कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अब खेतमै माटो परीक्षण

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपकरणसहित ७५ लाख रुपैयाँमा माटो परीक्षण घुम्ती प्रयोगशाला किन्यो
जितेन्द्र साह

विराटनगर — किसानको खेतखेतमा पुगेर निःशुल्क माटो परीक्षण सेवा उपलब्ध गराउन प्रदेश १ सरकारले असोजदेखि गुड्ने प्रयोगशाला प्रयोगमा ल्याउने भएको छ । प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २० असारमा उपकरणसहित ७५ लाख रुपैयाँमा माटो परीक्षण घुम्ती प्रयोगशाला किनेको हो ।

अब खेतमै माटो परीक्षण

अहिले मन्त्रालय परिसरमा उक्त प्रयोगशाला तयारी अवस्थामा राखिएको छ । असोजको पहिलो सातादेखि किसानको खेतखेतमा यो प्रयोगशाला पुगेर निःशुल्क माटो परीक्षण सेवा प्रदान गर्ने उक्त मन्त्रालयका सचिव हस्तबहादुर विष्टले कान्तिपुरलाई बताए । ‘अहिले खेतीपातीको बेला भएकाले माटोको परीक्षण गर्दा राम्रो रिपोर्ट आउँदैन, अर्कोतिर किसान पनि व्यस्त छन्,’ सचिव विष्टले भने, ‘खेत बाँझो भएका बेला परीक्षण गर्दा माटोको यथार्थ अवस्था पता लाग्छ, त्यही भएर असोजदेखि सुरु गर्न लागेका हौं ।’ यो प्रयोगशालामा ४ प्राविधिक र एक चालकको टोली तैनाथ रहन्छ ।


संघीय सरकारले गत वर्ष सुनसरीको झुम्कास्थित माटो तथा मल परीक्षण प्रयोगशालालाई घुम्ती प्रयोगशाला प्रदान गरेको थियो । प्रदेश १ सरकारले आफैंले किनेको यस आधुनिक प्रयोगशालाको नेतृत्व गर्ने दायित्व झापाको सुरुंगास्थित माटो तथा मल परीक्षण प्रयोगशालाका माटोविज्ञ हरिबहादुर भुजेललाई दिएको छ । यो प्रयोगशालामा माटोको अम्लीय/क्षार, नाइट्रोजन, फस्फोरस, पोटास, प्रांगारिक पदार्थको मात्रा एवं माटोको किसिमलगायत ६ प्रकारको परीक्षण हुने उनले बताए ।


‘प्रदेश सरकारको यो सराहनीय कदम हो, अब परीक्षणका लागि माटो बोकेर प्रयोगशाला खोज्दै भौंतारिनु पर्दैन,’ मोरङ कटहरीको थलाहाका युवा किसान सोनेलाल सर्दारले भने, ‘रिपोर्ट कुरेर बसिराख्नु पर्दैन, तुरुन्तै पाइहालिन्छ ।’

माटोको उर्वरा कायम राख्नलाई कति मात्रामा र कुन मल हाल्ने एवं कुन बाली लगाउँदा उपयुक्त हुने त्यो जान्नलाई यो परीक्षण अति आवश्यक भएको उनले बताए । धेरैजसो किसानलाई माटो परीक्षण गराउनुपर्छ भन्ने ज्ञानसमेत नभएको मोरङको धनपालथान गाउँपालिका–६ का पाका कृषक शंकर राजवंशीले बताए ।


‘बर्सेनि बाली लगाएपछि माटोको उत्पादन क्षमता बुझ्न पनि यो परीक्षण जरुरी छ,’ उनले भने, ‘माटोमा कुन तत्त्व बढी र कुन कम छ भन्ने जानेपछि माटोलाई स्याहार्न सहज हुन्छ अनि माटोको गुणअनुरूप बालीको छनोट गर्न पनि सहज हुन्छ ।’


अहिलेसम्म स्थानीय निकायसँग मिलेर पूर्वाञ्चलको झापा र इलाममा सयौं शिविर सञ्चालन गरी सशुल्क, सहुलियत शुल्क, अर्धशुल्क एवं निःशुल्क यो सेवा उपलब्ध गराउँदै आएको भुजेलले जनाए । उनको अनुसार किसानलाई सहुलियत शुल्कमा, गैरसरकारी संस्थालाई सशुल्क र विद्यार्थीलाई निःशुल्क सेवा दिइसकेका छौं ।


‘शिविरमा झैं घुम्ती प्रयोगशालामा परीक्षण रिपोर्ट निकाल्न धेरै समय लाग्दैन, माटोको परीक्षण सकिएलगत्तै एकक्षणमा रिपोर्ट आउँछ,’ मन्त्रालयका सचिव विष्टले भने, ‘यसपछि विज्ञ टोलीले किसानलाई माटोको उर्वरा कायम राख्न के गर्ने, कति र कुन मल हाल्ने र माटोको किसिमअनुरूप कुन बाली लगाउँदा उपयुक्त हुने सुझाव दिन्छन् ।’


किसानलाई तत्कालै परीक्षण रिपोर्ट दिन सक्ने यस प्रयोगशालाभित्र एसी र इन्भर्टरसमेत छ । ‘उपकरणको तापक्रमले प्रयोगशालाभित्र निकै गर्मी हुने हुनाले एसी र इन्भर्टर पनि राखिएको हो,’ विज्ञ भुजेलले भने । योबाहेक प्रदेश सरकारले सुनसरीको धरानस्थित अमरहाट कृषि बजारमा दसैं अगाडिसम्म २५ लाख रुपैयाँको लागतमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालासमेत सञ्चालन गर्ने तयारी गरेको छ ।


साथै चैतसम्म प्रदेश १ कै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको बाली संरक्षण प्रयोगशालाको मातहतमा १ करोड ८६ लाख लागतमा घिउ र तेललगायतको खाद्य पदार्थको गहन एवं जटिल परीक्षण गर्न सक्ने प्रयोगशाला ‘ग्यास क्रोमाटोग्राफी’ स्थापना हुने भएको छ । यसपछि अहिलेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालालाई ‘मोबाइल प्रयोगशाला’ का रूपमा प्रयोग गर्ने सचिव विष्टले बताए ।

प्रकाशित : श्रावण २८, २०७६ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?