कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नयाँ स्वादको विश्वकप

हिमेश

कति धेरै फेरिँदै जाने खेल हो यो क्रिकेट  । १० वर्ष अगाडि त्रिकेट जस्तो थियो, अहिले त्यस्तो छैन  । त्यसभन्दा पर पुगेर क्रिकेट कस्तो थियो होला भन्यो भने त्यो त अचम्मै मान्नुपर्ने हुन्छ । कुनै दिन थियो, जति बेला वान डे क्रिकेट भनेपछि सेतो बल र रंगीन जर्सी नै के–के न हो जस्तो गरेर त्यसको महिमा गाइन्थ्यो ।

नयाँ स्वादको विश्वकप

सन् सक्तरीतिर जन्मेको वान डे त्रिकेटले त्यसयता धेरै समय पार गरिसकेको छ र अहिले तत्कालको वान डे क्रिकेट हो, रनको थुप्रो लाग्ने ।


वान डे रह्यो, यो खेलको माइलो भाइ । जेठो त टेस्ट भइहाल्यो । कान्छो भाइ ट्वान्टी–ट्वान्टी क्रिकेटको जबरदस्त प्रभावले यो वास्तवमै धेरै फरक खेल सावित भएको छ । अब ५० ओभरको खेल पटक्कै पहिलो जस्तो रहेन । हिजोदेखि क्रिकेटको जन्मभूमि इंग्ल्यान्डमा वान डे विश्वकप सुरु भएको छ । यसपल्टको विश्वकपले पस्कने खेलको प्रवृत्ति कस्तो हुनेछ त ? प्रत्येक संस्करणको विश्वकपका केही न केही फरक विशेषता रहे । यसपल्टको विश्वकपको विशेषता के हो त ?


यसको सबैभन्दा पहिलो उत्तर हो, यसपल्ट वास्तवमै धेरै रन बन्ने छ । भारतीय कप्तान विराट कोहलीलाई नै डर छ, कतै यो विश्वकपमै पहिलोपल्ट एक इनिङ्समा पाँच सय रन बन्ने त होइन ? त्यसो भनेको दिनको सय ओभरमा हजार जत्तिको रन । अहिले नै एक इनिङ्समा मज्जाले चार सय रन बन्न थालिसकेको छ । आयोजक इंग्ल्यान्ड नै भनौं न, वान डे वरीयताको शीर्ष स्थानमा रहेको टिमले मज्जाले आरामसँग चार सय रन बनाउने टिम भइसकेको छ ।भर्खर–भर्खर ट्वान्टी–ट्वान्टी क्रिकेट सफलता र लोकप्रियताको शिखरमा पुग्दा भन्न सुरु झएको थियो, यो ढाँचाको खेलले एक दिन वान डे क्रिकेटलाई मार्ने छ । त्यति बेला दिइएको कारण हो, वान डे त्रिकेटको ५० ओभरमध्ये बीचमा हुने खेल साह्रै ‘बोरिङ’ हुन थालेको छ । सुरुको केही ओभर रमाइलो, होइन भने पछिको केही ओभर । नत्र बीचका ओभरमा यस्तो खेल हुने गर्छ, जसमा कुनै प्रकारको रोमाञ्चकता हुन्न । त्यसैले एक दिन वान डे क्रिकेट मर्छ ।


अब रमाइलो के भने यसपल्टको विश्वकपमा मज्जा यहीबीचको ३० ओभरमा हुनेछ । सुरुको १० र पछिका १० ओभरको आफ्नै सनसनी होला, तर त्यो सनसनी एक प्रकारले यहीबीचको ३० ओभरमा टिक्नेछ । कुनै बेला साह्रै दोहोरिएर सुनिने शब्द थिए, पिन्च हिटर, स्लग ओभर आदि–आदि । अचेल ती शब्द कमै सुनिन्छन्, अझ भनौं सुन्न पाइन्न । अब खेल जितिने र हारिने भनेको बीचको ओभरमा हो, १० देखि ४० ओभरको बीचमा । केही अगाडिको विश्वकपमा एक पल्ट श्रीलंकाली प्रारम्भिक ब्याटिङ जोडी खुबै चम्केको थियो र ती थिए, सनथ जयसूर्या र रोमेश कालुविथरना । वान डे क्रिकेटमा सुरुआती कायापलट ल्याउने तिनीहरू थिए । तिनीहरू ब्याटिङका लागि मैदानको बीच भागमा के पुग्थे, रन बटुल्न हतार हुन्थ्यो, त्यो पनि आक्रामक तरिकाले । यसरी सुरुमै चौका र छक्का प्रहार गर्ने चलन त्यस अगाडि थिएन । सबैले अचम्म माने र पछि यही शैलीलाई पछ्याए ।


