२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

भारत–पाकिस्तान आज एकअर्काको सामना गर्दै, यस्तो छ विगत...

एएफपी

म्यान्चेस्टर — भारत र पाकिस्तानबीचको खेल यस्तो हुन्छ कि रंगशाला भरिभराउ त छँदै छ, विशाल टीभी रेटिङको पनि विश्वसनीय ग्यारेन्टी हुनेछ । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत ओल्ड ट्राफोर्डमा यी कट्टर प्रतिद्वन्द्वीबीच हुने आइतबारको भिडन्त पनि यसअघिका खेलहरूभन्दा फरक हुनेछैन ।

भारत–पाकिस्तान आज एकअर्काको सामना गर्दै, यस्तो छ विगत...

राजनीतिक तनाव र भारतले पाकिस्तानसँग द्विपक्षीय शृंखला खेल्न अस्वीकार गरेपछि कुनै पनि फर्म्याटको क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्रयी दुई टिम आमनेसामने हुनेछन् । त्यसैले दुवै टोलीका खेलाडीका लागि पनि भावनात्मक रूपमा अपेक्षा र दबाब उत्तिकै रहन्छ ।

एसियाली महारथी टोलीबीचको विश्वकप नतिजा भने अहिलेसम्म एकपक्षीय नै छ । एकदिवसीय क्रिकेटको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यसअघिका सबै ६ भेटमा भारत विजयी भएको छ । हामीले भारत र पाकिस्तानको अर्को महाभिडन्तअघि विश्वकपमा उनीहरूको इतिहास यस्तो छ ।


मियानदादको कंगारु नक्कल

१९९२ः भारत २१६–७ (४० ओभर), पाकिस्तान १७३ (४८.१ ओभर) सिड्नी क्रिकेट मैदानमा भारत ४३ रनले विजयी पाकिस्तानसँग भारतको प्रतिद्वन्द्विता सन् १९७८ देखि नै सुरु भएको हो । सन् १९९२ सम्म उनीहरू विश्वकपका खेलमा आमनेसामने हुने अवसर पाएका थिएनन् । भारतले सहज जित हासिल गर्‍यो । पाकिस्तानका जावेद मियान्दादले आफ्ना मनोरन्जनात्मक हाउभाउले रंगशालामा उपस्थित सबैलाई उत्साहित बनाए ।

भारतका विकेटकिपर किरण मोरे स्टम्पको पछाडि बसेर लगातार विकेट अपील गर्दै कराइरहेका थिए । मोरेको त्यो व्यहबार देखेर वाक्क बनेका पाकिस्तानका महान ब्याट्सम्यान मियान्दादले ब्यंग्यस्वरूप कंगारु उफ्रिएको नक्कल गरिदिए । उनको हाउभाउबाट समर्थकले भरपूर मनोरन्जन लिए । इमरान खानको नेतृत्वमा रहेको पाकिस्तानी टोलीले भलै यो खेल हार्‍यो, प्रतियोगिताको उपाधि उनीहरूले नै उचाले ।


बैंग्लोरमा जडेजाको विस्फोट

१९९६ः भारत २८७–८ (५० ओभर), पाकिस्तान २४८–९ (४९ ओभर) चिन्नास्वामी रंगशालामा भारत ३९ रनले विजयी टवान्टी–२० क्रिकेटमा विस्फोटक ब्याट्सम्यानहरूको उदय हुनुभन्दा धेरै अघि भारतका ब्याट्सम्यान अजय जडेजाले सन् १९९६ विश्वकप क्वाटरफाइनलमा पाकिस्तानका महान तीव्र बलर वकार युनिसको धुलाइ गरेका थिए । वकारको अन्तिम २ ओभरमा ४० रन प्रहार गर्दै जडेजाले २५ बलमा ४५ रनको इनिङ्स खेले । र, यही रन भारतको जितमा निर्णायक बन्यो ।


प्रसादको निर्णायक प्रदर्शन

१९९९ः भारत २२७–६ (५० ओभर), पाकिस्तान १८० (४५.३ ओभर) भारत ४७ रनले विजयी भारत पाकिस्तानको कारगिल युद्धको पृष्ठभूमिमा खेलिएको खेलमा बैंकटेस प्रसादले सानदार प्रदर्शन गरे । म्यान्चेस्टरको हाउसफुल ओल्ड ट्राफोर्ड रंगशालामा तीव्र बलर प्रसादले ५–२७ को सानदार बलिङ गरेपछि बलियो पाकिस्तानी ब्याटिङक्रम एकाएक ध्वस्त बन्यो । राजनीतिक दबाबका कारण विश्वकपको सुपर सिक्स अन्तर्गतको यस खेलमा ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । खेलमा कुनै अप्रिय घटना भने भएन ।


सचिन तेन्दुल्करविरुद्ध

सोएव अख्तर

२००३ः पाकिस्तान २७३–७ (५० ओभर), भारत २७६–४ (४५.४ ओभर) सेन्चुरियनको स्पोर्ट्स पार्कमा भारत ६ विकेटले विजयी

