नेपाल विद्युत प्राधिकरणको मुनाफा ७ अर्ब २० करोड

विजय तिमल्सिना

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले आफ्नो खुद नाफा ७ अर्ब २० करोड पुर्‍याएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा कमाएको नाफा अघिल्लो वर्षको तुलनामा १ सय ४९ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७४/७५ मा प्राधिकरणको नाफा २ अर्ब ९० करोड थियो ।

पछिल्लो दस वर्षमा तीन वर्षदेखि प्राधिकरण नाफामा जान थालेको थियो । आर्थिक वर्ष ६६/६७ मा प्राधिकरण ६ अर्ब ९७ करोड घाटामा थियो । यो बढेर आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड पुगेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेतृत्व लिएपछि प्राधिकरण नाफामा जान थालेको हो । करिब ९ अर्ब रुपैयाँ घाटामा रहेको अवस्थामा प्राधिकरणको नेतृत्वमा आएका घिसिङको पहिलो वर्ष प्राधिकरणले १ अर्ब ५० करोड खुद नाफा कमाएको थियो ।

आर्थिक वर्ष ७३/७४ मा डेढ अर्ब नाफा कमाएको प्राधिकरणले त्यसपछिको वर्ष २ अर्ब ८९ करोड नाफा कमाएको थियो । गत आर्थिक वर्ष नाफा उल्लेख्य बढेको हो ।

यो अवधिमा विद्युत् चुहावट पनि उल्लेख्य घटेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पछिल्लो तीन वर्षमा विद्युत् चुहावट १० दशमलव ४६ प्रतिशतले घटेको छ ।

अहिले प्राधिकरणको प्रणालीमा १५ दशमलव ३२ प्रतिशत चुहावट छ । तीन वर्षअघि चुहावट २२ दशमलव ९० प्रतिशत थियो । प्राधिकरणले पछिल्लो वर्ष चुहावट नियन्त्रणका लागि अभियान नै सञ्चालन गरिरहेको छ ।

१० वर्षअघि प्राधिकरणको प्रणालीमा करिब २९ प्रतिशत चुहावट थियो ।

गत आर्थिक वर्ष भारतबाट २३ अर्ब ३ करोडको विद्युत् आयात भएको प्राधिकरणको तथ्यांक छ । यस्तै भारततर्फ ३२ करोडको विद्युत् निर्यात भएको थियो ।

गत वर्ष भएको कुल खपतमध्ये ३७ प्रतिशत विद्युत् भारतबाट आयात भएको हो । निजी क्षेत्रबाट २९ र प्राधिकरणको आयोजनाबाट ३४ प्रतिशत योगदान रहेको तथ्यांक छ । निजी उत्पादकबाट गत वर्ष १४ अर्ब १३ करोडको विद्युत् खरिद गरिएको प्राधिकरणको तथ्यांक छ ।

गत वर्ष ७५७ सर्किट किमि प्रसारण लाइन निर्माण सकिएको प्राधिकरणले जनाएको छ । त्योमध्ये ५ सय ६ सर्किट किमि प्रसारण लाइन चार्ज भएको छ ।

गत वर्ष प्रसारण र वितरण प्रणालीतर्फ ९२० एमभीए क्षमता थप भएको प्राधिकरणको तथ्यांक छ । प्राधिकणले गत वर्ष ४० वटा नयाँ सबस्टेसन विस्तार र स्तरोन्नति गरेको थियो ।

लामो समयदेखि सम्पन्न हुन नसकेका ३८ वटा रुग्ण आयोजना गत वर्ष सकिएको प्राधिकरणको तथ्यांक छ । गत वर्ष पूरा भएका ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ र काबेली करिडोर एक दशकभन्दा बढी समयमा सम्पन्न भएका आयोजना हुन् ।



प्रकाशित : श्रावण २८, २०७६ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बन्दीपुरमा युवकको शव फेला

प्रताप रानामगर

दमौली — तनहुँको बन्दीपुरमा एक व्यक्तिको घाँटी रेटेर हत्या गरेको आंशक गरिएको छ । बन्दीपुर-१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामकुमार शाही घाँटीमा धारिलो हतियारको चोट सहित मृत अवस्था फेला परेकाले कसैले हत्या गर्न सक्ने आंशक गरिएको प्रहरी उपरीक्षक विनोद सिलवालले बताए ।

‘घटनाबारेमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मृतकको घाँटीमा धारिलो हतियार प्रयोगबाट चोट लागेको देखिएको छ। उनको हत्या भएको हुन सक्छ हामीले अनुसन्धान गरिरहेका छौं।' आइतबार रातिदेखि उनी बेपत्ता भएपछि सोमबार उनको परिवारले इलका प्रहरी कार्यालय डुम्रेमा खोजी गरिदिन निवेदन दिएका थिए। प्रहरीले खोजी गर्दा बन्दीपुर ४ ठूलाढुङ्गास्थित काँसको झाँडीमा मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ।

घटनाको अनुसन्धान गर्न पोखराबाट तालिम प्राप्त कुकुरको प्रयोग समेत गरेको उनले बताए। कसले हत्या गर्‍यो पहिचना खुलेको छैन। हत्या संलग्न जोसुकै भए पनि चाँडै कानुनको दायरायमा आउने प्रहरी उपरीक्षक सिलवालले बताए। मृतकको जिल्ला अस्पतालमा पोष्टमार्टम भइरहेको छ।

प्रकाशित : श्रावण २८, २०७६ १२:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT