कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूधको मूल्य बढाउन समिति गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले दूधको मूल्य बढाउन ८ सदस्यीय ‘मूल्य सिफारिस समिति’ गठन गरेको छ । केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले दूधको मूल्य बढाउन दबाब दिएपछि सरकारले बजार विश्लेषण गर्न समिति गठन गरेको हो ।

दूधको मूल्य बढाउन समिति गठन

‘दूधको मूल्य बढाउने सन्दर्भमा सबै सरोकारवाला निकायसहित मंगलबार र बुधबार छलफल भएको छ । बजारमूल्य विश्लेषण गर्न समिति गठन भयो,’ समिति संयोजक एवं राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले भने, ‘मूल्यको सन्दर्भमा आइतबार बैठक बसेर टुंगो लगाउँछौ । भदौ १ बाटै मूल्य वृद्धि सम्भव छैन,’ उनका अनुसार समितिमा कृषि मन्त्रालय, बोर्ड, दुग्ध विकास संस्थान, उद्योगी, व्यवसायीलगायत सबै सरोकारवालाहरू छन् ।


समितिले मूल्य निर्धारण गरेपछि कृषि तथा पशुपन्छी मन्त्रालयमा सिफारिस गर्छ । मन्त्रालयलबाट पनि अनुमोदन भएपछि दुग्ध विकास सस्थानको बोर्ड बैठकले मूल्य कार्यान्वयन गर्ने जनाएको छ । दुग्ध सहकारी संघले बजार मूल्य बढेको तर साढे २ वर्षयता मूल्य समायोजन नगरेको जनाउँदै भदौ १ गतेदेखि मूल्य बढाउन सरकारलाई दबाब दिएका थिए ।


संघले दूधको मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी दिएपछि कृषि मन्त्रालय पनि मूल्य बढाउन सकारात्मक देखिएको छ । सोहीअनुसार कृषि मन्त्रालय, बोर्ड, दुग्ध विकास संस्थान, दुग्ध सहकारी संघ, डेरी एसोसिएसन र संघसहित मंगलबार छलफल भएको थियो । सहकारी संघले प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने माग गरेका थिए ।


डेरी उद्योगका अधिकारीहरूले भने ६ देखि ८ रुपैयाँसम्म बढाउन सुझाव दिएको छलफलमा सहभागीहरू बताउँछन् । चाडबाडकै मुखमा मूल्यवृद्धि हुँदा नकारात्मक सन्देश जाने भन्दै मन्त्रालयका तर्फबाट सहभागी कर्मचारीहरू पछि हटेका थिए । त्यसपश्चात मंगलबारको बैठकले बजार अध्ययन र विश्लेषण गर्न समिति गठन गर्ने निर्णय गरेको थियो ।


बुधबार पुनः सबै सरोकारवालासहितको बैठकले कमिटीको सन्दर्भमा मन्त्रालयमा पेस गरेको नेपाल डेरी एसोसिएसनका महासचिव प्रलाद दाहालले बताए । मन्त्रालयबाट पनि अनुमोदन भएपछि कमिटीले आधिकारिकता पाएको हो । दूधको मूल्य सिफारिस गर्न गठित समितिलाई ९ टीओआर दिइएको छ ।


समितिले मूल्य निर्धारणका आधारहरू विश्लेषण गर्ने, क्षेत्रगत रूपमा दूधको उत्पादन लागत विश्लेषण (भौगोलिक क्षेत्र, कृषक व्यवसायको स्तर आदि), व्यवस्थापकीय खर्च (दूध ढुवानी, चिस्यान आदि) विश्लेषण गर्नेछ ।


दूधको उत्पादनमा मौसमी प्रभाव विश्लेषण (फ्लस र ड्राई सिजन), दूधको गुणस्तर (परिमाणत्मक, गुणात्मक) आन्तरिक तथा बाह्य बजारसँग प्रतिस्पर्धा, मुद्रास्फीति दर र विगत २ वर्षको बजार मूल्य वृद्धि विश्लेषण गर्ने उल्लेख छ ।

प्रकाशित : श्रावण ३०, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?