मृतकका नाममा कृषि अनुदान

६ र २७ वर्षअघि मृत्यु भएकाहरूको अनुदान रकम बुझ्ने कृषकको सूचीमा
तीन समूहविरुद्ध कारबाही माग गर्दै ४२ किसानले दिए उजुरी  
अर्जुन राजवंशी

(दमक) — कप्तान राजवंशीले कृषि ज्ञान केन्द्रबाट चैतेधानको खेती गरेबापत प्रोत्साहन अनुदान रकम लिएको खबरले गौरीगन्जवासी अचम्मित छन् । उनीसँगै गौरीगन्ज गाउँपालिका–२ कोरोबारीका नुकानु राजवंशी र मनमाया न्यौपानेले पनि अनुदान रकम लिएको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । उनीहरू तीनैजनाको निधन भइसकेको छ ।  

मृतकका नाममा कृषि अनुदान

‘०४९ वैशाख १० मा बुवा बित्नुभएको हो, २७ वर्ष पुगिसक्यो । कृषि ज्ञान केन्द्रबाट बुबाको नाममा अनुदान रकम लिएको खबरले हामी छक्क परेका छौं,’ कप्तानका छोरा फागुलाल राजवंशीले भने । कोरोबारीका तीनवटा कृषक समूहले फर्जी कागज बनाएर लाखौं रुपैयाँको अनुदान रकममा अनियमितता गरेको फेला परेको छ । तुलाचन कृषक समूह, माङसावा कृषक समूह र कनकाई विपद् कृषक समूहले फर्जी कागजात बनाएर अनुदानको १८ लाख ६२ हजार रुपैयाँ अनियमितता गरेका हुन् ।


कृषक समूहले प्रदेश सरकारको चैतेधान विशेष सहयोग क्षेत्र विस्तार तथा उत्पादकत्व वृद्धि कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रबाट अनुदान रकम प्राप्त गरेका थिए । माङ्सावा कृषक समूहले १०४ जना कृषकको फर्जी कागजात पेस गरी ६ लाख ८४ हजार रुपैयाँ अनुदान प्राप्त गरेको थियो । माङ्सावाले ६८.४ हेक्टर जमिनमा चैतेधान खेती गरेको केन्द्रमा पेस गरेको कागजातमा उल्लेख छ । तुलाचनले १३२ जना कृषकको नाममा ८ लाख ११ हजार रुपैयाँ अनुदान ल्याएको छ । उसले ८१.१ हेक्टर जमिनमा चैतेधानको खेती गरेको जनाएको छ । कोरोबारीकै कनकाई विपद् व्यवस्थापनले ५५ जना किसानको फर्जी कागज पेस गरी ३ लाख ६७ हजार रुपैयाँ अनुदान ल्याएको छ । उसले ३६.७ हेक्टरमा चैतेधान खेती गरेको कागजात पेस गरेको छ ।


‘हजुरआमा (मनमाया न्यौपाने) को ०७१ साल पुसमै निधन भएको हो । उहाँको नाममा फर्जी कागजपत्र पेस गरेर कनकाई विपद् कृषक समूहले अनुदान बुझेको देखियो,’ नाति श्याम न्यौपानेले भने । मनमायाको निधनअघि उनका एक्लो छोरा नीलप्रसादको ०६१ सालमा निधन भएको थियो । ०७१ मा मनमायाको निधनपछि नातिहरू राम र श्याम न्यौपानेको नाममा जमिन भागबन्डा भएको थियो । ‘हामी दुवै दाजुभाइले चैतेधान लगाएका छैनौं । हजुरआमाको नामबाट अनुदान ल्याएको खुलेपछि अनियमितता यसरी पनि गरिँदो रहेछ भन्ने थाहा पायौं,’ श्यामले भने ।


कृषक चन्द्रबहादुर तामाङ र श्रीमती संगीता तामाङको नाम दुइटा कृषक समूहले फर्जी कागज बनाएर अनुदान ल्याएका छन् । ‘अनुदानको नाममा हामीले एक पैसा पाएका छैनौं,’ चन्द्रबहादुरले भने, ‘मेरो नामबाट माङ्सावा र श्रीमतीको नामबाट तुलाचन कृषक समूहले अनुदान ल्याएर खाएको भेटियो ।’ कृषक समूहले गत आर्थिक वर्षको असारभित्रै अनुदान रकम बुझेको ज्ञान केन्द्रका कृषि अधिकृत शेषराज पौडेलले बताए । ‘अनुदानका लागि छनोटमा परेपछि समूहले कृषकलाई रकम बाँडेर कागजपत्र पेस गरेपछि मात्रै हामीले रकम भुक्तानी गर्ने हो,’ उनले भने, ‘उनीहरूले सबै कागजी प्रक्रिया पूरा गरेकाले हामीले नियमसंगत रूपमा भुक्तानी दिएका हौं । समूहले गरेको बद्मासी अहिले बल्ल थाहा भयो ।’


गौरीगन्ज–२ का वडा सदस्यसमेत रहेका कनकाई विपद् कृषक समूहका सचिव अरुण राजवंशीले गल्ती भएको स्वीकार गरेका छन् । अनुदान रकम भुक्तानीको सिस्टम उल्टो भएकाले गल्ती हुन गएको उनले दाबी गरे । ‘अनुदान नै नल्याई कसरी कृषकलाई रकम बाँड्नु ? रकम बाँडेको कागज नदेखाई ज्ञान केन्द्रले भुक्तानी नदिने भएकाले फर्जी कागज बनाउनुपरेको हो,’ उनले भने ।


माङ्सावा कृषक समूहका अध्यक्ष किरण लिम्बुले अनियमितताबारे आफू अनभिज्ञ रहेको दाबी गरे । स्थानीय किना राजवंशीको सल्लाहअनुसार आफूले नयाँ समूह बनाएको उनले बताए । ‘मलाई यो विषयमा केही थाहा थिएन । किना राजवंशीले एउटा समूह बनाएर कृषकको धनीपुर्जा मलाई ल्याइदिनु भनेकाले मैले समूह बनाएर मेरो परिवारका ७ जनाको जग्गा धनीपुर्जा किनालाई लगिदिएको हुँ,’ उनले भने, ‘बाँकी सबै काम उनैले गरेका हुन् । पैसा पनि उनैले ल्याएका हुन् ।’


गौरीगन्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले कृषक समूहहरूले अनुदानको रकम अनियमितता गरेकाले कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने बताए । ‘किसानको स्वीकृतिबिना कागजपत्र बनाइएका छन् । किसानको नाममा पैसा ल्याएर आफैंले राखेका छन्,’ उनले भने, ‘यो गल्ती हो । गल्ती गरेको सजाय सबैले भोग्नुपर्छ ।’ अनुदान रकममा अनियमितता गरेका कृषक समूह र त्यसका पदाधिकारीहरूलाई कारबाहीको माग गर्दै कोरोबारीका ४२ जना किसानले गाउँपालिकामा लिखित उजुरी दिएका छन् ।


किसानको उजुरीका आधारमा गाउँपालिकाले तुलाचन, माङ्सावा र कनकाई विपद् कृषक समूहलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा सिफारिस गरेको छ । किसानका लागि प्राप्त अनुदान रकम फर्जी कागजात र हस्ताक्षर गरी निकासा लिएको, सम्बन्धित कृषकले रकम नपाएको र अनुदान रकम दुरुपयोग गरेको भन्दै कारबाही गर्न गाउँपालिकाले अख्तियारलाई लिखित पत्र पठाएको हो ।

प्रकाशित : श्रावण ३२, २०७६ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?