१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

इंग्ल्यान्डको विजयी सुरुआत

एएफपी

लन्डन — इंग्ल्यान्डले २०१९ को विश्वकपमा विजयी सुरुआत गरेको छ । आयोजक इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्‍यो । ३ सय १२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका ४० औं ओभरमा २ सय ७ रनमै अलआउट भयो । 

इंग्ल्यान्डको विजयी सुरुआत

ओपनर क्विन्टन डी ककले दक्षिण अफ्रिकाबाट सर्वाधिक ६८ रन बनाए । ७४ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर हामिस अमला घाइते हुनु दक्षिण अफ्रिकालाई दूर्भाग्य बन्यो । जेफ्री आर्चरको उछाल लिइरहेको बलले उनको कुहिनामा लागेको थियो । पा“चौं विकेट खसेपछि मात्र ब्याटिङमा आएका अमलाले १३ रन बनाए ।


रस्सी भान डेर डुसेनले ५० रन बनाए । ६१ बलको इनिङ्समा उनले ४ चौका र १ छक्का प्रहार गरे । अन्यले खासै गतिलो योगदान दिन सकेनन् । हालैमात्र इंग्ल्यान्डको टोलीमा समेटिएका आर्चरले ३ विकेट लिए । उनले ७ ओभरमा १ मेडन राख्दै २७ रन खर्चे । लिम प्लुनकेट र बेन स्टोक्सले २–२ तथा अदिल रशिद र मोइन अलीले १–१ विकेट लिए ।


यसअघि दक्षिण अफ्रिकाले २०१९ विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डलाई ३११–८ को स्कोरमा रोकेको थियो । पहिलोपल्ट विश्वकप ट्रफी जित्ने दाउमा रहेको इंग्ल्यान्डले सोचेजस्तो स्कोर बनाउन सकेन ।


स्टोक्सले सर्वाधिक ८९ रन बनाए । कप्तान इयान मोर्गनले ५७, जेसन रोयले ५४ र जोए रुटले ५१ रन बनाई इंग्ल्यान्डलाई ३ सय रनभन्दा माथि पुर्‍याए । इंग्ल्यान्डले गत वर्ष ४८१–६ को स्कोर बनाउँदै एकदिवसीय क्रिकेटमा उच्च स्कोरको कीर्तिमान बनाए जस्तो खेल प्रदर्शन गर्न सकेन । दक्षिण अफ्रिकाका बलरहरूले फालेको स्लो बल प्रभावकारी बन्दा इंग्ल्यान्ड ठूलो स्कोरमा पुग्न असफल भयो ।


‘बल मजाले ब्याटमा आइरहेको थिएन,’ इनिङ्स ब्रेकका क्रममा रुटले यो स्विकारेका थिए, ‘हामी पनि अझ रन बनाउन चाहान्थ्यौं । पहिला ब्याटिङ गर्दा अझ ठूलो लक्ष्य दिन सक्नुपर्छ । तर इंग्ल्यान्डमा यो परम्परागत पिच होइन । केही ग्रिप त हुन्थ्यो, बलरलाई भने पिचमा धेरै मौका थियो,’ रुटले भने ।


बेलायती राजकुमार ह्यारीले प्रतियोगिताको समुद्घाटन गरेपछि इंग्ल्यान्डको विकेट जान धेरै समय लागेन । इनिङ्सको दोस्रो बलमै जोनी बेरिस्टो आउट भएपछि रोय र रुटले १ सय ६ रनको साझेदारी गरे । मोर्गन र स्टोक्सले चौथो विकेटमा त्यति नै साझेदारी गरे ।


घाइते तीव्र गतिका बलर डेल स्टेयनबिना खेलिरहेको दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले टस जितेपछि फिल्डिङ गर्ने निर्णयले तुरुन्तै सफलता दिलायो, जब इमरान ताहिरले दोस्रो बलमै बेरिस्टोलाई गोल्डेन डकआउट गरे । प्रायः तीव्र बलरले पहिलो स्पेल लिएर बलिङमा आउने गर्छन् । डु प्लेसिसले प्रतियोगिताका सबैभन्दा पाका खेलाडी ४० वर्षे लेग स्पिनर ताहिरबाट बलिङको सुरुआत गराए । उनको दोस्रो बलमै बेरिस्टोले विकेटकिपर क्विन्टन डी ककलाई क्याच दिन पुगे । पाकिस्तानमा जन्मिएका ताहिरले त्यसको जवाफमा आफ्नो परम्परागत खुसी मनाएका थिए ।


रोय र रुट दुवै उत्कृष्ट लयमा थिए । यस्तो अवस्थामा इंग्ल्यान्ड ठूलो स्कोरतर्फ देखिएको थियो । १०७–१ को स्थितिमा रहेको इंग्ल्यान्डले चार बल अन्तरमा ४ रन बनाउँदा २ विकेट गुमाएको थियो । एन्डिल फेहलुकवायोको बलमा पुल गरेका रोयले मिडअफमा डु प्लेसिस र रुटले कागिसो राबाडाको बलमा ब्याकवार्ड प्वाइन्टमा जेपी डुमिनीलाई क्याच दिन पुगे । ५३ बल खेलेका रोयले ८ चौका र ५९ बल खेलेका राबाडाले ५ चौका प्रहार गरे ।


मोर्गनले तीव्र बलर लुंगी एनगिडीको बलमा लगातार दुई छक्का प्रहार गरेका थिए । तर अर्धशतक पूरा गरेपछि देव्रेहाते मोर्गनले ताहिरको बलमा ड्राइभ गर्दा लङअनमा क्याच दिए । जोस बटलर १८, मोइन अली ३ र क्रिस वोक्स १३ रनमा आउट भए । ४९ औं ओभरमा आउट भएका स्टोक्सले ९ चौका प्रहार गरे ।

प्रकाशित : जेष्ठ १७, २०७६ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?