पाकिस्तानको रोमाञ्चक जित

एएफपी

नटिङघम — जो रुट र जोस बटलरको शतक पन्छाउँदै पाकिस्तानले विश्वकप क्रिकेटमा सोमबार आयोजक इंग्ल्यान्डमाथि १४ रनको जित हात पारेको छ । रुटले १ सय ७ र बटलरले १ सय ३ रन बनाए पनि ३ सय ४९ रनको लक्ष्य पाएको इंग्ल्यान्डले ९ विकेट गुमाई ३ सय ३४ रनमात्र बनाउन सक्यो । 

पाकिस्तानको रोमाञ्चक जित

गत महिना ट्रेन्ट ब्रिजमा पाकिस्तान एकदिवसीय क्रिकेटको शीर्षस्थानको इंग्ल्यान्डविरुद्ध ३ सय ४० रन बनाए पनि त्यो रक्षा गर्न असफल रहेको थियो । जारी विश्वकपको पाँचौं दिनमा आएर ब्याट्सम्यानको शतक सम्भव भयो । रुट र बटलरको त्यस प्रयासले पनि इंग्ल्यान्डलाई जित दिलाउन सकेन । पाकिस्तानले लगातार १२ खेलको हार टुंग्याएको छ ।


रुटले १ सय ४ बलको इनिङ्समा १० चौका र १ छक्का प्रहार गरे । बटलरले ७५ बलमै शतक पूरा गरी विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने नवौं खेलाडीमा आफूलाई उभ्याए । त्यसको अर्को बलमा आउट भएका उनले ९ चौका र २ छक्का प्रहार गरे । जोनी बेरिस्टो ३२, क्रिस वोक्स २१ र मोइन अली १९ रनमा आउट भए । पाकिस्तानका वाहब रियाजले ३ तथा सादब खान र मोहम्मद अमिरले २–२ विकेट लिए ।


यसअघि मोहम्मद हफिजको ८४ रनमा पाकिस्तानले ३४८–८ को स्कोर बनाएको थियो । अदिल रसिदको बलमा मिड अफमा जेसन रोयले १४ रनमा क्याच छाड्नु हफिजका लागि फलदायी भयो । बाबर आजमले ६३ र कप्तान सरफराज अहमदले पनि ५५ रन बनाउँदै पाकिस्तानलाई राम्रो स्थितिमा उभ्याए ।


शुक्रबार विश्वकपको आफ्नो पहिलो खेल खेल्नेक्रममा पाकिस्तान यही मैदानमा १ सय ५ रनमै अलआउट भएपछि वेस्ट इन्डिजसँग लज्जाजनक ७ विकेटको हार भोगेको थियो । ‘मलाई लाग्छ आफैप्रतिको विश्वास महत्त्वपूर्ण छ,’ हफिजले भने, ‘जुनसुकै स्थितिको सामना गर्न पनि हामी तयार छौं । तर वेस्ट इन्डिजसँग हामीले केही खराब शट खेलेका थियौं ।’


वेस्ट इन्डिजसँग पाकिस्तान बाउन्सर बल खेल्न असमर्थ रहेको थियो । इंग्ल्यान्डका कप्तान इयान मोर्गनले टस जितेपछि पाकिस्तानलाई ब्याटिङमा बोलाउँदा पनि यही रणनीति अपनाउँदा कुनै आश्चर्य भएको थिएन । तीव्र बलर मार्क उडलाई टिममा फिर्ता बोलाउनुको कारण पनि यही नै थियो । तर इंग्ल्यान्डले दुई पटक विश्व कीर्तिमान बनाएको यही मैदानमा पाकिस्तानले बाउन्सर बललाई राम्रोसँग झेल्यो । इंग्ल्यान्डले २०१६ मा पाकिस्तानसँग ४४४–३ र गत वर्ष अस्ट्रेलियाविरुद्ध ४८१–६ को स्कोर बनाएको थियो ।


इंग्ल्यान्डका तीव्र बलरको चर्चाबीच स्पिनर मोइन अलीले ३ विकेट लिए । सोक्रममा उनले ५० रन खर्चे । तीव्र बलरद्वय क्रिस वोक्सले ८ ओभरमा ७१ रन खर्चेर ३ र उडले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । त्यस विपरीत जोफ्रा आर्चरले १० ओभरमा ७९ रन खर्चन पुगे । वोक्सले ४ क्याच लिए । विश्वकपमा फिल्डरले चार क्याच लिएको कीर्तिमान उनले बराबरी गरे ।


फखर जमान र इमाम उल हकले १४ ओभरमा ८२ रन जोड्दै पाकिस्तानलाई राम्रो सुरुआत दिलाए । अलीले फखरलाई स्टम्पआउट गराई यो साझेदारी तोडे । इमाम ४४ रन बनाई अलीकै सिकार भए । आजमले ६६ बलमा ४ चौका र १ छक्का प्रहार गरी ६३ रन बनाए । उनले ३९ बलमा अर्धशतक पुरा गरेका थिए । कप्तान सरफराजले त्यसलाई निरन्तरता दिँदै ४० बलमा अर्धशतक पूरा गरे । म्यान अफ द म्याच हफिजले ६२ बलको इनिङ्समा ८ चौका र २ छक्का प्रहार गरे ।


स्कोर कार्ड

पाकिस्तान

१४ रनले विजयी


पाकिस्तान

५० ओभर ३४८/८

मोहमद हफिज–८४

बाबर आजम–६३

सरफराज अहमद–५५


मोइन अली ३/५०

क्रिस वोक्स ३/७१


इंग्ल्यान्ड

५० ओभर ३३४/९

जो रुट–१०७

जोस बटलर–१०३


वहाब रियाज–३/८२

मोहमद अमिर–२/६७

सादब खान–२/६३

प्रकाशित : जेष्ठ २१, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?