कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

आयोजकलाई भारत र अस्ट्रेलियाको चिन्ता

एएफपी

लन्डन — इंग्ल्यान्ड बिहीबार सुरु हुने विश्वकप क्रिकेटको उपाधिका लागि बलियो दाबेदार हुनेछ । उसलाई चिन्ता छ, विराट कोहली नेतृत्वको भारत र सफलताका लागि भोको अस्ट्रेलियाले पेस गर्ने चुनौतीबारे ।

आयोजकलाई भारत र अस्ट्रेलियाको चिन्ता

आयोजक इंग्ल्यान्डले अहिलेसम्म एकदिवसीय विश्वकप जित्न सकेको छैन । सन् १९९२ सम्म तीनपल्ट फाइनल खेलेर पनि सबै अवसरमा इंग्ल्यान्ड उपविजेतमै सीमित रहनुपरेको छ । तर धेरैको अनुमान छ, इंग्ल्यान्डको पीडादायी ४५ वर्षको पखाई यसपल्ट अन्त्य हुनसक्छ ।

सेतो बलमा कडा प्रहार गर्न माहिर विशेषज्ञ खेलाडीको वर्चस्व रहेको इंग्ल्यान्ड ५० ओभरको एकदिवसीय क्रिकेटको शीर्ष वरीयताप्राप्त टिम हो । कोहलीको टिममा पनि स्टार खेलाडीको कुनै कमी छैन । यो टिमसँग भर्खर आईपीएल खेलेको बाक्लो अनुभव छ । सन् २०१५ मा पाँचौंपल्ट विश्वकप जितेको अस्ट्रेलिया भने आफ्ना दुई स्टार खेलाडी स्टिभ स्मिथ र डेविड वार्नरको पुनरागमनबाट उत्साही छ । बल टेम्परिङ काण्डमा फसेर एक वर्षको प्रतिबन्धपछि उनीहरू टिममा फर्केका हुन् ।

कुल १० टिमको सहभागिता रहेको प्रतियोगितामा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले पनि उत्साहजनक प्रदर्शनको आस राख्नेछन् । सहभागी सबै टिमले सुरुमा एकअर्काविरुद्ध खेल्नेछ । लिग चरण समाप्तिमा शीर्ष चारमा रहने टिमले सेमिफाइनल यात्रा तय गर्नेछ । पूर्व विजेता पाकिस्तानलाई पनि कसैले पनि कम आँकेका छैनन् । सम्भवतः क्रिस गेलले अन्तिमपल्ट एकदिवसीय क्रिकेट खेल्ने छन् । उनको वेस्ट इन्डिज पनि कमजोर साबित हुनेछैन ।

वेस्ट इन्डिजलाई पनि सन् १९७९ यता पहिलोपल्ट विश्वकप जित्ने लोभ हुनेछ । मे ३० देखि जुलाई १४ सम्म चल्ने प्रतियोगितामा आधुनिक क्रिकेटको प्रवृत्तिअनुसार रनको बाढी लाग्नेछ, बलरका लागि यो विश्वकप पीडादायी हुन सक्नेछ । तर यिनै बलर आखिरमा जितका लागि निर्णायक हुनसक्ने अनुमान छ, इंग्लिस मौसम र परिस्थितिमा । शीर्ष वरीयताको इंग्ल्यान्ड भने निर्विकल्प रूपमा उपाधिका लागि सबैभन्दा बलियो प्रत्याशी रहनेछ ।

सन् २०१७ को च्याम्पियन्स ट्रफीमा पनि इंग्ल्यान्डबाट यस्तै आस गरिएको थियो, आफ्नै भूमिमा । तर सेमिफाइनलमा इंग्ल्यान्ड पाकिस्तानको हातबाट पराजित रह्यो । इंग्ल्यान्डका कप्तान इयान मोर्गनले आफ्ना खेलाडीलाई दबाबमा रमाउन र टिममाथि रहेको अपेक्षाप्रति न्याय गर्न भनेका छन् । ‘पहिलो खेललाई लिएर सबै उत्साही छन् । विश्वकपको पहिलो खेल सजिलो हुन्न । म सबै खेलाडीलाई यसमा रम्न अनुरोध गर्छु,’ मोर्गनको भनाइ छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको सन् २०१५ को विश्वकपमा इंग्ल्यान्ड लिग चरणबाटै बाहिरिएको थियो । त्यसयता सेतो बलमा आक्रामक ब्याटिङ गर्न माहिर खेलाडीले इंग्ल्यान्डलाई बलियो बनाएका छन् । विशेषत जोनी बेरिस्टो र जोस बटलरजस्ता खेलाडीले । यसपालिको विश्वकपमा इंग्ल्यान्डले पहिलोपल्ट ५ सय रनको लक्ष्य पार गर्ने अनुमान छ । गत वर्ष मात्र इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्ध ६ विकेटमा कीर्तिमान ४ सय ८१ रन बनाएको थियो ।

बार्वाडोसमा जन्मेर इंग्ल्यान्डका लागि भर्खरै खेल्न योग्य भएका जोफ्रा आर्चरको आगमनले पनि टिमको बलिङ धारिलो बनेको छ । सन् १९८३ को विश्वकप फाइनलमा कपिल देवको भारतले अविश्वसनीय रूपमा वेस्ट इन्डिजलाई हराएर उपाधि जितेको थियो । कोहली अहिले यस्तै जादुयी नेतृत्व गर्नसक्ने कप्तान रहेको छ भारतसँग । स्मिथ र वार्नरको प्रतिबन्ध र त्यससँग जोडिएको काण्डका कारण अस्ट्रेलियाको उद्देश्य हुनेछ, मैदानकै खेलबाट चर्चा बटुल्ने ।

प्रकाशित : जेष्ठ १६, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?