कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

किन घट्यो टेलिकमको नाफा ?

विजय तिमल्सिना

काठमाडौँ — नेपालको टेलिकमको नाफा गर्त वर्ष ४२ प्रतिशतभन्दा कम भएको छ । आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ४९ करोड नाफा कमाएको सरकारी स्वामित्वको कम्पनीले गत वर्ष भने १० अर्ब २० करोड मात्रै खुद नाफा कमायो ।

किन घट्यो टेलिकमको नाफा ?

टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी टेलिकमको खुद नाफा अघिल्लो वर्ष घट्नुमा दुई कारण जिम्मेवार भएको बताउँछन् । ‘गत वर्ष हामीले ४ अर्ब नवीकरण शुल्कबापत सरकारलाई बुझायौं,’ उनले भने, ‘ठूलो रकम नवीकरण शीर्षकमा तिरेपछि नाफा कम भएको हो ।’ उनका अनुसार गत वर्षको बजेटमार्फत सरकारले कर्पोरेट कर ५ प्रतिशतले वृद्धि गरेपछि पनि नाफामा असर गरेको हो ।


‘कर्पोरेट कर २५ बाट ३० प्रतिशत पुगेपछि करमा हाम्रो १ अर्ब रकम बढी तिर्‍यौं,’ उनले भने, ‘खुद नाफा कम देखिनुमा योबाहेक अन्तर्राष्ट्रिय कलको दर घट्नु पनि हो ।’ टेलिकमले आफ्नो आर्थिक प्रतिवेदनमा नेपालबाट विदेश काम गर्न जाने संख्यामा आएको कमीलाई पनि चुनौतीका रूपमा उल्लेख गरेको छ ।


विदेशमा बस्ने नेपालीले गर्ने कल पनि टेलिकमको आम्दानीका ठूलो हिस्सा रहँदै आएको छ । नेपालका टेलिकम सेवा प्रदायकहरूले करिब ३० प्रतिशत आम्दानी नेपालबाहिर हुने कलको माध्यमबाट कमाउँदै आएका छन् ।


इन्टरनेटको विस्तारसँगै उपभोक्ताले भाइबर, ह्वाट्सएप, म्यासेन्जरजस्ता एपबाट कुराकानी गर्ने क्रम बढेपछि टेलिकमले यस्ता आम्दानी गुमाउँदै जान थालेका छन् ।


पछिल्लो समय टेलिकम कम्पनीहरूले डाटाको बिक्रीमार्फत गर्ने आम्दानी भने बढ्दो छ । नेपाल टेलिकमलको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनका अनुसार कम्पनीले उक्त वर्ष डाटा सेवातर्फ ७ अर्ब ६० करोड आम्दानी गरेको थियो । उक्त वर्ष इन्टरनेट सेवातर्फको ग्राहक करिब ३० प्रतिशतले बढेको टेलिकमको तथ्यांक छ ।


टेलिकमका प्रबन्ध निर्देशक अधिकारी पनि कम्पनीको ल्यान्डलाइन र सीडीएमजस्ता प्रविधिबाट गर्ने आम्दानी घट्दै गएको बताउँछन् । ‘यी प्रविधिबाट घटेका आम्दानी एफटीटीएचजस्ता नयाँ खालका सेवाबाट परिपूर्ति गर्ने हाम्रो उद्देश्य छ,’ उनी भन्छन्, ‘फोरजीको देशैभर विस्तारबाट पनि हाम्रो डाटातर्फको आम्दानी बढ्नेछ ।’


टेलिकमले देशैभर फोजी विस्तारका लागि टेन्डर सम्झौता गरिसकेको छ । गत वर्ष टेलिकमको नाफा मात्रै नभई आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षमा टेलिकमले कुल ४३ अर्ब ४८ करोड आम्दानी गरेको थियो । यसअघि टेलिकमको आम्दानी ४५ अर्ब २६ लाख थियो । टेलिकमको कुल आम्दानी घट्नुका साथै सेवाबाट प्राप्त हुने आम्दानी पनि घट्दो अवस्थामा छ ।


गत वर्ष टेलिकमले सेवा बेचेर मात्रै ३६ अर्ब ७८ करोड आम्दानी गरेको थियो । जुन त्यसभन्दा अघिल्लो वर्षको भन्दा सवा २ अर्बले कम हो । टेलिकमले आर्थिक वर्ष २०७४/७५ मा सेवाबापत ३९ अर्ब आम्दानी गरेको थियो । अघिल्लो वर्षको आम्दानी तीन वर्षयताकै न्यून हो । टेलिकमले गत आर्थिक वर्षमा आफ्नो नवीकरण शुल्कबापत सरकारलाई ४ अर्ब २ करोड रुपैयाँ बुझाएको छ ।


सरकारले टेलिकमलाई नवीकरण शुल्कबापतको २० अर्ब ५ किस्तामा तिर्न सुविधा दिएको छ । टेलिकमले सरकारलाई दुईपटकको नवीकरण शुल्क तिर्न बाँकी छ । यसअघि नवीकरण शुल्क निर्धारण नहुँदा टेलिकमले करिब १९ करोड रुपैयाँ मात्रै बुझाएर अनुमति पत्र नवीकरण गरेको थियो ।


टेलिकमको मोबाइल सेवातर्फ मात्रै २ करोड प्रयोगकर्ता रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । मोबाइलबाहेक टेलिकमका ल्यान्डलाइन, भिस्याट, सीडीएमतर्फ पनि ग्राहक छन् । सबै सेवा गरी टेलिकमको ग्राहक आधार २ करोड २४ लाखभन्दा बढी छ ।

प्रकाशित : भाद्र १, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?