२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सुदूरपश्चिमलाई दूध अपुग

भवानी भट्ट

कञ्चनपुर — हिउँदमा दूध खपत कम हुन्छ, उत्पादन धेरै । हिउँदको तुलनामा यो सिजनमा भने दूध उत्पादन आधा घट्ने गरेको छ । धनगढीस्थित दुग्ध विकास संस्थानका अनुसार अहिले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरबाट करिब २ हजार लिटर हाराहारीमा दूध संकलन भइरहेको छ ।

सुदूरपश्चिमलाई दूध अपुग

संस्थानमा मात्रै दैनिक ३ हजार लिटर दूधको माग छ । अहिलेको उत्पादनले सुदूरपश्चिमलाई समेत दूध अपुग छ ।


संस्थानका प्रमुख कृष्ण अर्यालका अनुसार अहिले कैलाली र कञ्चनपुरसँगै डडेलधुराबाट समेत दूध संकलन भइरहेको छ । ‘हामीलाई सुदूरपश्चिमकै लागि मात्र ३ हजार लिटर दूध आवश्यक पर्छ,’ अर्यालले भने, ‘अहिले २ हजार लिटर मात्रै संकलन भइरहेको छ ।’ उनका अनुसार कैलाली र कञ्चनपुरमा ठूला डेरी स्थापना भएका छन् । ती डेरीले पनि पर्याप्त मात्रामा दूध पाउन सकेका छैनन् ।


‘हिउँदमा करिब ७ हजार लिटर दूध संकलन हुन्छ, यहाँ खपत हुनेबाहेकको दूध बुटवल र काठमाडौंतर्फ पठाइने गरेको छ,’ अर्यालले भने । हिउँदमा दूध बिक्री नहुँदा गत वर्ष कञ्चनपुरका कृषकहरूले सडकमै पोखेका थिए । कञ्चनपुरमा अहिले पनि दूधको उत्पादन औसत रूपमा जिल्लालाई पुग्ने गरी भइरहेको छ । समग्र सुदूरपश्चिमको उत्पादन भने न्यून छ ।


‘अब सुदूरपश्चिममा दूधको उत्पादन बढ्ने बेला सुरु भयो,’ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुदूरपश्चिमका निर्देशक मदनसिंह धामीले भने, ‘भैंसी ब्याउने सिजन पनि साउन–भदौ नै भएकाले यही बेलादेखि दूधको उत्पादन वृद्धि हुने गरेको हो ।’ बाह्रै महिना दूधको उत्पादन एकनाशको बनाइराख्न सुक्खा याममा पनि भैंसी ब्याउने प्रविधिको विकास गरिनुपर्ने र बाह्रै महिना हरियो घाँस उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।


‘अहिले दैनिक ५ हजार लिटर दूध संकलन भइरहेको छ,’ महेन्द्रनगरमा सञ्चालित पाठक डेरीका सञ्चालक गोपाल पाठकले भने, ‘हिउँदमा योभन्दा अझै बढी संकलन हुन्छ ।’ कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनको पशु प्रजनन विभागले केही वर्षअघि सुक्खायाममा पनि भैंसी ब्याउने बनाउन सकिने प्रविधिको विकास गरेको धामीले बताए । प्राकृतिक रूपमा अधिकांश भैंसी साउन–भदौमा ब्याउने हुने भएकाले यसलाई परिवर्तन गर्न उक्त प्रविधिको खोज गरिएको उनले जानकारी दिए ।


हिउँदमा दूध बढी उत्पादन हुने भएकाले त्यतिबेलाको उत्पादनलाई पाउडरमा परिणत गर्न सकिने धामीले बताए । अभावका बेला त्यही पाउडरलाई पछि प्रयोग गर्न सकिने वा अन्यत्र निर्यात पनि गर्न सकिन्छ ।


निर्देशनालयले अहिले सुदूरपश्चिममा ठूला तथा नमुना भैंसी फार्म निर्माणमा विशेष जोड दिएको छ । यसैगरी ठूला किसिमका डेरी तथा दुग्ध प्रशोधन केन्द्रहरूलाई पनि प्रोत्साहन गरिएको धामीले बताए ।

प्रकाशित : भाद्र २, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?