१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

यो क्रिकेट खेल मात्रै होइन

एएफपी

म्यान्चेस्टर — विराट कोहलीका लागि इतिहास उनीहरूकै पक्षमा हुनेछ, जब भारतले आइतबार विश्वकपमा चीर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्नेछ । विश्वकपको सबैभन्दा प्रतीक्षित यस भिडन्त जहिले पनि क्रिकेट खेलभन्दा माथि हुने गरेको छ । 

यो क्रिकेट खेल मात्रै होइन

सन् २००८ मा मुम्बई आतंकवादी हमलापछि भारतले आफ्नो छिमेकीका साथ द्विपक्षीय सम्बन्ध अन्त्य गरिदिएको थियो । भारतीय अधिकारीले त्यस घटनामा पाकिस्तानलाई दोषी ठहर्‍याएका थिए । सन् २०१२/१३ मा एकदिवसीय र टवान्टी–२० शृंखलाका लागि पाकिस्तानले भारतको भ्रमण गरेको थियो । त्यसबाहेक यी दुई टोली दशकयता बहुराष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र

भेटेका छन् ।


यसै वर्षको सुरुआतमा दुई देशको तनाव बढेको थियो । यसैलाई बाहना बनाउँदै केही भारतीय समर्थक र पूर्वक्रिकेटरले ओल्ड ट्राफोर्डमा हुने खेल बहिष्कारको आहवानसमेत गरेका छन् । फेब्रुअरीमा भारत प्रशासित कास्मिरमा एक आत्मघाती बम विस्फोट गराउँदा ४० जना भारतीय सैनिकको मृत्यु भएको थियो । जवाफस्वरूप भारतले पनि केही हवाई हमला गरेको थियो ।


मैदानमा भने भारतले विश्वकपमा आफ्ना छिमेकी टोलीको विरुद्ध खेलेका सबै ६ खेल जितेको छ । त्यसैले उसले म्यान्चेस्टरमा पनि आफ्नो जितयात्रा कायम राख्न चाहन्छ । भारतले गत वर्ष यूएईमा भएको एसिया कपमा पाकिस्तानविरुद्ध पछिल्लो जित हासिल गरेको थियो । इंग्ल्यान्डमा सन् २०१७ मा च्याम्पियन्स ट्रफी फाइनलको जितलाई प्रेरणा मान्दै पाकिस्तानले पुनरागमन गर्न सक्छ । त्यस खेलमा भारतले पाकिस्तानसँग १ सय ८० रनको लज्जास्पद हार ब्यहोरेको थियो ।


‘दुई एसियाली महारथी टिम क्रिकेट मैदानमा मात्र भिडन्त गर्ने हो भने शान्ति र अमनचयन कायम भइराख्ने थियो,’ भारतका पूर्वकप्तान बिसन सिंह बेदीले एएफपीसँग भनेका छन्, ‘र, क्रिकेटको शिष्टाचारलाई पालना गर्ने र उत्कृष्ट प्रदर्शन गर्ने टिमले जित हासिल गर्छ ।’

दुई जित र एक वर्षाले प्रभावित खेलसहित कोहली नेतृत्वको टिम अहिलेसम्म अस्ट्रेलिया र इंग्ल्यान्डसँगै प्रतियोगिताको दाबेदारमध्ये एक हो ।


आईसीसी वरीयतामा दोस्रो नम्बरमा रहेको भारतले सुरुआती खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो भने न्युजिल्यान्डविरुद्ध वर्षाका कारण अंक बाँड्नुअघि साविक विजेता अस्ट्रेलियालाई पनि पाखा लगाएको थियो । त्यसको विपरीत १० टोलीको राउन्ड रोविन प्रणालीमा जारी विश्वकपमा पाकिस्तानले एउटा मात्र खेल जितेको छ । इंग्ल्यान्डविरुद्धको अविश्वसनीय जितपछि दुई हार र एक वर्षाले प्रभावित नतिजा । भारतीय कप्तान कोहलीले बहुप्रतीक्षित ‘ठूलो’ खेलअघि देखिएको उन्माद र उत्तेजनालाई कम गर्दै अधिक दबाबयुक्त खेलमा खेलाडीको प्रदर्शनमा असर पर्ने बताएका छन् ।


‘आइतबार हामी एउटा मानसिकताका साथ आउनेछौं । खेल योजनाअनुसार पिचमा उत्रन्छौं र कार्यान्वयन गर्छौं,’ कोहलीले भने, ‘जब तपाईं मैदान प्रवेश गर्नुहुन्छ, शान्त र मनोरन्जक हुनेछ । बाहिरको वातावरण पहिलोपल्ट केही डराउने खालको देखिएको छ । तर हामी यसलाई ह्यान्डिल गर्नेछौं ।’ ‘यो वर्षौंदेखिको प्रतिस्पर्धा हो । यो विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता हो र यति ठूलो खेलको एक हिस्सा हुन पाउनु हाम्रा लागि सम्मान हो । यस प्रतियोगिताले हामीमध्येबाट उत्कृष्ट चुन्नेछ,’ कोहलीले थपे ।


पाकिस्तानका कप्तान सरफराज अहमदले भनेका छन् कि उनको टिमले बलियो भारतविरुद्ध खेल्दा यसअघिको कमजोरी सुधार्नुपर्नेछ । ‘हामीले आफ्नो कमजोरी हटाउनुपर्छ, किनभने भारत निकै बलियो टिम हो । हामी आफ्नो प्रदर्शनको आकलन गर्नेछौं र योजना बनाउनेछौं,’ उनले भने ।


दुवै टिमका समर्थकले यस खेलमा जित चाहेका छन्, भलै उनको टिमले प्रतियोगिता नजितोस् । एक भारतीय समर्थकले नटिङघममा एएफपीसँग भने, ‘हामी यो खेल जित्न चाहन्छौं, भलै कोहलीले कप गुमाउन् हामीलाई मतलब छैन ।’ एक पाकिस्तानी समर्थले टवीट गरेका छन्, ‘हामी सधैं विश्वकप क्रिकेटमा भारतसँग हारेका छौं । यसलाई युद्ध भन्नुस् या खेल हामी निश्चित रूपमा जित्नका लागि आएका हौं ।’


भारत र पाकिस्तान एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय ३१ पल्ट खेलेका छन् । जसमा पाकिस्तान ७३ जितका साथ स्पष्ट रूपमा अगाडि छ । तर पनि भारतविरुद्ध विश्वकपमा पाकिस्तानको नतिजा निकै नै खराब छ ।

प्रकाशित : असार १, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?