रुटको शतकमा इंग्ल्यान्डको सान

एएफपी

साउथह्याम्पटन — जो रुटले विश्वकप क्रिकेटमा दोस्रो शतक बनाएपछि इंग्ल्यान्डले शुक्रबार वेस्ट इन्डिजमाथि ८ विकेटको सजिलो विजय हात पारेको छ । 

रुटको शतकमा इंग्ल्यान्डको सान

निरन्तरको वर्षा अन्ततः रोकिएर खेल्न योग्य भएपछि बलिङका लागि उपयुक्त भएको दिन घरेलु टोली इंग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेको थियो । टोलीले वेस्ट इन्डिजलाई २ सय १२ रनमै अलआउट गर्‍यो । जब इंग्ल्यान्ड ब्याटिङका लागि आयो, विकेट ब्याटिङलाई उत्कृष्ट बनिसकेको थियो ।

इंग्ल्यान्ड विरलै दबाबमा देखियो । रुटले अविजित १ सय रन बनाउने क्रममा सुन्दर स्ट्रोकहरू प्रहार गरे । टेस्ट कप्तान रुट र जोनी बेरस्टो ओपनिङमा ब्याटिङ गर्न आएका थिए । वेस्ट इन्डिजको इनिङ्सका क्रममा नियमित ओपनर जेसन रोय ह्यामस्टिङ भएपछि रुटले मौका पाएका थिए ।

पाकिस्तानसँग इंग्ल्यान्ड पराजित हुँदा १ सय ७ रन बनाएका रुटले प्रतिबलको हिसाबले पहिलो ५० रन पूरा गर्दै ब्याटिङलाई निकै सहज बनाए । उनले कुनै जोखिम पनि उठाएनन् । उनले र बेरस्टोले वेस्ट इन्डिजका तीव्र बलरलाई सहजै खेलेका थिए । सेनोन ग्याब्रियलले बेरस्टोलाई ४५ रनमा कार्लोस ब्राथवेटबाट क्याच गराएपछि ९५ रनमा इंग्ल्यान्डको पहिलो विकेट झरेको थियो ।

उनको स्थान लिन आएका क्रिस वोक्सले तेस्रो बलमै ग्याब्रियललाई चौका प्रहार गरी आफ्नो आक्रामक रूप देखाएका थिए । वोक्सलाई ग्याब्रियलले नै आउट गरे । तर त्यसअघि वोक्सले आफ्नो जिम्मेवारी निभाउने क्रममा ५४ बलमा ४ चौकासहित ४० रन बनाइसकेका थिए ।

रुटले ९३ बलमा शतक पूरा गरे । उनले आफ्नो इनिङ्समा ११ चौका प्रहार गरे । उनी जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा छन् । उनले ४ इनिङ्समा २ सय ७९ रन बनाइसकेका छन् । ६ बल खेलेका बेन स्टोक्स २ चौका प्रहार गरी १० रन बनाई अविजित रहे । इंग्ल्यान्डको चिन्ता भनेको रोय र कप्तान इयान मोर्गनलाई लिएर छ । दुवैले चोटका कारण मैदान छाडेका थिए ।

बेलाबखत निकै आक्रामक हुने वेस्ट इन्डिजले इंग्ल्यान्डको तीव्र बलरलाई झेल्न सकेन् । वोक्स र जोफ्रा आर्चरले खेलको पहिलो ५ ओभरमा ८ रनमात्र दिएका थिए । आर्चर र उडले ३–३ विकेट लिएपछि इंग्ल्यान्डले वेस्ट इन्डिजलाई निर्धारित ओभरभन्दा ५ ओभर अगाडि नै अलआउट गरेको थियो । त्यसलाई इंग्ल्यान्डले झन्डै १७ ओभर बाँकी रहँदैं लक्ष्य पूरा गरेको थियो ।

ओपनर क्रिस गेलको क्याच ५ रनमा उडले छाड्न पुगेका थिए । उनले त्यसको फाइदा खासै उठाउन सकेनन् र ३६ रन बनाई लिएम प्लुन्केटको बलमा आउट भए । निकोलास पुरन र हेटमेयरले चौथो विकेटमा ८९ रन जोडे । रुटले त्यसपछि ३९ रन बनाएका हेटमेयर र कप्तान जेसन होल्डरलाई ९ रनमा आउट गरे । पुरनले ७८ बल खेली ३ चौका र १ छक्कासहित ६३ रन बनाए ।

इंग्ल्यान्ड तेस्रो विजयपछि अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । न्युजिल्यान्ड ७ अंकसहित शीर्ष स्थानमा छ । अस्ट्रेलियाको पनि समान ६ अंक भए पनि रन रेटमा इंग्ल्यान्डभन्दा पछाडि छ ।


फिल्डिङ निर्णायक हुने

नटिङघम (एएफपी)– विश्वकपमा पाकिस्तानको सामना गर्दा फिल्डिङ निर्णायक हुने दाबी भारतीय फिल्डिङ प्रशिक्षक आर श्रीधरले बिहीबार दाबी गरेका छन् ।


भारतको फिल्डिङ उत्कृष्ट रहेको छ भने पाकिस्तानी कप्तान सरफराजले टिमको यसै क्षेत्रमा प्रदर्शनको स्तर माथि बढ्नुपर्ने बताएका छन् । आइतबार यी दुई परम्पर विरोधी देशबीच म्यानचेस्टरमा खेल हुँदैछ । सन् १९९२ को च्याम्पियन पाकिस्तानले बुधबार टउन्टनमा भएको खेलमा अस्ट्रेलियाविरुद्ध ४१ रनको हार बेहोरेको थियो र त्यसमा टिमले तीन क्याच छाडेको थियो ।


पाकिस्तानलाई प्रतियागितामा रहन पनि विराट कोहलीको टिममाथि जित अत्यावश्यक छ । दुई पल्टको विश्वकप विजेता भारत अहिलेसम्म प्रतियोगितामा अपराजित छ र उसले दुई जित निकालेको छ । न्युजिल्यान्डविरुद्धको खेल भने वर्षाले सम्भव भएको थिएन् ।


यसअघि भारतले दक्षिण अफ्रिका र अस्ट्रेलियालाई हराएको थियो । श्रीधरले एकदिवसीय क्रिकेटमा जित हारको अन्तर नै फिल्डिङ हुने बताए । ‘फिल्डिङ निश्चित रूपमा एकदिवसीय क्रिकेटको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो,’ उनले भने, ‘अस्ट्रेलियाविरुद्धको हाम्रो जितमा फिल्डिङकै महत्त्वपूर्ण योगदान रह्यो ।’ उनले न्युजिल्यान्ड विरुद्धको खेल सम्भव नभए पनि दक्षिण अफ्रिका र अस्ट्रेलियामाथि प्राप्त जितले आफ्नो टिम निकै आत्मविश्वासी भएको दाबी गरे ।



स्कोर कार्ड

इंग्ल्यान्ड

८ विकेटको विजयी


वेस्ट इन्डिज

४४.४ ओभर २१२/१०

निकोलस पुरन–६३

सिमरोन हेटमेयर–३९


मार्क उड ३/१८

जोफ्रा आर्चर ३/३०


इंग्ल्यान्ड

३३.१ ओभर २१३/२

जो रुट–१००८

जोनी बेरस्टो–४५

क्रिस वोक्स–४०


सेनन ग्याब्रियल–२/४९

प्रकाशित : जेष्ठ ३२, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?