१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

टावर बनाउन आलटाल

ठेकेदार र टेलिकमबीच एक वर्षमै कार्य सम्पन्न गर्ने दुई वर्षअघि सम्झौता भए पनि रतनकोट, गडी, रातापटान, लाँताचुली, चिउँदुवा, भैरीलेकमा निर्माणाधीन टावर अलपत्र 
भीमबहादुर सिंह

जाजरकोट — ठेक्का सम्झौता भएको तीन वर्ष बित्दासमेत टावर निर्माण नहुँदा अधिकांश गाउँमा टेलिफोन समस्या छ । ठेकेदार कम्पनी भने टावर निर्माणमा आलटाल गरिरहेको छ । ठेकेदारकै लापरबाहीले जिल्लाका ७ स्थानमा निर्माणाधीन टेलिफोन टावर अलपत्र छन् । 

टावर बनाउन आलटाल

टावर निर्माणमा भारतीय कम्पनी एस्टर नेपाल प्रालिले आलटाल गरिरहेको हो । रतनकोट, गडी, रातापटान, लाँताचुली, चिउँदुवा, भैरीलेकलगायत स्थानमा निर्माणाधीन टावर अलपत्र परेका छन् । टावर निर्माणका लागि ठेकेदार कम्पनी र नेपाल टेलिकमबीच एक वर्षमै कार्य सम्पन्न गर्ने गरी दुई वर्षअघि सम्झौता भएको थियो ।


नलगाड नगरपालिका– २ गडी, बारेकोट गाउँपालिका–५ रतनकोट, ९ को लेकचौर, २ को रातापटान, कुशे गाउँपालिका–८, लाँताचुली, शिवालय गाउँपालिका– ५ चिउँदुवा र जुनीचाँदे– २ स्थित भैरीलेकको नमस्ते मोबाइल टावर निर्माणको काम अलपत्र परेको हो । समयमा टावर निर्माण नहुँदा स्थानीय बासिन्दा टेलिफोन सुविधाबाट वञ्चित छन् । कम्पनीले टावर निर्माणमा ढिलासुस्ती गर्दा उपकरणहरू विभिन्न स्थानमा अलपत्र छन ।


टावर निर्माण कार्यमा आलटाल भएपछि कर्णाली प्रदेशका सांसद गणेशप्रसाद सिंहले सम्बन्धित ठेकेदार कम्पनीलाई ३ महिनाको भाखा राखेर लिखित कागज गराएका छन् । एस्टरले ३ महिनाभित्रै सम्पूर्ण टावरको काम पूरा गर्ने गरी लिखित कागज गरेको सांसद सिंहले बताए । तीन महिनाभित्रै काम सम्पन्न गर्न नसके ठेक्का सम्झौता तोड्ने लिखित सहमतिसमेत भएको सिंहको भनाइ छ ।


नेपाल टेलिकमको वारलेस सेवा निगमको केन्द्रीय कार्यालयमा साताअघि निगमका निर्देशक सरोजमान सिंह प्रधान, प्रबन्धक मिनु प्रधान, संगीता पहाडीलगायतको रोहबरमा एस्टरका व्यवस्थापक भोजराज बडु र दुर्गेश झालाई लिखित कागज गराएको सिंहले जनाए ।


टेलिकमले समयमा टावर र बीटीएसहरूको निर्माण, मर्मत तथा सम्भार गर्ने, क्षमता विस्तार गर्ने, पावर अपडेट गर्ने, लाइन सुधार गर्नेलगायत काम नगर्दा फोन तथा इन्टरनेटको भरपर्दो सुविधा पाउन नसकिएको स्थानीय कालीबहादुर सिंहले बताए ।


टेलिफोन र इन्टरनेटकै कारण गाउँपालिका र नगरपालिकाले तोकेको केन्द्रबाट सरकारी सेवासमेत प्रवाह गर्न पनि समस्या छ । सदरमुकाम खलंगामा भरपर्दो टावर निर्माण नहुँदा समस्या भएको उनले जनाए । कुशे, जुनीचाँदे र बारेकोट गाउँपालिकाका स्थानीयलाई टेलिफोनमा कुराकानी गर्न २ घण्टासम्म उकालो चढेर डाँडामा पुग्नुपर्ने बाध्यता भएको सिंहले सुनाए । टावरका सौर्य ब्याट्रीलगायत उपकरण मर्मत नहुँदा थप समस्या भएको हो ।


