१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

युवराजको संन्यास

एएफपी

मुम्बई — दुईपल्ट विश्वकपका साथै क्यान्सर रोगलाई पनि जितेका युवराज सिंहले सोमबार क्रिकेटबाट संन्यास लिएका छन् । उनी पछिल्लो समय भारतको राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्षरत थिए । 

युवराजको संन्यास

‘यो उतारचढावले भरिएको यात्रा रह्यो र सुन्दर कथा पनि । यसको अन्त्य हुनैपर्ने थियो । त्यसैले मैले आफ्नो खेल टुंग्याउने यो निर्णय गरेको छु,’ ३७ वर्षे देव्रेहाते ब्याट्सम्यान युवराजले मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा भने । आफ्नो उत्कृष्ट समयमा उनी निकै आक्रामक ब्याट्सम्यानका रूपमा रहे । युवराजले एकदिवसीय अन्तर्राष्ट्रियमा १४ शतक बनाएका छन् ।

उनले २००७ को विश्व ट्वान्टी–२० मा इंग्ल्यान्डका स्टुवार्ट ब्रोडलाई एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए । ‘मैले गएको १७ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दै आएको छु । अब चाहिँ बिदा लिन्छु,’ संन्यासका क्रममा भावुक हुँदै युवराजले भने, ‘क्रिकेटले मलाई सबथोक दिएको छ, त्यसैले म यहाँ उभिएको छु ।’

‘यो माया र घृणाको जस्तै सम्बन्ध रह्यो । यसले मलाई कसरी झुक्ने, कसरी संघर्ष गर्ने र कसरी ब्युँतिने भनेर सिकायो,’ युवराजले अगाडि भने, ‘मैदानभित्र र मैदानबाहिर जे सफलता पाएँ त्यसका लागि म आफूप्रति गर्व गर्छु ।’ क्लिन हिट गर्न माहिर युवराज मध्यक्रममा धरोहर थिए । उनले भारतबाट ३ सय ४ एकदिवसीय अन्तर्राष्ट्रिय खेले । भारतको जर्सीमा उनको पछिल्लो एकदिवसीय खेल दुई वर्षअघि थियो ।

विश्व ट्वान्टी–२० को पहिलो संस्करण आयोजना हुर्दा भारतलाई विजेता बनाउन उनको महत्त्वपूर्ण योगदान रह्यो । २०११ मा भारतले आफ्नै भूमिमा ५० ओभरको विश्वकप जित्दा उनी म्यान अफ द सिरिजमा चुनिए । उनले सोक्रममा चार अर्धशतक र एक शतक बनाएका थिए । त्यसको एक सातापछि उनलाई फोक्सोको दुर्लभ क्यान्सर लागेको पत्ता लागेको थियो ।

‘तीतो सत्य यहीं नै थियो, तर क्यान्सरसँग म हार मान्ने छैन,’ युवराजले भने । क्यान्सरको उपचारपछि मैदानमा फर्किए पनि उनको प्रदर्शन पहिला जस्तो रहेन । भारत २०१४ को विश्व ट्वान्टी–२० को फाइनलमा श्रीलंकासँग पराजित भएपछि उनी आलोचनाले घेरिए । उनले ढिलो खेलेको कारणले नै भारत फाइनलमा हारेको आरोप लाग्न पुग्यो । ‘मैले २१ बलमा ११ रन बनाएको थिएँ, त्यसपछि मलाई आफ्नो खेल सकिए जस्तो लाग्यो ।’

युवराजले हार खाएनन् । उनी पुनः एकदिवसीय टोलीमा फर्किए । मध्यपंक्तिलाई स्थिर राख्न उनी २०१७ मा इंग्ल्यान्डसँगको घरेलु शृंखलाका लागि भारतीय टोलीमा डाकिए । उनले त्यही शृंख्लाको एक खेलमा १ सय ५० रन बनाउँदै एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाए । सोही कारण उनलाई भारतको च्याम्पियन्स ट्रफी खेल्ने टोलीमा राखिएको थियो । उनको फर्म भने झन् खस्कन पुग्यो ।

उनले ३ सय ४ एकदिवसीयमा ८ हजार ७ सय १ रन बनाएका छन् । उनले आफ्नो अलराउन्ड क्षमताबाट १ सय ११ विकेट पनि लिए । जबकि उनको टेस्ट जीवन त्यस्तो चमक रहेन । उनले ४० टेस्टमा ३४ मुनिको औसतमा १ हजार ९ सय रनमात्र बनाउन सके । युवराजले यसै सिजन इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सबाट पनि खेलेका थिए । अब उनले आईपीएल पनि नखेल्ने घोषणा गरेका हुन् । युवराजले बलिउड अभिनेत्री हेजल किचसँग विवाह गरेका छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?