१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

'सम्मानभन्दा जित आवश्यक’

एएफपी

ब्रिस्टोल — बंगलादेशका कप्तान मासरफी मोर्टजाले विश्वकपमा आफ्नो टोलीले जहिलेसम्म जित हासिल गरिरहन्छ, तबसम्म विपक्षीलाई सम्मान गरेर पनि बस्न सकिने बताएका छन् । दक्षिण अफ्रिकाविरुद्धको प्रभावशाली जितसाथ बंगलादेशले विश्वकप अभियान सुरुआत गरेको थियो । पछि कप्तान मोर्टजा जस्तो विश्लेषण सुने त्यसबाट निराश बने ।

'सम्मानभन्दा जित आवश्यक’

‘तपाईलाई लाग्छ हाम्रो त्यो जित आश्चर्यजनक थियो ?,’ उनले प्रतिप्रश्न गर्दै भने, ‘यदि हामीले आफ्नो शतप्रतिशत दिन सक्यौं भने हामीलाई थाहा छ, हामी के गर्न सक्छौं । मलाई यो पनि थाहा छ कि केही मानिसहरू हाम्रो क्रिकेटलाई राम्रो मान्दैनन् । हामी हाम्रो खेलमा ध्यान दिन्छौं र अन्य मानिसलाई कुरा काट्न समय ।’

त्यसपछि बंगलादेशले कार्डिफमा गत साताको अन्त्यमा आयोजक तथा उपाधि दाबेदार इंग्ल्यान्डसँग १ सय ६ रन र न्युजिल्यान्डसँग २ विकेटको झिनो हार सामना गर्नुपर्‍यो । यी हार बंगलादेशका लागि प्रतियोगितामा अपेक्षित लय भेट्टाउन संघर्षरत श्रीलंकाविरुद्ध मंगलबार ब्रिस्टोलमा हुने खेल धेरै महत्त्वपूर्ण बनेको छ ।

‘म यस कुराबाट चिन्तित छैन कि कसले हामीलाई सम्मान गरिरहेको छ । हामी आफ्नो प्रदर्शनप्रति चिन्तित छौं,’ मोर्टजाले सोमबार ब्रिस्टोलमा संवाददातासँग भने, ‘खेल जित्नु हाम्रो लागि धेरै महत्त्वपूर्ण हो । मलाई लाग्दैन, सम्मानको असर २२ यार्डको पिचमा भेटिनेछ । हामीले मैदानमा कस्तो व्यवहार देखाउँछौं त्यसले निर्भर गर्नेछ ।’

३५ वर्षीय भेट्रान तीव्र बलरले आफूहरूले २ अंक जोड्न सक्यौं भने त्यो सम्मानभन्दा धेरै गुणा महत्त्वपूर्ण हुने बताए । बंगलादेशले सन् २०१५ मा इंग्ल्यान्डलाई क्वाटरफाइनल प्रवेशबाट वन्चित गर्दै समूह चरणबाट घर पठाएको थियो । तर यस संस्करणको फर्म्याट अलग छ । १० टोलीसम्मिलित विश्वकप राउन्ड रोबिन प्रणालीमा खेलाइएको छ ।

त्यसबाट शीर्ष चार स्थानका टोलीले सेमिफाइनल खेल्नेछन् । ‘यदि तपाईले १० कप्तानलाई नै यो प्रश्न सोध्नुभयो भने उनीहरूले इमानदारीसाथ भन्नेछन् कि सेमिफाइनल पुग्न चाहन्छौं,’ विश्वकपमा बंगलादेशको लक्ष्यबारेमा सोधिएको प्रश्नमा मोर्टजाले भने, ‘निश्चय नै हामी पनि सेमिफाइनल पुग्न चाहन्छौं तर अहिले अवस्थामा कठिन छ । म फेरि भन्दैछु कि यो असम्भव छैन । हामीले जितको लय फर्काउनुपर्छ ।’

श्रीलंकाले साबिक विजेता अस्ट्रेलियाविरुद्ध निकै नै कमजोर प्रदर्शन गर्‍यो । अफगानिस्तानसँग साँघुरो जितमा उसको ब्याटिङ निष्प्रभावी थियो । मोर्टजाले श्रीलंकालाई पराजित गर्न बंगलादेशलाई अतिरिक्त दबाबको महसुस नभएको पनि प्रस्ट पारेका छन् । ‘न्युजिल्यान्डविरुद्ध र इंग्ल्यान्डविरुद्धका हाम्रो खेलबारे मानिसहरू के कुरा गरिरहेका थिए थाहा छैन तर हामी जितबारेमा सोचिरहेका थियौं,’ उनले भने, ‘मेरो विचारमा हरेक खेलमा दबाब हुन्छ ।

शतप्रतिशत दबाब हुन्छ तर त्यही समयमा हामीले दबाब चिर्दै उत्कृष्ट क्रिकेट खेल्नुपर्छ ।’ ब्रिस्टोलमा मंगलबार वर्षा हुने मौसम पूर्वानुमानले दुवै टोलीको मनोबल उच्च पार्ने जितको लक्ष्य कुण्ठित पार्न सक्छ । ‘आशा गरौं हामीले पूरा खेल खेल्न पाउने छौं, हामी खेल जित्न भोको छौं,’ मोर्टजाले भने ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?