३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

हेर्नलायक मुख्य प्रतिस्पर्धा

भारत–अस्ट्रेलिया
एएफपी

लन्डन — विश्वकपको महत्वपूर्णमध्ये एक खेलमा आइतबार भारत र अस्ट्रेलिया भिड्दै छन् । जहाँ विराट कोहली नेतृत्वको भारतीय टोली पाँचपल्टको च्याम्पियनविरुद्ध प्रभावशाली प्रदर्शनका लागि तयार छ । विश्वकपका पछिल्लो ५ संस्करणमा भारतमात्र यस्तो टिम हो जसले अस्ट्रेलियालाई उपाधिबाट वञ्चित गरेको छ । सन् २०११ को संस्करणमा भारत घरेलु मैदानमा च्याम्पियन बनेको थियो । ओभलमा हुन लागेको खेलअघि तीन प्रमुख प्रतिस्पर्धाबारे यहाँ चर्चा गरिएको छ :

हेर्नलायक मुख्य प्रतिस्पर्धा
  • कोहलीविरुद्ध स्टार्क

विराट कोहली एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेटका शीर्ष वरीयताका ब्याट्सम्यान हुन् । जहाँ बायाँहाते तीव्र गतिका बलर स्टार्क अस्ट्रेलयाली बलिङ आक्रमणको नेतृत्वकर्ता हुन् । साउथह्याम्पटनमा दक्षिण अफ्रिकाविरुद्धको पहिलो खेलमा भारतीय कप्तान १८ रनमै आउट भएका थिए । तर अस्ट्रेलियाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा उनको औसत रन ५३ भन्दा बढी छ ।

वेस्ट इन्डिजविरुद्धको जितमा ५ विकेट लिएका स्टार्कमाथि सुरुआती ओभरमा भारतको विकेट झार्ने जिम्मेवारी हुनेछ । जसमा कोहली प्रमुख हुनेछन् । सन् १९८७ को विश्वकपमा अस्ट्रेलियाली टिमको नेतृत्व गरेका एलन बोर्डरले भनेका छन्, ‘उनले आफ्नो लय भेट्टाइसकेका छन् र उच्च लयमा देखिन्छन् । निश्चित रूपमा उनी सर्वश्रेष्ठ हुन् ।’


  • बुमराहविरुद्ध वार्नर

अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेविड वार्नर बल टेम्परिङ प्रकरणपछि एकवर्षे प्रतिबन्ध पूरा गरेर हालै टिममा फर्किएका छन् । उनले आफ्नो स्वभाविक लय भेट्टाइसकेका छन् । आईपीएलमा सर्वाधिक रन बनाएपछि विश्वकपमा अस्ट्रेलियाको सुरुआती जितमा उनले अविजित ८९ रनको नटआउट इनिङ्स खेलेका थिए ।

तर यी बाँयाहाते ब्याट्सम्यान भारतीय तीव्र गतिका बलरविरुद्ध ब्याटिङ गर्नुपर्नेछ, जसले ५० एकदिवसीय खेलमा ८७ विकेटसाथ आईसीसी वरीयतामा शीर्षस्थान कब्जा गरेका छन् । जसप्रित बुमराहले सुरुआती दुई विकेट चड्काएपछि दक्षिण अफ्रिकाविरुद्ध भारतीय जित सहज बनेको थियो । दक्षिण अफ्रिकी ओपनर हसिम अमलाले बुमराहलाई ‘बलरको यमराज’ को संज्ञा दिएका थिए । साउथह्याम्पटनको धूम्म बिहानीमा २५ वर्षीय यी तीव्र बलरले भेट्रान ब्याट्सम्यान अमलालाई ६ रनको स्कोरमै पेभेलियन फर्काएका थिए ।


  • चहलविरुद्ध जाम्पा


एडम जाम्पा शेर्न वार्न त होइनन् तर भारतविरुद्धको स्पिन आक्रमणमा अस्ट्रेलियाली टोलीको नेतृत्वकर्ता अवश्य हुन् । सन् २०१६ मा अस्ट्रेलियाली टोलीबाट डेब्यू गरेयता यी लेग स्पिनरले लिएका ६४ मध्ये १५ एकदिवसीय विकेट भारतविरुद्ध छ । बल टर्न गर्ने क्षमतामा कमी देखिए पनि गुगली र स्ट्रेट बलको भेरियसनले उनलाई बलिङमा टिकाइरहेको छ ।

उनका समकक्षी युजभेन्द्र चहलले कप्तान कोहलीका लागि कुलदीप यादवसँगै भारतीय टोलीको स्पिन जिम्मेवारी लिनेछन् । चहलले दक्षिण अफ्रिकाविरुद्ध ५१–४ को प्रदर्शन गरेका थिए र यी पूर्व चेस खेलाडी अहिले अस्ट्रेलियाको विकेट पतनका लागि रणनीति बनाउँदै छन् । ‘चेसले मलाई धैर्य गर्न र योजना बनाउन सिकाएको छ,’ उनले भने, ‘जब तपाई चेस खेल्नुहुन्छ त सामान्यतः १५ देखि १६ चालका लागि योजना बनाउनुपर्छ ।’

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?