कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आलुमा अत्यधिक विषादी भेटियो

आलुमा विषादी पाइएपछि आयातमा रोक लगाएर क्वारेन्टाइनको निगरानीमा राखिएको छ
देवनारायण साह

मोरङ — भारतबाट आयात हुने आलुमा अत्यधिक विषादी पाइएको छ । सुनसरीको भन्टाबारी भन्सार कार्यालय भएर आएको आलुमा अत्यधिक विषादी पाइएको हो । त्यस्तो आलु आयातमा रोक लगाई क्वारेन्टाइनको निगरानीमा राखिएको छ ।

आलुमा अत्यधिक विषादी भेटियो

प्रदेश १ सरकारले विराटनगरस्थित बाली संरक्षण प्रयोगशालामा स्थापना गरेको विषादी अवशेष द्रुत विश्लेषण इकाइमा जाँच गरिएको नमुनामा अत्यधिक विषादी पाइएको थियो ।

प्रयोगशालाका प्रमुख मुकेशकुमार यादवले सुनसरीको भन्टाबारी भन्सार कार्यालयले पठाएको आलुको नमुनामा ३८ ‘रुकावट प्रतिशत’ पाइएकाले तत्काल आयात नगर्न पत्राचार गरेको बताए । त्यो आलु क्वारेन्टाइनको निगरानीमा राख्न भनिएको छ । ‘आलुमा रुकावट प्रतिशत ३५ भन्दा कम आयो भने मात्रै खान योग्य हुन्छ,’ यादवले भने, ‘३५ देखि ४५ सम्म रुकावट प्रतिशत आयो भने ३/४ दिन निगरानीमा राखेर पुनः परीक्षण गर्नुपर्छ ।’ पुनः परीक्षण गर्दा पनि रुकावट प्रतिशत ३५ भन्दा कम नआएको खण्डमा आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन सिफारिस गर्ने यादवले बताए ।

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विराटनगरस्थित बाली संरक्षण प्रयोगशालामा तरकारी तथा फलफूलमा पाइने विषादी परीक्षण गर्न विषादी अवशेष द्रुत विश्लेषण इकाइ स्थापना गरेदेखि हालसम्ममा ३९ वटा नमुना परीक्षण गरिएको यादवको भनाइ छ ।

‘हालसम्म परीक्षण गरिएका नमुनामध्ये २९ वटा सुनसरी भन्सार कार्यालयको र बाँकी विराटनगर बजारबाट आएको छ,’ उनले भने, ‘करिब एक महिनादेखि विषादी परीक्षण गर्दै आएको आलु र प्याजका नमुनामध्ये यो एउटामा मात्रै ३८ रुकावट प्रतिशत आएको हो । बाँकीमा ३० भन्दा कम रुकावट प्रतिशत आएको थियो ।’


उनले संघीय सरकारमातहतको विराटनगर भन्सार कार्यालयले प्रदेश सरकारमातहत भएको भन्दै यहाँ विषादी परीक्षणका लागि तरकारी तथा फलफूलको नमुना नपठाउने गरेको बताए । विराटनगर भन्सार कार्यालयले तरकारी तथा फलफूलको नमुना विकषादी परीक्षणका लागि झापाको बिर्तामोडमा रहेको संघीय सरकारमातहतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा पठाउने गरेको छ ।

यादवले केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले प्राविधिकलाई तरकारी र फलफूलमा पाइने विषादी परीक्षणबारे प्रशिक्षण दिएपछि आफूहरूले सेवा सुरु गरेको बताए । ‘अहिले दुई समूहको विषादी परीक्षण गर्ने उपकरण एसपेक्ट्रो फोटोमिटर मात्रै छ,’ उनले भने, ‘तरकारी तथा फलफूलमा पाइने पाँच समूहमध्ये कार्वामेट र अर्गानोफस्फेट समूहको विषादीको मात्रै परीक्षण गरिरहेका छौं ।’

उनले बिर्तामोडमा पनि त्यही दुई समूहकै विषादी परीक्षण हुने गरेको सुनाए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले करिब २ करोड लागतमा ग्यास प्रोम्याटोग्राफे उपकरणलगायत आवश्यक सामग्री खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ । यही पहिलो चौमासिकमा यो उपकरण जडान हुने यादवले बताए । त्यसपछि यहाँ सबै समूहको विषादी परीक्षण गर्न सकिने र तरकारी तथा फलफूलमा विषादीको प्रतिशतसमेत जाँच गर्न सक्षम हुने उनको भनाइ छ ।


प्रदेश १ सरकारले स्थापना गरेको प्रयोगशालाको प्रतिवेदनलाई विराटनगर भन्सार कार्यालयले मान्यता नदिँदा यहाँका व्यापारीहरू सास्ती खेप्न बाध्य छन् । व्यापारीहरूले विराटनगर भन्सार कार्यालयबाट तरकारी तथा फलफूलको नमुना लिएर विषादी जाँच गराउन बिर्तामोड जानैपर्ने बाध्यात्मक परिस्थिति रहेको गुनासो पोखे ।


बिर्तामोडबाट विषादी परीक्षण गराएर ल्याउँदा हैरानी बढ्नुका साथै तरकारी तथा फलफूल आयातमा लागतसमेत बढ्ने गरेको विराटनगरस्थित गुद्री बजारका तरकारी व्यापारी रञ्जयकुमार गुप्ताले बताए । ‘बिर्तामोडबाट विषादी जाँच गरेर ल्याउन समय लाग्ने हुँदा डिटेन्सन शुल्क र ढुवानी भाडाको लागत बढ्ने गरेको छ,’ उनले भने, ‘तरकारी तथा फलफूलको लागत बढ्दा उपभोक्ताले महँगो मूल्य तिर्न बाध्य भएका छन् ।’


भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पटक पटक विराटनगर भन्सार कार्यालयलाई नमुना पठाउन पत्राचार गर्दा समेत बेवास्ता गर्दै आएको छ । विराटनगर भन्सार कार्यालयले नमुना नपठाएपछि संघीय सरकारको अर्थ मन्त्रालय र कृषि मन्त्रालयमा पहल थालेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले बताए । उनले संघीय सरकारका दुवै मन्त्रालयबाट आश्वासन प्राप्त भएकाले चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।


विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत सुशीलप्रसाद शर्माले भन्सार विभागबाट आदेश नआएकाले आफूहरूले तरकारी तथा फलफूल परीक्षणका लागि झापाको बिर्तामोड पठाउने गरेको बताए । सरकारले भारतलगायत तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी जाँच गरेर मात्रै आयात गर्न पठाएको पत्रअनुसारै बिर्तामाडमा नमुना पठाउने गरिएको उनले बताए ।

विभाग, मन्त्रालयले प्रदेश सरकारको प्रयोगशालामा नमुना जाँचका लागि अर्को पत्र पठाइदिए आफूहरूलाई पनि सहज हुने उनको भनाइ थियो । विराटनगर भन्सारबाट दैनिक दुई ट्रक हरियो तरकारीका साथै आलु र प्याज दैनिक १० ट्रक आयात हुने गरेको उनले बताए ।

प्रकाशित : श्रावण २८, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?