२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

मानसरोवर जाने यात्रु अलपत्र

रूपा गहतराज

नेपालगन्ज — पाँच दिनअघि मानसरोवर जानका लागि यहाँ आइपुगेका भारतीय पर्यटक शनिबारसम्म नेपालगन्जमै अलपत्र छन् । ३७ जना भारतीय पर्यटक अलपत्र परेका हुन् ।

उनीहरूले प्रतिव्यक्ति १ लाख ७५ हजार भारतीय रुपैयाँ त्यहाँस्थित कक्स किङलाई बुझाएर आए पनि विभिन्न वहानामा एजेन्टले नेपालगन्जमा रोकिरहेको गुनासो गरेका छन् ।


कक्स किङले नेपालस्थित फिस्टेल टुर्स एन्ड ट्राभल्ससँगको समन्वयमा भारतीय पर्यटकलाई मानसरोवर पुर्‍याउने जिम्मा लिएको वेस्ट बंगलाका शम्भुनाथ योगीले बताए । ‘कक्स किङ र फिस्टेलका नेपालगन्जस्थिति प्रतिनिधिले जिम्मेवारीपूर्ण जवाफ दिएनन्,’ योगीले भने, ‘ट्राभल एजेन्टहरूले आफूहरूलाई पर्यटक रोकिनुको कारण थाहा नभएको बताए ।’


पर्यटकहरूले कक्स किङले नेपाली ट्राभल एजेन्सीलाई भुक्तानी नदिएकाले आफूहरूलाई रोकिएको एजेन्टले दाबी गरेको बताए । ‘उनीहरू यसबारे खुलेर बोल्दैनन्,’ योगीले भने, ‘दुई एजेन्सीबीचको विवादमा हामी अलपत्रको स्थितिमा छौं ।’


भारतीय पर्यटकसँगै रहेका कक्स किङका प्रतिनिधि अजय रानाले दुई एजेन्जीबीचको विवादबारे आफूलाई थाहा नभएको बताए । ‘भिसाका कारण ढिलाइ भएको जानकारी कक्स किङबाट पाएको छु,’ उनले भने, ‘अब समस्या छैन, हामी पर्यटकलाई सिमकोट लैजान तयार छौं ।’


फिस्टेलका प्रतिनिधि लाक्पा शेर्पाले भने सिमकोटसम्मको जिम्मा मात्र लिने बताए । ‘पर्यटकलाई सिमकोट पुर्‍याउनु भन्ने फिस्टेलले निर्देश गरेको छ,’ उनले भने, ‘त्यसपछिको जिम्मा मेरो होइन, थप निर्देशन आएमा सोहीबमोजिम गर्नेछु ।’ शेर्पाले कर्मचारी भएकाले यात्रु किन रोकिए र सिमकोटपछि मानसरोवर यात्रा के हुन्छ भन्ने आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।


दुई एजेन्सीका प्रतिनिधिले जिम्मेवारीपूर्वक जवाफ नदिएपछि पर्यटक अप्ठ्यारोमा परेका छन् । अधिकांश ज्येष्ठ नागरिक रहेको उनीहरूको समूहले सिमकोटमा अलपत्र पारिने आशंकामा भारत फर्किने कि जाने भन्ने द्विविधामा रहेको बताए । ‘यहाँबाट भारत फर्किन सक्छौं,’ भारत कराँचीकी डा. करुणा शाहले भनिन्, ‘सिमकोट पुर्‍याएर अलपत्र पारिए फर्किन नै समस्या हुन्छ । त्यसैले जाने/नजानेबारे निर्णय लिन सकेका छैनौं ।’


नेपालगन्जस्थित एक होटलमा राखिएका ३७ जनाको टोलीलाई शनिबार बिहानै सिमकोट लैजाने भन्दै विमानस्थल पुर्‍याइएको आचार्य सत्याश्रयानन्दले बताए । ‘यहाँ आएपछि टिकटको भुक्तानी नै नभएको भन्दै बोर्डिङ पास दिइएन,’ उनले भने ।

प्रकाशित : भाद्र २, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?