको थियो ।


‘दस वर्षमा पनि काम पूरा हुन नसकेपछि ठेक्का तोडिएको थियो । अब नयाँ ठेक्का प्रक्रियामा जाने तयारी छ । यो महिनाभित्र ठेक्का आह्वान हुन्छ । विश्व बैंकको स्वीकृति आउने बित्तिकै ठेक्का गर्छौं,’ जैसवालले भने ।


हेटौंडा–भरतपुर प्रसारण लाइनको काम ६४ प्रतिशत सकिएको अवस्थामा ठेक्का प्रक्रिया रद्द गरिएको छ । सन् २००९ मार्च ९ मा २ वर्षभित्र सम्पन्न गर्ने गरी आइकन टेली लिमिटेड भारतसँग सम्झौता गरेको प्राधिकरणले काम सम्पन्न गर्न ११ पटकसम्म म्याद थप गरेको थियो । १ अर्ब ६० करोड रुपैयाँमा काम सुरु गरेको कम्पनीले लगानी जुटाउन नसकेपछि प्राधिकरणले २०७६ वैशाख ६ गते सम्झौता तोडेको हो । हेटौंडा–भरतपुर प्रसारण लाइनमा २२६ वटा टावर निर्माण गर्नुपर्नेमा १६४ वटा टावर निर्माण सकिएको जैसवालले बताए । प्राधिकरणले कम्पनीको बैंक खाता नै रोक्का गरेको छ ।


नयाँ टेन्डर एक वर्षभित्र सकिने गरी १ अर्ब ३९ करोड रुपैयाँ बराबरको निकालिने उनले बताए । ‘अहिले दोहोरो प्रसारण लाइन बनाउनुपर्ने गरी नयाँ मोडल तयार भएको छ,’ जैसवालको भनाइ छ, ‘यही कारणले धेरै काम सकिए पनि ठूलो रकमको टेन्डर गर्न लागिएको हो । नयाँ कम्पनीसँग एक वर्षभित्र काम सकाउने गरी सम्झौता हुनेछ ।’


यस्तै भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको काम भने तीव्र गतिमा अघि बढिरहेको छ । हेटौंडा–भरतपुर–बर्दघाट प्रसारणलाईअन्तर्गत भरतपुर–बर्दघाट लाइनको काम ५० प्रतिशत सकिएको आयोजना प्रमुख जैसवालले जानकारी दिए । चिनियाँ कम्पनी हेम्टन अप्टिकल इलेक्ट्रिक कम्पनीले उक्त क्षेत्रमा काम गरिरहेको छ ।


५५ लाख डलरमा सम्झौता भएको उक्त प्रसारण लाइनको काम चालु आर्थिक वर्षमा नै सकिने जैसवालले बताए । ‘चिनियाँ कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षमा काम सकिन्छ । कामको प्रगति निकै सन्तोषजनक छ । अहिले नै ५० प्रतिशत काम सकिएको छ ।’


भरतपुर–बर्दघाट प्रसारण लाइनमा पर्ने २४६ वटा टावरमध्ये ११९ वटा टावरको निर्माण सकिएको छ । १५२ वटाको फाउन्डेसन सकिएको र १० वटाको फाउन्डेसनको काम जारी रहेको आयोजना प्रमुख जैसवालले बताए । १८ महिनामा काम सक्ने गरी २०७५ साउन २१ गते हेम्टन अप्टिकल इलेक्ट्रिक कम्पनीसँग सम्झौता भएको थियो । ‘२०७६ माघ २३ गतेसम्म कम्पनीको म्याद छ,’ उनले भने, ‘अहिले निर्माणको क्षेत्रमा कुनै ठूलो समस्या देखिएको छैन । काममा अवरोध पनि भएको छैन । यही गतिमा काम हुने हो भने समयभन्दा अगाडि नै सम्पन्न हुनेछ ।’


यस्तै विश्व बैंकको सहयोगमा हेटौंडा–११ थाना भर्‍याङमा प्रसारण लाइनका लागि सबस्टेसनको काम पनि धमाधम भइरहेको छ । हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभीएका लागि सबस्टेसन निर्माणको काम पनि भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि उक्त क्षेत्रका सबस्टेसनको अनुगमन गरेका थिए ।

प्रकाशित : श्रावण २७, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?