कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वार्नरको शतक, अस्ट्रेलियाको पुनरागमन

एएफपी

टाउन्टन — विश्वकपको साबिक विजेता अस्ट्रेलियाले बुधबार पाकिस्तानमाथि ४१ रनको जित दर्ता गरेको छ । यसअघि भारतसँग पराजित अस्ट्रेलियाले पुनरागमन गरेको हो । तीव्र बलरहरूले विकेट लिएको खेलमा पाकिस्तानलाई ४५.४ ओभरमा २ सय ६६ रनमै अलआउट गरेपछि अस्ट्रेलियाको जित निश्चित भएको हो । 

वार्नरको शतक, अस्ट्रेलियाको पुनरागमन

पाकिस्तानका मोहम्मद अमिरले एकदिवसीय क्रिकेटमा करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गरी ३० रन खर्चेर ५ विकेट लिए पनि अस्ट्रेलियाले ३ सय ७ रनको स्कोर खडा गरेको थियो । बल टेम्परिङ प्रकरणपछि एकवर्षे प्रतिबन्धपछि राष्ट्रिय टोलीमा फर्किएका डेविड वार्नरले पहिलो शतक प्रहार गरे ।


वार्नरले कप्तान आरोन फिन्च (८२) सँग मिलेर पहिलो विकेटमा १ सय ४६ रनको साझेदारी गरेपछि टाउन्टनमा अस्ट्रेलिया विशाल योगफलतर्फ अघि बढेको थियो । जारी विश्वकपमा यो अहिलेसम्मकै सर्वाधिक साझेदारी हो । तर बायाँहाते तीव्र बलर अमिरले व्यक्तिगत प्रदर्शन सुधार गरी पाकिस्तानलाई खेलमा फर्काए । अमिरको यसअघि ४/२८ को उत्कृष्ट प्रदर्शन थियो । उनको यो स्पेल जारी विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट हो ।


‘मेरो विचारमा मैले केही रन छाड्नुपर्‍यो,’ शतक बनाएका वार्नरले इनिङ्स ब्रेकमा भने, ‘मोहम्मद अमिरको दोस्रो स्पेल सानदार थियो ।’ वार्नर र स्टिभ स्मिथ बल टेम्परिङ प्रकरणका कारण प्रतिबन्ध झेलेर हालै फिर्ता भएका हुन् । पछिल्लो खेलमा समर्थकले उनीहरूमाथि व्यंग्य गरेका थिए ।


तर पाकिस्तानका कप्तान सरफराज अहमदको आग्रहलाई स्वीकार गरी समर्थकले उनीहरूप्रति व्यंग्य गरेनन् । बरु इनिङ्सभर ‘अमिर.. अमिर..’ मात्र भनिरहे । दक्षिण पश्चिम काउन्टी समरसेटको मुख्यालयमा सरफराजले बिहानै टस जितेका थिए । त्यसपछि अमिरको निशाना सुरु भयो । उनले मेडन ओभरसाथ आफ्नो स्पेल सुरु गरे । सुरुआती ४ ओभरमा उनले ११ रन खर्चंदा २ मेडन राखेका थिए । २६ रनको स्कोरमा फिन्चको क्याच छुटेको थियो । वाहब रियाजको बलमा एज लागेर उठेको बल स्लिप क्षेत्रमा असिफ अलीले समाउन सकेनन् ।


विकेटकिपर कप्तान सरफराजले मोहम्मद हफिजको बलमा अर्को कठिन मौका खेर फाले । त्यति बेला फिन्च ४४ रनमा खेलिरहेका थिए । त्यसपछि उनले हफिजलाई नै लगातार दुई चौका प्रहार गरेर ६३ बलमा अर्धशतक पूरा गरे । त्यसपछि फिन्चले हफिजलाई नै अफसाइडमा २ छक्का प्रहार गरे । तर, अमिरको पुनरामगनसँगै अस्वाभाविक ठूलो शट खेल्न खोज्दा उनी हफिजकै हातबाट कभरमा क्याचआउट हुन पुगे ।


हफिजको बलमा स्टिभ स्मिथ (१०) र ब्याटिङक्रम सुधार्दै चौथो नम्बरमा आएका ग्लेन म्याक्सवेल (२०) शाहिन शाह अफ्रिदीको बलमा क्लिन बोल्ड भएपछि अस्ट्रेलियाले ३ विकेट क्षतिमा २ सय २३ रन जोडेको थियो । शाहिनकै बलमा अफसाइडमा रन लिँदै १ सय २ बलमा ११ चौकाको साथ वार्नरले आफ्नो १५ औं एकदिवसीय शतक पूरा गरे । त्यसलगत्तै उनी आउट भए । ब्याट्सम्यानहरू शन मार्स, उस्मान ख्वाजा र एलेक्स केरी सबै अमिरको बलमा आउट भए । अन्तिम ब्याट्सम्यान मिचेल स्टार्कलाई आउट गरी अमिरले एक ओभरअगावै अस्ट्रेलियालाई अलआउट गराए ।


जवाफमा पाकिस्तानले ११ ओभरमा ५६ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । प्याट कमिन्सको बलमा थर्डम्यान क्षेत्रमा केन रिचर्डसनले सहज क्याच लिएपछि फखर जमानले खाता खोल्नै पाएनन् । बाबर आजमले उत्कृष्ट शट खेलिरहेका थिए । २८ बलमा ३० रन बनाएको अवस्थामा उनी नथान कल्टर नाइलको बाउन्सर सामना गर्न असफल भए र रिचर्डसनद्वारा नै क्याचआउट भए ।


यसपल्ट उनले डिप स्क्वायर लेगमा क्याच लिएका थिए । अर्का ओपनर इमाम उल(हकले तेस्रो विकेटको रुपमा आउट हुनुअघि ७५ बलमा ७ चौकासहित ५३ रन बनाएका थिए । मोहम्मद हफिज (४६) लाई मिचेल स्टार्कले कप्तान फिन्चको हातबाट क्याचआउट गरेपछि आएका सोएब मलिक (०) र असिफ अली (५)ले रन बनाउनै सकेनन् । हसन अलीले १५ बलमा ३ चौका र ३ छक्का प्रहार गरी पाकिस्तानलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।


त्यसपछि आएका वाहब रियाजले कप्तान सरफरजसँग मिलेर आठौं विकेटमा ६४ रनको साझेदारी गरेपछि पाकिस्तानले खेल नियन्त्रणमा लिएको थियो । ४५ औं ओभरमा स्टार्कले २ विकेट झारे र खेल तुरुन्तै अस्ट्रेलियाको पक्षमा पारे । ४४.२ ओभरमा ३९ बलमा ४५ रन बनाएर खेलिरहेका रियाजको कट बिहाइन्ड विकेट अस्ट्रेलियाले रिभ्यू लिएर पाएको थियो । दुई बलपछि मोहम्मद अमिरलाई स्टार्कले बोल्ड गरे । अर्को ओभरमा कप्तान सरफराज ग्लेन म्याक्सवेलबाट रनआउटको सिकार बने । उनले ४८ बलमा ४० रन बनाए ।


स्कोर कार्ड

अस्ट्रेलिया

४१ रनले विजयी


अस्ट्रेलिया

४९ ओभर ३०७

डेविड वार्नर–१०७

आरोन फिन्च–८२


मोहम्मद अमिर ५/३०

शहीन अफ्रिदी २/७०


पाकिस्तान

४५.४ ओभर २६६

इमाम उल–हक–५३

मोहम्मद हफिज –४६


प्याट कमिन्स–३/३३

मिचेल स्टार्क–२/४३

केन रिचर्डसन–२/६२

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?