कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

किसानले पाएनन् बिरुवा

तुलाराम पाण्डे

कालीकोट — प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गत वर्ष कालीकोटमा स्याउ जोनका लागि रास्कोट नगरपालिका छनोट भयो । बढी स्याउ फल्ने तिलागुफा नगरपालिकालाई उछिनेर रास्कोटले कार्यक्रम हात पार्न सफल भए पनि मन्त्रालयबाटै बिरुवा नआउँदा कृषक निराश छन् ।

‘बिरुवा आउँछ भनेर ढुक्क भयौं, रोप्ने बेला बिरुवा नै आएन,’ स्थानीय कृषक लालबहादुर शाहीले भने, ‘बिरुवा नआउँदा खनेका खाल्डा त्यत्तिकै छन् ।’ उनले स्थानीय नर्सरीबाट १ सय स्याउका बिरुवा खरिद गरेर रोपको जानकारी दिए । उनको बारीमा ५ सय स्याउका बिरुवा छन् । तीमध्ये १ सय ५० रूखमा स्याउ फल्छ ।


बारीमा ५ सय स्याउका बोट लगाएका रास्कोट ९ का कृषक गोकर्ण न्यौपानेले स्याउ जोन कार्यक्रमले बिरुवा दिने भनेर प्रचार गरे पनि किसानलाई बेवास्ता गरेको बताए । उनी अध्यक्ष रहेको जागरुक हिउँदे फलफूल नर्सरी उद्योग समूहले ४० हजार स्याउका बिरुवा उत्पादन गरेको छ । स्याउ जोनका बिरुवा आउने हल्लाले समूहका बिरुवा बिक्री नभएको उनको गुनासो छ ।


गत मंसिरदेखि सुरु भएको कार्यक्रमका लागि कृषि मन्त्रालयले १ लाख स्याउका बिरुवा उपलब्ध गराउन ८५ लाख बजेट विनियोजन गरे पनि घटेर टेन्डर लिनेले बिरुवा दिन नसकेपछि कृषकले बिरुवा रोप्न पाएनन् । ‘माथि (मन्त्रालय) बाटै बिरुवा आएन,’ स्याउ जोन कार्यक्रमका निमित्त प्रमुख गणेश अधिकारीले भने, ‘कृषकलाई बिरुवा दिन नसके पनि अन्य सहयोग गरेका छौं ।’


उनले रास्कोट नगरपालिकाको सिप्टीमा १५ लाख पुँजीगत खर्चबाट ४ सिँचाइ योजना र २ स्याउ प्रशोधन केन्द्र निर्माण गरिएको जनाए । कार्यक्रमका लागि विनियोजन गरिएको २४ लाख बजेट खर्च हुन नसकेर फ्रिज भएको उनको भनाइ छ ।


यस वर्ष कार्यक्रमका लागि १ करोड ९० रुपैयाँ बजेट स्वीकृत भएको छ । कार्यक्रमले रास्कोट र तिलागुफालाई स्याउ जोन छनोट गरेको छ । जोनका लागि कम्तीमा ५ हेक्टरमा खेती गरिएको हुनुपर्ने मापदण्ड छ ।


रास्कोटको सिप्टी स्याउको बढी सम्भावना भएको क्षेत्र मानिन्छ । सिप्टीको स्याउ बजार पुर्‍याउनै कठिन रहेको कृषकको गुनासो छ । किसानका अनुसार गाउँबाट रास्कोटको आरसीपी बजारसम्म १ भारी स्याउ पिठ्युँमा बोकाएर ल्याउँदा ९ सय ज्याला तिर्नुपर्छ । ‘न भण्डारण गर्ने व्यवस्था छ, न यातायात सुविधा छ,’ स्थानीय कृषक कल रोकायाले भने, ‘अधिकांश स्याउ कुहिएरै जान्छ ।’ उनले माटोमा खाल्डो खनेर स्याउ पनि बचाउन मुस्किल हुने गुनासो गरे ।


स्याउ खेतीमा बर्सेनि असिनाले क्षति पुर्‍याउने गरेको उनी बताउँछन् । उनको बारीमा स्याउका ५ सय रूख छन् । स्थानीय सुरेन्द्र शाही, सुर्जा फडेरा, गोर्कण न्यौपाने, लालबहादुर शाही, कलबहादुर रोकाया, रत्नप्रसाद धमाला, प्रम बराललगायत किसानले व्यावसायिक स्याउ खेती गरिरहेका छन् ।


काँचो स्याउ बजारमा

जिल्लामै बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिकाका कृषकले काँचो स्याउ बेच्न थालेका छन् । व्यापारी घरमै पुगेर स्याउको मोलमोलाई गरेर खरिद गर्न थालेपछि किसानले काँचो स्याउ बिक्री गरिरहेका हुन् ।


स्याउबारीमै व्यापारी पुगेपछि ५० रुपैयाँ प्रतिकिलो स्याउ बिक्री भइरहेको फोइमहादेवका पिटर कार्कीले बताए । उनका अनुसार कर्णाली राजमार्गसम्म १० रुपैयाँ ढुवानी खर्च लाग्ने गरेको छ । भदौ नलाग्दासम्म स्याउ नटिप्न र बिक्री नगर्न नगरपालिकाले कृषकलाई अनुरोध गरेको छ ।


सुर्खेत–जुम्ला सडक निर्माण भएसँगै कृषकले रोपेका अधिकांश स्याउका बिरुवा फल्न थालिसकेको फोइमहादेवका कृषक भक्तिराम पाण्डेले बताए । उनका अनुसार फोइमहादेवमा रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियसलगायत विभिन्न जातका स्याउ फलिरहेका छन् ।


केही ठेकेदारले सुर्खेत र नेपालगन्जबाटै कार्टुन बोकेर स्याउ खरिद थालेका छन् । राचुलीका धनकृष्ण कोइरालाले व्यवस्थित सेलार स्टोर नहुँदा कुहिने भएकाले काँचै स्याउ बिक्री गर्न किसान बाध्य भएको गुनासो गरे । ‘ग्रामीण भेकमा फलेका स्याउ ढुवानी समस्याले बजार पुर्‍याउन कठिन छ,’ उनले भने, ‘रात–दिन पसिना बगाएर बारीमा स्याउ फलाएका कृषक बजारको अभाव, भण्डारण र प्याकिङको समस्याका कारण मारमा परेका छन् ।’


उनले बिक्रीमा सन्तुलन नमिल्दा कृषक सस्तोमा बेच्न र उपभोक्ता महँगोमा खरिद गर्न बाध्य हुनुपरिरहेको जनाए । फाइदा जति बिचौलियाले लिने गरेका छन् । गाउँमा स्याउ बिक्री नभएर कुहिएको कृषकको गुनासो सुनिए पनि सदरमुकाममा भने स्याउको अभाव छ ।

प्रकाशित : श्रावण २७, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?