भारतका महान ब्याट्सम्यान सचिन तेन्दुलकरले पाकिस्तानका कप्तान सोएव अख्तरविरुद्ध सानदार प्रदर्शन गरे ।

अख्तरको तीव्र बलमा सचिनले ब्याकवार्ड प्वाइन्टको माथिबाट ९८ मिटर लामो सानदार छक्का प्रहार गरेका थिए । उनैको प्रेरणादायी प्रदर्शनमा पाकिस्तानका सइद अनवारको शतक छायामा पार्दै भारतले लिगचरणको खेल जित्यो । पाकिस्तान क्रिकेट बोर्डका प्रमुख शाहारियर खानले पछि भनेका थिए, ‘भारतले मुख्य रुपमा तेन्दुल्करको प्रतिभाको माध्यमबाट हामीलाई हरायो, अन्यथा खेल हार्ने कुनै कारण नै थिएन ।’


अफ्रिदीको बल, फिल्डरद्वारा ड्रप

सन् २०११ः भारत २६०–९ (५० ओभर), पाकिस्तान २३१ (४९.५ ओभर) मोहालीमा भारत २९ रनले विजयी भनिराख्नुपर्दैन कि सचिन तेन्दुल्करको क्याच छोड्नुको परिणाम पाकिस्तानमात्र होइन जुनसुकै टोलीले पनि ठूलो मूल्य चुकाउनुपर्छ । विश्वकपजस्तो प्रतियोगिताको सेमिफाइनल चरणमा एकपल्ट, दुईपल्ट होइन चार–चार पल्ट सचिनको क्याछ छुट्यो ।

जसको परिणाम क्रिकेटका सबै सिद्धान्त कमजोर बने । तेन्दुल्कर २५, ४५, ७० र ८१ रनको स्कोरमा चारपल्ट जीवनदान पाएका थिए । पाकिस्तानका कप्तान सहिद अफ्रिदीको बलमा तीनपल्ट क्याच छुटेको थियो । पराजित भएपछि अफ्रिदीले आफ्नो देशका लागि माफी मागेका थिए । तेन्दुलकरले त्यस खेलमा भारतका लागि सर्बाधिक ८५ रन बनाए । मुम्बईको वाङखेडे रंगशालामा खेलिएको फाइनलमा श्रीलंकालाई पराजित गरी भारतले दोस्रोपल्ट विश्वकपको उपाधि जित्यो ।


कोहलीले एकल प्रदर्शन

सन् २०१५ः भारत ३००–७ (५० ओभर), पाकिस्तान २२४ (४७ ओभर) । एडिलेड ओभलमा भारत ४७ रनले विजयी सचिन तेन्दुलकरको संन्यासपछि भारतीय ब्याटिङमा शीर्ष क्रमको नेतृत्व सम्हाल्दै विराट कोहलीले मोहम्मद इरफान नेतृत्वको शक्तिशाली बलिङ आक्रमणको सामना गरी १ सय २६ बलमा १ सय ७ रनको शतकीय इनिङ्स खेले । म्यान अफ द म्याच प्रदर्शनपछि कोहलीले भनेका थिए, ‘मलाई हार्न मन पर्दैन ।’


प्लेयर्स टु वाच


इमाम उल हक (पाकिस्तान)

२०१७ मा एकदिवसीय डेब्यु खेलमै शतक प्रहार गरेर सनसनी मच्चाएका २३ वर्षीय पाकिस्तानी ओपनर इमाम उल हकले जारी विश्वकपका २ खेलमा एकरूपमा प्रदर्शन गरेका छन् । उनले इंग्ल्यान्डविरुद्ध ४४ र अस्ट्रेलियाविरुद्ध ५३ रन प्रहार गरेका थिए । उल हक अहिले जसप्रित बुमराहको आक्रमणको सामना गर्ने रणनीति बुनिरहेका छन् । पाकिस्तानबाट ३१ एकदिवसीयमा उनले ५७.१५ को औसतसहित १ हजार ४ सय ८६ रन बटुलेका छन् ।


महेन्द्रसिंह धोनी (भारत)

विश्वकपमा पाकिस्तानविरुद्धको दुई जितमा धोनीको कप्तानी पनि निर्णायक थियो । कप्तानीको जिम्मेवारीबाट मुक्त भएपछि धोनीले विकेटकिपिङ र ब्याटिङका लागि प्रशस्त समय पाएका छन् । मैदानमा विराट कोहलीको सहयोगीका रूपमा पनि उनैलाई देख्न सकिन्छ । भारतीय ब्याटिङ क्रममा मध्यक्रमको नेतृत्व गर्ने धोनीले ३ सय ४३ एकदिवसीय खेलमध्ये २ सय ९१ इनिङ्समा १० हजार ५ सय ६२ रन प्रहार गरेका छन् ।

प्रकाशित : असार १, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?