१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्टम्प र बेल परिवर्तन नहुने

एएफपी

लन्डन — एकदिवसीय विश्वकपमा देखिएको बेल विवादलाई समाधान गर्न स्टार खेलाडीले गरेको आग्रहलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अस्वीकार गरिदिएको छ ।

स्टम्प र बेल परिवर्तन नहुने

भारतका कप्तान विराट कोहली र अस्ट्रेलियाका कप्तान आरोन फिन्चले आइतबार संयुक्त रूपमा बेल समस्याको समाधान गर्न आईसीसीसमक्ष अनुरोध गरेका थिए । भारतविरुद्ध विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाका ओपनर डेविड वार्नर इनिङ्सको सुरुआतमै बोल्ड भएका थिए । जसप्रित बुमराहको बल उनको खुट्टामा ठोक्किँदै स्टम्पमा लागे पनि बेल खसेन । वार्नरले ठूलो जीवनदान पाए ।


जारी विश्वकपमा बल स्टम्पमा लागेर पनि ‘जिङ बेल’ नझरेको त्यो पाँचौं घटना थियो । बलले लागेपछि बेल र स्टम्पमा रातो बत्ती बल्छ । बत्ती त बल्यो तर बेल झरेन । फलस्वरुप ब्याट्सम्यान आउट भएनन् ।


कोहली, फिन्चलगायत इंग्ल्यान्डका पूर्व कप्तान माइकल भन, नासिर हुसेनले बेल परिवर्तन गर्न दिएको सुझावका बावजुद आईसीसीले पारम्परिक शैलीको काँडे बेलतर्फ फर्किने आफ्नो कुनै योजना नरहेको प्रस्ट पारेको छ ।


‘हामी प्रतियोगिताको मध्यतिर आएर कुनै पनि सामग्री परिवर्तन गर्न सक्दैनौं । यसले प्रतियोगिताको गरिमा पनि घटाउँछ । प्रतियोगिताका १० टोलीबीच हुने ४८ खेलमै एउटै सामग्रीको प्रयोग हुन्छ,’ विश्व क्रिकेटको नियामक निकाय आईसीसीले मंगलबार प्रस्ट पारेको छ ।


‘पछिल्लो ४ वर्षदेखि स्टम्प परिवर्तन गरिएको छैन । सन् २०१५ को विश्वकपयता पुरुष क्रिकेटमा आईसीसीले आयोजना गर्ने सबै प्रतियोगितामा यही स्टम्पको प्रयोग हुन्छ,’ स्काई स्पोर्टसमार्फत आईसीसीले भनेको छ, यसको मतलब के हो भने १ हजारभन्दा धेरै खेलमा यस्तै प्रविधिको प्रयोग भइसकेको छ । गुणात्मक रूपमा यो सफल भइसकेको छ ।’


प्रकाशित : जेष्ठ २९, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?