१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कालिकोटको स्याउ गोरखामा परीक्षण

हरिराम उप्रेती

गोरखा — हिमालय मावि बारपाक परिसरमा २ साताअघि ६३ वटा स्याउको बिरुवा रोपियो । कर्णाली जडीबुटी तथा फलफूल संकलन तथा बिक्री केन्द्र नामक संस्थाको समन्वयमा सेलिङ जातको बिरुवा विद्यालयले कालिकोटबाट ल्याइएको हो । 

परीक्षणका लागि बिरुवा रोपिएको विद्यालयका प्रध्यानाध्यापक जनीबहादुर घलेले बताए । ‘अहिले पात पलाउन थालेको छ,’ उनले भने, ‘राम्रो भए बाँझिएको जमिनमा स्याउ खेती थाल्छौँ ।’


बारपाक सुलिकोट गाउँपालिकाले बगैंचा व्यवस्थापनअन्तर्गत उपलब्ध गराएको १० हजारमा विद्यालयले आन्तरिक स्रोतको रकम थपेर बिरुवा खरिद गरेको हो । ‘संस्थाले रेखदेख र बिरुवा मरे अर्को सापटी दिन्छु भनेको छ,’ उनले भने, ‘एक हजार देखि दुइ हजार मिटर उचाइमा हुने स्याउ लगाएका हौँ ।’ परीक्षणका रूपमा केही गाउँलेले पनि बिरुवा रोपेको उनले बताए । ‘२०–३० बिरुवा गाउँमा पनि रोपिएको छ,’ उनले भने । प्रतिबिरुवा ५ सयका दरले खरिद गरिएको थियो ।


पछिल्लो समय जिल्लाको उत्तरी क्षेत्रबासीले परीक्षणको रूपमा स्याउ रोप्न थालेका छन् । परीक्षण सफल भए व्यावसायिक रूपमै खेती विस्तार गर्ने धार्चे गाउँपालिका–७ लापुका उज्वल गुरुङले बताए । ‘स्याउ खेतीका लागी हावापानी सुहाउँदो छ भनिएको छ,’ उनले भने, ‘गत चैतमा सय बोटबिरुवा लगाएको तीन महिनामै फल दिन थाल्यो, अब अर्को वर्ष पनि हेर्छौं, उत्पादन राम्रो भए क्षेत्र विस्तार गर्छौं ।’


प्रदेश सरकारले उपलब्ध गराएको बिरुवा लापुस्थित नुकुमचेतका ५ युवाले सामूहिक रूपमा लगाएर खेतीको परीक्षण गरेका छन् । ‘चैतमा लगाएको बोटमा तीन महिनापछि दाना धेरै लागेको थियो, भाँचिएला भन्ने डरले केही दाना टिपेर फाल्यौं,’ उनले भने, ‘अहिल्यै एउटा बोटमा दुईदेखि तीनवटासम्म दाना छन् ।’ प्रारम्भिक परीक्षणमा स्याउ खेती राम्रै हुने देखिएको उनको बुझाइ छ ।


गत आवमा गण्डकी प्रदेशले धार्चेमा इटलीबाट ल्याइएको १४ सय स्याउका बिरुवा वितरण गरेको थियो । ७ वटा वडा रहेको धार्चेको प्रत्येक वडामा दुई–दुई सयका दरले परीक्षणका रूपमा बिरुवा लगाइएको थियो । ३ महिनामै दाना लागेपछि स्थानीय हौसिएका छन् ।


‘परीक्षणका रूपमा वितरण भएको स्याउ राम्रै छ, दाना पनि लागेको छ,’ गाउपालिका अध्यक्ष सन्तोष गुरुङले भने, ‘केही ठाउँमा स्याहार पुगेन कि जस्तो लाग्छ, व्यावसायिकताका लागि स्याउ खेतीका लागि पर्याप्त तालिम भने दिनुपर्छ ।’ फाट्टफुट्टबाहेक धेरैजसो किसानले लगाएको बिरुवा राम्रै रहेको स्थानीय बताउँछन् ।


गण्डकी प्रदेशले यस वर्ष उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकामा १० हजार स्याउका बिरुवा वितरणको कार्यक्रम ल्याएको छ । इटलीबाट बिरुवा ल्याएर वितरण गरिने प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बताए ।


‘गत वर्ष पनि धार्चेमा परीक्षणका रूपमा स्याउका बिरुवा वितरण भएको थियो, त्यो स्याउ फलिसेकेको छ, गुणस्तर हेर्न बाँकी छ,’ उनले भने, ‘हावापानीको हिसाबले स्याउ खेतीका लागि उपयुक्त छ ।’ यस वर्ष भने व्यावसायिक परीक्षणको रूपमा स्याउ खेती विस्तारको योजना रहेको उनले सुनाए ।

प्रकाशित : भाद्र १, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?