२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आलु खेतीले स्वदेशमै कमाइ

डडेलधुरामा १२ सयभन्दा बढी युवाले आलु खेतीबाट लोभलाग्दो कमाइ गरेका छन् । गाउँगाउँमा आलु खेती गर्न होडबाजी नै चलेको छ 
डीआर पन्त

डडेलधुरा — ओमानको थ्रिलेक्स कम्पनीमा दैनिक १२ घण्टा काम गरेर महिनाको ४० हजार रुपैयाँ कमाउने अमरगढी नगरपालिका २ का रोशन ऐरले अहिले ७ रोपनी जग्गामा आलु खेती गरी वर्षमै १४ लाख रुपैयाँ कमाएका छन् । 

आलु खेतीले स्वदेशमै कमाइ

घर फिर्दा ऐरले ७ लाख रुपैयाँ ल्याएका थिए । ‘त्यो रकम आलु खेतीमा लगाए । ३ वर्ष मजदुरी गरेर कमाएको रकमभन्दा एकै वर्षमा धेरै कमाए,’ उनले भने, ‘विदेशमा बिताएको समयलाई फर्केर हेर्दा अहिले पछुतो लाग्छ ।’

भागेश्वर गाउँपालिका ४ का प्रमोद जैसीले पनि ४ वर्ष कतारको गर्मीमा पसिना बगाए ।


त्यहाँ दैनिक ८ घण्टा मजदुरी गर्थे । कमाएको रकमले गाउँमै बाँझो जमिन भाडामा लिएर उनले पनि आलु खेती सुरु गरे । दुई वर्षदेखि आलु खेती गरिरहेका जैसीले पनि पत्याउनै नसकिने गरी प्रगति गरेका छन् । ‘कतारमा ४ वर्षको कमाइभन्दा हिउँदे सिजनमा आलु खेती गरेर बढी कमाएँ,’ जैसीले भने, ‘आलुको बीउ उत्पादनमा दुई लाख लगानी गरेर एकै सिजनमा ८ लाख मुनाफा भयो ।’


विदेशवाट फर्किएका यी दुई मात्र होइन, पछिल्लो समय डडेलधुरामा १२ सयभन्दा बढी युवाले आलु खेतीबाट लोभलाग्दो कमाइ गरेका छन् । गाउँगाउँमा आलु खेती गर्न युवाबीच होडबाजी नै चलेको छ । उनीहरूको जीवनशैलीमा परिवर्तन आएको छ ।


अन्य तरकारी खेती भन्दा कम परिश्रम र लगानी लाग्ने, वन्यजन्तुबाट जोगाउन सहज हुने र जुनसुकै सिजनमा पनि सहज रूपमा बजार पाउने भएपछि आलु खेतीतर्फ युवाको आकर्षण बढेको हो ।


‘आलु खेतीबाट हुने मनग्य आम्दानी देखेर बिदेसिने युवाहरूमा निकै कमी आएको छ,’ विदेशमा रोजगारी गरेर फर्केका युवाबारे अध्ययन गरिरहेको ग्राम्य विकास तथा अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता खेम उपाध्यायले भने, ‘विदेशबाट फर्केका युवाले रोजगारीका लागि विदेश जान चाहनेलाई पनि आलु खेतीमा आकर्षित गरिरहेको देखिएको छ ।’


हरेक घरका भान्सामा नभई नहुने आलुको बजार सहज भएकाले पनि धेरैको रोजाइमा आलु खेती परेको उनको भनाइ छ । विभिन्न स्थानीय तहले पनि यस्ता कृषकहरूलाई सहज रूपमा अनुदान दिन थालेपछि युवाको पहिलो रोजाइ आलु खेती हुन थालेको पनि उनले बताए । युवाहरू उत्पादनशील क्षेत्रमा लाग्न थालेपछि स्थानीय तहले पनि विशेष कार्यक्रम बनाएर यस्ता कृषकलाई अनुदान दिने, प्राविधिक सहयोग गर्ने र बजार व्यवस्थापनमा सहजीकरण गर्न थालेको छ ।


भागेश्वर गाउँपालिका प्रमुख कौशीला भट्टले भनिन्, ‘आलु उत्पादन मात्र होइन अन्य व्यावसायिक रूपमा तरकारी खेतीमा लाग्ने युवालाई प्रोत्साहन गर्न गाउंँपालिकाले विशेष कार्यक्रम बनाएको छ ।’


सम्भावना भएको क्षेत्रमा आलु खेती, तरकारी खेती, फलफूल खेती र फलफूलका बोट बिरुवा उत्पादनमा लागेका युवालाई गाउँंपालिकाले प्राविधिक सहयोग मात्र नभई आर्थिक सहयोग गर्नसमेत कार्यक्रम लागू गरेको उनले बताइन् । प्रमुख भट्टले भनिन्, ‘रोजगारीका लागि बिदेसिने युवालाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्न नीति तथा कार्यक्रममै व्यवस्था गरेर गाउंँपालिकाले कार्यक्रम सञ्चालन गरिरहेको हो ।’


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु सुपरजोन कार्यक्रमले पनि यस्ता कृषकलाई प्राविधिक सहयोगसँगै बर्सेनि प्रोत्साहन भत्तासमेत उपलब्ध गराउन थालेको छ । आलु सुपर जोन कार्यक्रमबाट गत आर्थिक वर्षमा १ हजार ५ सय ९५ जना आलु खेती गर्ने युवालाई प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत १४ लाख रुपैयाँ वितरण गरिएको छ ।


हिउँंदे आलु खेती गर्ने ६०६ जनालाई ४ लाख ८५ हजार र बर्खे आलु खेती गर्ने ९८९ जनालाई ९ लाख १४ हजार रुपैयाँ वितरण गरेको आलु सुपर जोन कार्यक्रम डडेल्धुराका प्रमुख खेमराज जोशीले जानकारी दिए । आलु सुपरजोन कार्यक्रमअन्तर्गत मात्र डडेल्धुरामा ९९.३ हेक्टर क्षेत्रफलमा हिउँदमा आलु खेती हुने गरेको छ भने १३०.७ हेक्टर क्षेत्रफलमा वर्षातको सिजनमा आलु खेती हुने गरेको छ ।


सुपरजोन कार्यक्रमबाहेक कृषि ज्ञान केन्द्र, स्थानीय तहका कृषि शाखा, कृषिमा कार्यरत विभिन्न गैससको प्रत्यक्ष सहयोगमा डडेलधुरा जिल्लामा झन्डै ८ सय हेक्टर क्षेत्रफलमा पछिल्लो समय आलु खेती भइरहेको छ ।


अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका, भागेश्वर गाउँपालिका, परशुराम नगरपालिका र अजयमेरु गाउँपालिकामा १६ सय बढी युवा आलु खेतीमा संलग्न छन् । डडेलधुराको भात्काँडामा रहेको शीत भण्डारमा मात्र हिउँदे सिजनमा ३ करोड बढीको आलु भण्डारण गरिएको छ ।

प्रकाशित : भाद्र १, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?