कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

बटलर कप्तानी सम्हाल्न तयार

एएफपी

साउथह्याम्प्टन — इंग्लिस ब्याट्सम्यान जस बटलरले मंगलबार हुने अफगानिस्तानविरुद्धको खेलमा नियमित कप्तान इयान मोर्गन चोटबाट फर्कन असफल रहे आफू कप्तानी सम्हाल्न तयार रहेको प्रस्ट पारेका छन् ।

बटलर कप्तानी सम्हाल्न तयार

शुक्रबार वेस्ट इन्डिजविरुद्धको खेलका क्रममा मोर्गनले ढाडको दुखाइका कारण मैदान छाडेका थिए । त्यही खेलमा ह्याम्स्ट्रिङको चोट बोकेका ओपनिङ ब्याट्सम्यान जेसन रोयले पनि ब्याटिङ गर्न सकेका थिएनन् ।

उपकप्तान बटलर आफैं बंगलादेशविरुद्धको पछिल्लो खेलमा विकेटकिपिङमा थिएनन् । तर उनले आफू पूर्ण रूपमा फिट भएको र टिमको अगुवाइ गर्न सक्षम रहेको जनाएका छन् । ‘म इयानले खेल्न सकून् भन्ने चाहन्छु,’ उनले भने, ‘उनको र जेसनको एक्स–रे भइसकेको छ चोटको गाम्भीर्यता हेरेर खेल्ने नखेल्ने निर्णय हुनेछ । तर हामी हाम्रो उत्कृष्ट प्रदर्शन गर्नेछौं ।’

बट्लरले मोर्गनको अनुपस्थितिमा इंग्ल्यान्डको दृष्टिकोण र रणनीति परिवर्तन नहुने पनि प्रस्ट पारेका छन् । ‘हामीले इयानको कप्तानीमा लामो समय खेलेका छौं,’ बटलरले थपे, मेरो विचारमा उनी महान् कप्तान हुन् । उपकप्तानको हैसियतमा मैले उनीबाट धेरै कुरा सिक्न पाएको छु । मैले खेलका बारेमा उनीसँग धेरै छलफल गरेको छु । हामीबीच धेरै कुरामा समानता छ र खेल रणनीतिमा पनि परिवर्तन हुँदैन ।’

साउथह्याम्प्टनमा रोय र मोर्गनको अनुपस्थितिका बाबजुद इंग्ल्यान्डले सानदार जित हासिल गरेको थियो । टेस्ट कप्तान जोय रुटले ओपनिङ गर्दै शतक प्रहार गरेपछि बंगलादेशमाथि इंग्ल्यान्डले ८ विकेटको विजय हात पारेको थियो । बटलरका लागि सुरुआती ११ भन्दा बाहिर पनि उत्तिकै क्षमतावान खेलाडीको विकल्प छ । टम कुरान, मोइन अली र जेम्स भिन्समध्येबाट उनले छान्न सक्नेछन् ।

‘निश्चित रूपमा उनीहरू सबै तयार छन्, हामीले यसबारे पनि छलफल गरेका थियौं कि १५ जनाको टिम छान्न र त्यसबाट ११ जना छान्न कति मुस्किल छ । वास्तवमै यहाँ धेरै प्रतिस्पर्धा हुन्छ । त्यसैले प्लेइङ सेटबाहिर पनि उत्तिकै सानदार खेलाडी छन् जो आफूलाई प्रमाणित गर्न तयार छन्,’ बटलरले भने ।

२८ वर्षीय बटलरले विकेटकिपिङका साथसाथै कप्तानी पनि गर्नुपर्ने दोहोरो जिम्मेवारीबाट कुनै समस्या नहुने पनि बताए । ‘यदि मैले यो जिम्मेवारी पाएँ भने यो मेरा लागि ठूलो सम्मान हो, जुन मैले पूरा गर्नैपर्छ । स्टम्पको पछाडिबाट यसै पनि मैदानभरि नजर लगाउन सहज हुन्छ । क्रिजमा रहेका दुईलाई कसरी आउट गर्ने भन्ने रणनीति बुन्न त्यहाँ बसेर सहज हुन्छजस्तो लाग्छ,’ बटलरले भने, ‘यो टिम गेम हो र टिमका सबै सदस्यसँग सल्लाह लिन पनि सकिन्छ । जो रुट मेरा लागि सबैभन्दा ठूलो सल्लाहकार हुनेछन् ।’

प्रकाशित : असार २, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?