३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पर्यटकीय गन्तव्य बन्दै एकीकृत खेती

अर्जुन राजवंशी

दमक — झापामा पहिलोपटक चाक्लाबन्दी खेती गर्दै आएको नमुना एकीकृत सहकारी खेतीलाई कृषि पर्यटनका रूपमा विकास गरिएको छ । एकीकृत खेती गर्दै आएका किसानले यो वर्षदेखि कृषि पर्यटनलाई पनि अघि बढाएका हुन् ।

सामूहिक खेतीमार्फत कृषि उत्पादनमा वृद्धि भएपछि देशभरका किसानका लागि गौरादह नगरपालिका ५ स्थित उक्त खेती अध्ययन, अवलोकनको केन्द्र बनेको छ ।


वार्षिक १५ हजारभन्दा बढी कृषि विज्ञ, किसान, विद्यार्थी, सहकारीकर्मीलगायत खेती अवलोकनका लागि आउने गरेको नमुना एकीकृत सहकारी खेतीका अध्यक्ष वेदनिधि चापागाईले जानकारी दिए । स्थानीय किसानको जमिन एकीकृत गरी चक्लाबन्दी गरिएको, ठूलाठूला गरा, बाह्रै महिना उत्पादन, एकै स्थानमा कृषिका विभिन्न खेती सञ्चालन, किसानलाई रोजगारी र गुणस्तरीय उत्पादनमा जोड दिएपछि सरकारले उक्त खेतीलाई कृषि पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरेको छ ।


गत वर्ष सरकारले मुलुकभरका एक सय पर्यटकीय गन्तव्य घोषणा गर्दा गौरादहको एकीकृत खेती पनि सूचीकृत भएको थियो । उक्त घोषणाअनुसार खेतीमा कृषि पर्यटनका लागि अहिले आवश्यक भौतिक निर्माण एवं कार्यक्रमहरू तयारी गरिँदै छ ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख र पर्यटन बोर्डको ७ लाख रुपैयाँ सहयोगमा सभाहलसहितका पाहुना घर (होमस्टे) निर्माण गरिएका छन् । एक रातमा करिब ५० जना पर्यटक बस्न सक्ने क्षमताका होमस्टे निर्माण गरिएको सहकारी खेतीका लेखा प्रमुख हेमनाथ घिमिरेले बताए । १० कट्ठा जमिनमा निर्माण गरिएका होमस्टेसँगै पर्यटकलाई खेतीबारे एकमुष्ठ जानकारी दिनका लागि व्यवस्थित सभाहल पनि निर्माण गरिएको छ । सभाहलसहितको होमस्टे निर्माणमा ६२ लाख रुपैयाँ खर्च भइसकेको घिमिरेले जानकारी दिए ।


उक्त खेतीलाई गौरादहस्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्द्धन गरेको छ । ०७१ सालमा स्थानीय ७४ घरपरिवारको ८० बिघा जमिनलाई एकीकृत गरी खेती गर्दै आएको अध्यक्ष चापागाईले बताए । किसानले एकीकृत खेती प्रणालीमा रोजगारीसमेत पाएका छन् । जमिन खेतीलाई दिएबापत किसानले वार्षिक प्रतिबिघा ३२ मन धान पाउने गरेका छन् ।


संस्थाले ‘एक घर एक रोजगार’ कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको छ । खेती संस्थालाई दिएपछि दैनिक काम गर्न इच्छुक किसानलाई संस्थाले प्रतिघण्टा ५० रुपैयाँका दरले हाजिरा (ज्याला) दिने गरेको छ । वार्षिक एक सय घण्टा काम गर्ने किसानलाई श्रमबोनस १० प्रतिशत र सेयर बोनसबाट ४० प्रतिशत मुनाफासमेत बाँडदै आएको चापागाईले बताए ।


एकीकृत गरी खेती गर्न थालेपछि किसानको जमिनको उत्पादकत्व बढेको छ । खेती सुरु गर्दा ४ पीएच अम्लियनपन रहेकोमा अहिले बढेर ५.५ पीएच पुर्‍याएको अध्यक्ष चापागाईले सुनाए ।


‘हामीले किसानका साना–साना टुक्रा खेतलाई जोडेर चक्लाबन्दी बनाएका छौं । समान रूपमा सिँचाइ पुग्ने गरी खेत सम्याएका छौं । खेतमा आधुनिक मेसिनरीका सामान पुग्नेगरी बाटो बनाएका छौं,’ उनले भने, ‘खेत बाँझो राख्ने अवस्थालाई शून्यमा झारेका छौं । दुई बाली धान खेती गरिरहेका छौं । त्यस अलावा तरकारी, मकै, गहुँ, तोरी, बहुमूल्य क्यामोमाइल फूल र घाँस खेती गर्दै आएका छौं ।’


सहकारीले सामूहिक गाईपालन गरेको छ । संस्थाले माछापालन पनि गरिरहेको छ । किसान महिला दिदीबहिनीलाई स्वरोजगार बनाउन संस्थाले नमुना अचार उद्योग सञ्चालनमा ल्याएको छ । उन्नति परियोजनाको सुगन्धित तेल उत्पादन गर्ने मेसिन पनि सहकारीको कार्यालय परिसरमा राखिएको छ । उक्त मेसिनबाट निस्कने सुगन्धित पानीबाट साबुन बनाउने गरेको चापागाईले बताए ।

प्रकाशित : श्रावण २७, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?