त्यस अगाडि र पछाडि इनिङ्सको अन्त्यतिर खुलेर रन बनाउनुपर्छ भन्ने पनि मान्यता थियो । जुन टिमले सुरु र अन्त्यमा आक्रामक भएर रन बनाउन सक्दैन थिए, त्यो टिमले जित्न सक्दैन भन्ने मान्यता पनि बन्यो । यसपल्टको विश्वकपमा त्यो मान्यताको काम छैन । यस्तो हुनु पछाडि केही खास कारण छन् । क्रिकेट आफैंमा यति धेरै परिवर्तन हुनु पछाडि एउटा प्रमुख कारण यसका नियम पनि त्यही गतिमा परिवर्तन हुनु पनि हो । यसपल्टको विश्वकपमा ११ देखि ४० ओभरको खेलमा ‘इनर सर्कल’ बाहिर खालि चार फिल्डर मात्र बस्न पाउँछन्, जबकि ट्वान्टी–ट्वान्टी क्रिकेटमै पावर प्लेको अवस्थामा बाहेक अरू बेला पाँच खेलाडी बाउन्ड्रीतिर रहन सक्छन् । यस्तोमा यसपल्ट यहीबीचको ओभरमा खुबै रन बन्नेछ । ब्याट्सम्यानले प्रहार गरेको बललाई सुरुमै रोक्न सक्नुपर्छ, होइन भने एकपल्ट ‘इनर सर्कल’ कटेपछि त्यसले छ, होइन भने चार रन दिने सम्भावना धेरै हुन्छ ।


त्यसै पनि वान डे क्रिकेट ब्याट्सम्यानको खेल हो, यसमा जित हार ब्याट्सम्यानकै कारणले हुन्छ । बलरले यो काम गर्न सक्दैन । अब ११ देखि ४० ओभरको खेलमा प्रसस्त रन बन्नेछ र त्यसकै आधारमा टिकेर अन्तिम १० ओभरमा पनि उत्तिकै खुलेर रन बटुल्ने प्रयास हुनेछ । त्यसैले नै भनिएको हो, यसपल्टको विश्वकपमा रनको बाढी लाग्ने अनुमान । अर्को दुई कारणले पनि धेरै रन बन्ने सम्भावनलाई बल दिन्छ र त्यसमध्ये पहिलो कारण हो, एकै इनिङ्समा दुई फरक बल प्रयोग हुने । एक छेउबाट गरिने बल एउटा हुनेछ भने अर्को छेउबाट गरिने बल अर्कै हुनेछ । त्यसैले बल पुरानो हुने सम्भावना कम हुन्छ, यो प्रायः ‘सेप’ मै हुनेछ । अनि यही कारणले बल स्विङ हुने सम्भावना कम छ, रिजर्भ स्विङ त झन् हुने नै छैन । यही सबै कारणले नै भनिएको हो, यसपल्टको विश्वकप जित्ने सबैभन्दा बलियो प्रत्याशी इंग्ल्यान्ड नै हो । एक त उसलाई घरमै खेलेको फाइदा छ, दोस्रो इयोन मोर्गको इंग्ल्यान्डको अहिलेको नयाँ नियमअनुसार खेल्न अभ्यस्त भइसकेको छ ।


विश्वकपको मुखैमा आएर डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र भारतले लय गुमाएको छ । पाकिस्तान र श्रीलंकाबाट त के आस गर्ने ? वेस्ट इन्डिजको त इतिहास मात्रै राम्रो, वर्तमान त धराशायी छ । दक्षिण अफ्रिका र न्युजिल्यान्डजस्ता टिम ठूला प्रतियोगिता भनेपछि कसैले नभने पनि आफैं आत्तिन्छ । अब बंगलादेश र अफगानिस्तानबारे के धेरै आस गर्ने ? भलै इंग्ल्यान्डले अहिलेसम्म वान डे विश्वकप जितेको छैन, तर हुन सक्छ, यसपल्ट उपाधि जित्ने टिम यही हुन सक्छ ।


अब बाँकी रह्यो, नेपाली क्रिकेट प्रशंसकले यो विश्वकपलाई कसरी हेर्ने त ? हाम्रो मात्र होइन, धेरैको गुनासो हो, वान डे विश्वकप भन्ने, तर त्यसमा खेल्ने टिम भने जम्माजन्मी १० मात्रै ? फुटबलको विश्वकप फैलिँदै ढिलो–चाँडो ४८ टिममा फुग्ने क्रममा छ, तर वान डे त्रिकेटको विश्वकप भने झन खुम्चिएर १० टिममा समेटिएको छ । धेरै टिम भएर विश्वकपकै स्तर खस्किएला भन्ने चिन्ता छ, केहीलाई । यसै चिन्तामा टिकेर उनीहरू क्रिकेटलाई आफ्नो खेल मात्र बनाउन चाहन्छन् ।


हाम्रो पनि इच्छा हो, वान डे विश्वकपमा नेपालले पनि खेलोस् । तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र यो खेलका केही शक्तिशाली देशलाई हामी जस्ताको भावनाको मतलब छैन । यो नै यसपल्टको विश्वकपको नराम्रो पक्ष हो, कम्तीमा हाम्रो दृष्टिकोणले । त्यसैले हामी भन्ने छौं, ठूला भनिएका टिमले राम्रो गर्न नसकोस्, बरु तलको वरीयताको टिमले राम्रो गरोस् । धेरैभन्दा धेरै अप्रत्याशित नतिजा निस्कोस् र सकिन्छ भने कुनै नयाँ टिम सनसनीपूर्ण रूपमा विजेता बनोस् । अनि विश्वकप खेल्न टिमको संख्या बनाउन सबै बाध्य होस् ।

twitter : @bjtimalsina

प्रकाशित : जेष्ठ १७, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?