१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अस्ट्रेलियालाई हारले फरक नपार्ने

एएफपी

लन्डन — विश्वकप उपाधि रक्षा गर्ने अभियानमा रहेको अस्ट्रेलियाले भारतविरुद्ध हार बेहारे पनि त्यसले ठूलो असर नपार्ने पूर्व कप्तान स्टिभ वाले बताएका छन् । यसपल्टको विश्वकपमा पहिलो हारका रूपमा अस्ट्रेलिया ओभलमा भएको खेलमा ३६ रनले पराजित रहेको थियो ।

अस्ट्रेलियालाई हारले फरक नपार्ने

सुरुमा आरोन फिन्चको बलिङ आक्रमण भारतको ब्याटिङसामु कमजोर देखियो भने लक्ष्य पछ्याउने क्रममा पनि अस्ट्रेलियाको प्रदर्शन सुस्त देखिएको थियो ।


केही आलोचकले अस्ट्रेलियाले विश्वकपअगाडि पर्याप्त गृहकार्य नगरेको आरोप लगाएका छन् । तर दुई पल्ट विश्वकप जितेको अनुभव भएका वाले आफ्नो टिममाथि पूरा विश्वास रहेको र १० टिमसम्मिलित प्रतियोगिताको सेमिफाइनलसम्म पुग्दा टिममा लयमा आउने दाबी गरे । उनले भने, ‘सेमिफाइनलसम्म पुग्दा टिमले लय समात्ने छ । बलिङ र ब्याटिङ दुवै ठीक स्थानमा आउने छ । अहिले यो विश्वकपमा सबैको सम्भावना उत्तिकै छ । सम्भवतः ६ टिमले विश्वकप उपाधि जित्ने सपना देख्न सक्छन् ।’


भारतविरुद्धको हारमा अस्ट्रेलियाका लागि केही आक्रामक र सुदृढ प्रदर्शन गर्नेमा ग्लेन म्याक्सवेल मात्र रहेका छन् । उनले १४ बलको इनिङ्समा २८ रन बनाए र यसक्रम ५ चौका प्रहार गरे । लामो प्रहार गर्ने क्रममा उनी पनि आउट भए । उनलाई छाडेर अरूले राम्रो गर्न सकेनन् र खेलको अन्त्यतिर जितका लागि अस्ट्रेलियालाई प्रतिओभर ११ भन्दा बढी रन बनाउन आवश्यक थियो । म्याक्सवेलले पनि टिमले चाँडै लय समात्ने विश्वास पोखे ।


अहिलेसम्म राम्रो खेलिरहेका भारत र इंग्ल्यान्ड बराबरको प्रदर्शन गर्न अस्ट्रेलियाली टिमले झिनो परिवर्तन गरे पर्याप्त हुने उनको विचार थियो । उनले भने, ‘मेरो विचारमा केही साना तथ्य छाडेर टिममा ठूलै परिवर्तन गर्नुपर्ने कुनै आवश्यकता छैन । भाग्यले केही हदसम्म साथ दियो भने हाम्रो खेल फेरि उत्तिकै राम्रो हुनेछ । कुनै एक खास खेलमा टिमको प्रदर्शन राम्रो हुन नसक्नु स्वाभाविक हो । हामी चाँडै पुरानै लयमा फर्कने छौं ।’


प्रकाशित : जेष्ठ २९, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?