कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अमिरको प्रदर्शन कोसेढुंगा हुन सक्ने

एएफपी

टाउन्टन — पाकिस्तानले विश्वकपमा बुधबार अस्ट्रेलियाको सामना गर्दै छ । त्यसमा मोहम्मद अमिरको उद्देश्य अर्को कोसेढुंगा प्रदर्शनको हुनेछ । अमिरले समरसेट काउन्टीको मैदानमा तीन वर्षअगाडि प्रथम श्रेणी क्रिकेटमा पुनरागमन गरेका थिए । 

अमिरको प्रदर्शन कोसेढुंगा हुन सक्ने

सन् २०१० को लर्ड्स काण्डपछि अमिरको खेलजीवनमा ठूलो झट्का लागेको थियो । जति बेला उनलाई विश्व क्रिकेटकै उदीयमान खेलाडी मानिएको थियो । लर्ड्स टेस्टमा उनले आफ्नो प्रारम्भिक बलिङ पार्टनर मोहम्मद आसिफसँग मिलेर जानाजान नो–बल गरेका थिए ।

पत्रिकाले गरेको स्टिङ अपरेसनका क्रममा पाकिस्तानी कप्तान सलमान बट पनि त्यसमा मुछिए ।


स्पट फिक्सिङकै कारण तीनै खेलाडीमाथि ५ वर्षको प्रतिबन्ध लागेको थियो । उनीहरूले केही समय जेलमा पनि बिताए । त्यही सन् २०१० को वर्षमा अमिरले स्वीङ बलिङको उत्कृष्ट नमुना पेस गर्दै अस्ट्रेलियाविरुद्ध तटस्थ भूमिका रूपमा हेडिङ्लेमा भएको टेस्टमा २० रन खर्चेर ३ विकेट लिए र अस्ट्रेलिया ८८ रनमा पहिलो दिनमै अलआउट भएको थियो ।


सन् २०१६ मा अमिरले फेरि खेल्न सुरु गरे । उनको बलिङ कला भने ज्युँदै थियो । टाउन्टनमा भएको प्रथम श्रेणी क्रिकेटमा अमिरले समरसेटविरुद्ध ३६ रनमा ३ विकेट लिए । अमिरले लिएका ती विकेटमध्ये एक इंग्ल्यान्डका तत्कालीन प्रारम्भिक ब्याट्सम्यान मार्कस ट्रेस्कोथिकविरुद्ध थियो । त्यस क्रममा बलले अन्त्यतिर स्वीङ लिएको थियो । पछिल्लो समय अमिरका लागि खेल सजिलो भने रहेको छैन । उनले विश्वकप अगाडिका १४ एकदिवसीयमा मात्र ५ विकेट मात्र लिएका छन् ।


उनले इंग्ल्यान्डविरुद्ध वर्षाले प्रभावित खेलमा बलिङ अवसर पाएनन् भने बिरामीकै कारण इंग्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला पनि गुमाएका थिए । सुरुमा विश्वकपमा सहभागी हुने पाकिस्तानी टिममा नरहेका २७ वर्षीय अमिरलाई पछि अन्तिम १५ सदस्यीय टिममा भने राखिएको थियो । वेस्ट इन्डिजविरुद्ध १ सय ५ रनमा अलआउट भएको खेलमा पाकिस्तानका लागि केही राम्रो खेल्ने एकमात्र खेलाडी अमिर नै थिए । उनले त्यस खेलमा २६ रनमा ३ विकेट लिए । तर पाकिस्तान ७ विकेटले पराजित रह्यो ।


अस्ट्रेलियाविरुद्ध पाकिस्तानको प्रदर्शन भने कमजोर छ । पाकिस्तानले पाँचपल्टको विश्वकप विजेताविरुद्धका पछिल्ला १४ खेलमध्ये एउटामै मात्र जित निकालेको छ । सन् २०१७ को जनवरीमा भएको त्यस खेलमा मोहम्मद हफिजले ७२ रन बनाएका थिए ।


इंग्ल्यान्डविरुद्ध प्राप्त जितमा ८ विकेट गुमाएर ३ सय ४८ रन बनाउँदा पनि हफिजले ८४ रनको योगदान दिएका थिए । ‘पक्कै पनि हामीले अस्ट्रेलियामाथि धेरै जित निकालेका थिएनौं, इंग्ल्यान्डविरुद्ध पनि यस्तै थियो तर हामी विजयी रह्यौ,’ कप्तान सरफराज अहमदले भने ।


डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाका लागि भने प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरको लय निर्णायक हुनेछ । वार्नरले यसपल्टको विश्वकपमा दुई अर्धशतक बनाइसकेका छन् । भारतविरुद्ध उनले ८४ बलमा ५६ रन बनाएका थिए, तर त्यसमा निकै सुस्त देखिए ।


उनको बचाउ गर्दै कप्तान आरोन फिन्चले भनेका छन्, ‘उनी आक्रामक सुरुआत लिन सक्षम छन् ।’ वार्नरसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा फर्केका स्टिभ स्मिथको प्रदर्शन पनि उत्तिकै निर्णायक हुन सक्नेछ ।


प्रकाशित : जेष्ठ २९, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?