कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कमजोर बन्दै नेरु

कान्तिपुर संवाददाता

काठमाडौँ — केही सातायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर देखिएको छ । विश्व बजारमा अमेरिकी डलरप्रतिको आकर्षण बिस्तारै बढेसँगै नेरु कमजोर देखिन थालेको हो ।

कमजोर बन्दै नेरु

शुक्रबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय १४ रुपैयाँ ३४ पैसा तोकेको छ । यसअघिको न्यून विनिमयदरको तुलनामा बिहीबार नेपाली मुद्रा ४ रुपैयाँले कमजोर (अवमूल्यन) भएको हो । यसको अर्थ सोही दरले डलर बलियो (अधिमूल्यन) भएको भन्ने हो ।


करिब १० महिनाअघि (०७५ असोज २४ मा) अमेरिकी डलरको विनिमय दर १२० रुपैयाँ हाराहारीमा थियो । उक्त दिनको तुलनामा बिहीबारको विनिमय दर करिब ६ रुपैयाँ कम हो । पछिल्लो न्यून विन्दु ११० रुपैयाँको तुलनामा करिब ४ रुपैयाँले बढी हो । यसअघि ०७५ साउन २७ मा डलरको विनिमयदर ११० रुपैयाँ ४३ पैसा थियो ।


अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।


पछिल्लो एक वर्षयता भारतीय अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन । केही सातायता फेरि जम्मु–कश्मीरको विवाद चर्किएको छ । यो विवादले विश्व बजारमा भारतको राम्रो सन्देश गएको छैन । भारतीय अर्थतन्त्रका सूचक देखाउने पछिल्ला प्रतिवेदनले त्यहाँको अर्थतन्त्रको वृद्धिदर घटदो क्रममा रहेको देखाएका छन् । यसकारण विश्व बजारमा भारतीय मुद्रा कमजोर भएको छ । त्यसको असरले नेपाली मुद्रा पनि कमजोर भएको विज्ञहरूले बताएका छन् ।


केही महिनायता अमेरिका र चीनबीच चल्दै आएको व्यापार युद्धले विश्व व्यापारमा राम्रै प्रभाव पारेको छ । यही समयमा जर्मनको अर्थतन्त्रमा पनि संकट देखिएको छ । पछिल्ला दस वर्षमा जर्मनको अर्थतन्त्र एकनाशले बलियो अवस्थामा रहँदै आएको थियो । अहिले कमजोर भएपछि त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारहरूमा परेको छ । यी कारणले विश्व बजारमा अमेरिकी डलरको विनिमय दर घट–बढ भएको जानकारहरू बताउँछन् ।

प्रकाशित : श्रावण ३१, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?