दूध किसानलाई आधा मूल्य

अमृता अनमोल

बुटवल — रूपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरका किसान खिमलाल पाण्डेले दैनिक ८० देखि ९० लिटर गाईको दूध बेच्छन् । उक्त दूध शंकरनगर दुग्ध उत्पादक सहकारी संस्थाले ४५ देखि ५० रुपैयाँ प्रतिलिटरमा किन्छ ।

दूध किसानलाई आधा मूल्य

सहकारीले भने किनेको केहीछिनमै ६५ रुपैयाँ प्रतिलिटरमा बेच्छ । करिब ३ किलोमिटर परको बुटवल बजारमा आउँदा त्यही दूधको मूल्य ८० रुपैयाँ प्रतिलिटर पर्छ ।


‘आँखैअगाडि ठगिएको छु तैपनि सहकारीमै दूध नबेची सुख छैन,’ उनले भने, ‘एकैपटक धेरै दूधबेच्नुपर्ने भएकाले अरू उपाय छैन ।’ भैंसीको दूध बेच्ने किसानले पनि दूधअनुसारको मूल्य पाएका छैनन् । यसमध्येकी हुन् सैनामैना नगरपालिका–१० सालझन्डीकी किसान गीता शर्मा । उनले दैनिक २० लिटर भैंसीको दूध बेच्छिन् । उक्त दूध सालझन्डी दुग्ध उत्पादक सहकारी संस्थाले किन्छ ।


फ्याट र ठोस पदार्थअनुसार त्यसको मूल्य ५५ देखि ६० रुपैयाँ पर्छ । त्यही दूध बजारमा ८० रुपैयाँ प्रतिलिटरमा खोसाखास छ ।

सहकारी तथा निजी डेरीहरूले किसानको दूधको मूल्य चिल्लो र ठोस पदार्थ (फ्याट) का आधारमा तय गर्छन् । उपभोक्ताले भने जस्तोसुकै दूधलाई पनि उही मूल्य तिर्नुपरेको छ ।


रूपन्देहीका डेरीहरूमा दूधको दुईथरी मूल्यसूची राखिएको छ । त्यसमा गाई वा मिक्स दूध ७० र भैंसीको दूध प्रतिलिटर ८० रुपैयाँ उल्लेख छ । यसअनुसार तीन प्रतिशत चिल्लो पदार्थ र आठ प्रतिशत ठोस रहेको दूधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर हुनुपर्ने हो ।


यहाँका अधिकांश डेरीले गाई र भैंसीको भनेर छुट्टाछुट्टै दरमा दूध बेच्दैनन् । सबै दूध भैंसीको मूल्यअनुसार ८० रुपैयाँ प्रतिलिटरमा बेचेका छन् । यसले किसान र उपभोक्ता ठगिएका छन् । बिचौलिया मात्रै मालामाल भएका छन् ।


डेरी एसोसिएसन प्रदेश ५ का अध्यक्ष कृष्ण भट्टराईले सरकारले सहकारी र डेरीहरूको अनुगमन नगर्दा बिचौलिया प्रवृत्ति मौलाउँदै गएको बताए । ‘फ्याट र चिल्लो पदार्थका आधारमा दूधको गुणस्तर र मूल्य कायम हुन्छ । सबै सहकारी र व्यापारीले यसैगरी दूध किनेका हुन्छन्,’ उनले भने, ‘आफूले गाईको वा कम फ्याटको किनेर बढी फ्याट हुने भैंसीको दूधका नाममा बेच्नु गलत हो ।’


सहकारीले कति र डेरी व्यवसायीले कति फाइदा राखेर दूध बेच्ने सरकारले स्पष्ट खाका नबनाउँदा पनि किसानहरू समस्यामा परेको उनले दाबी गरे ।


तीनै तहका सरकारले किसानलाई ठगिन नदिन सरकारीमार्फत उत्पादन र बजारीकरणको योजना अगाडि सारेका छन् । कतिपय नाम चलेकै सहकारी किसानमैत्री छैनन् । केही जान्नेबुझ्नेले दूधको मूल्य तय गर्ने र किसानलाई ठग्ने गरेका छन् । यसले गर्दा दूध किसान मर्कामा परेका हुन् ।


सैनामैनाको रामापुरका दूध उत्पादक किसान नारायण पौडेलले सहकारी सञ्चालक प्रत्यक्ष रूपमा दूध उत्पादनमा सहभागी नभएका हुँदा दूध उत्पादक सहकारीबाटै पनि किसान ठगिएको बताए । ‘धेरै सहकारी व्यापारी र बिचौलियाको जिम्मामा छन्,’ उनले भने, ‘यसमा सुधार्न सके किसान ठगिनबाट बच्नेछन् ।’


दूधमा कति फाइदा लिने ? यसको स्पष्ट सरकारी नीति छैन । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशुपन्छी शाखा प्रमुख डा. प्रदीप शर्मा पौडेलले किसानबाट किनेको दूधको १० प्रतिशतभन्दा धेरै फाइदा राख्न नहुने बताए ।

प्रकाशित : श्रावण ३०, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?