एस्टर नेपाल प्रालिले टावर निर्माणमा लापरबाही गरेको नेपाल टेलिकम, मध्यपश्चिम क्षेत्रीय निर्देशनालय नेपालगन्जका प्राविधिक प्रमुख शिव खनालले बताए । उनका अनुसार जिल्लाका ७५ प्रतिशत स्थानीय बासिन्दा नेपाल टेलिकमको टेलिफोन सेवाको पहुँच बाहिर रहेका छन् ।


कतिपय सेवाग्राही महँगो शुल्क तिरेर एनसेल मोबाइल प्रयोग गर्न बाध्य भएको उनको भनाइ छ । जिल्लाका बाटुले, छेडा, चाल्ना, लाता, जिन्ताला, पाँचकाटिया, सक्ला, काप्ती, घाट, दह, गर्खाकोट, मनघाट, मोर्कबजार, चौखाबजार, बानियागाउँ, स्यानाखोलालगायत दर्जनौं गहिरो स्थानका गाउँमा नेपाल टेलिकम मोबाइल फोन सेवाको पहुँच पुग्न सकेको छैन । दुर्गम गाउँमा रहेका स्काई मोबाइल टावरमा घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नेटवर्क नआउने समस्याले स्थानीय आजित छन् ।


टेलिफोन र इन्टरनेटकै कारण दुर्गमका सेवाग्राहीले सरकारी सेवा लिन सास्ती ब्यहोर्नुपरेको छ । टेलिफोनको नेटवर्क कमजोर हुँदा समस्या भएको नेपाल टेलिकम, जाजरकोट कार्यालयका निमित्त प्रमुख लोकेन्द्र भण्डारीले बताए । ‘त्यसैमा रातामाटा टावर लिंकमा बारम्बार डिस्टर्ब आई विच्छेद हुँदा थप समस्या छ,’ उनले भने, ‘टावर मर्मतमा पनि ढिलाइ हुँदा उपभोक्तालाई थप सास्ती भएको हो ।’ टावर क्षमताभन्दा मोबाइलकर्ताको संख्या बढी हुँदा पनि नेटवर्कको समस्या भएको उनी बताउँछन् । ‘विद्युत् समस्याका कारण पनि नेटवर्क नआउने समस्या उपभोक्ताले भोगिरहेका छन्,’ भण्डारीले भने ।


टेलिकमका अनुसार खलंगा बजारमा रहेको रानागाउँ र काजीबाडा टावर क्षेत्रमा सौर्य ऊर्जा राख्ने ठाउँ नहुँदा नियमित पावरको व्यवस्था हुन सकेको छैन । ‘बिजुली आए टावर चल्छ नत्र नेटवर्क जान्छ,’ भण्डारीले भने, ‘१२/१३ मिटर उचाइको टावरको क्षमता एक मिनेटमा १ हजारलाई डाइलिङ र १ हजारलाई रिसिभिङ गर्ने हुन्छ तर उपभोक्ता बढी हुँदा पनि समस्या भइरहेको छ ।’


पर्याप्त जनशक्ति नहुँदा टावर बिग्रेमा सुर्खेत तथा नेपालगन्जबाट प्राविधिक बोलाएर समस्या समाधान गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । ३५ मिटर उचाइको टावर निर्माण गर्नसके खलंगा आसपासका सबै स्थानमा नेटवर्क पहुँच हुने भण्डारीले जानकारी दिए ।


मोबाइल र टेलिफोन नेटवर्क गतिलो नहुँदा विपत व्यवस्थापनलगायत सरकारी सेवा प्रवाहमा समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । सम्बन्धित निकायमा पटकपटक आग्रह गर्दासमेत सुनुवाइ नभएको प्रजिअ बस्नेतको भनाइ छ ।

प्रकाशित : भाद्र २, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?